काठमाडौँ – न्यूजील्याण्डका युवा अलराउन्डर रचिन रविन्द्रले इण्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सबाट खेल्ने भएका छन् ।
मंगलबार दुबईमा जारी खेलाडी अक्सनमा चेन्नईले रविन्द्रलाई एक करोड ८० लाख भारुमा किनेको हो । न्युनतम ५० लाख भारु मुल्य रहेका रविन्द्रलाई दिल्ली क्यापिटल्स, पञ्जाव किंग्सले चासो देखाएपनि अन्तत: चेन्नईले बाजी मारेको थियो ।
भारतीय मुलका रविन्द्रले हालै सम्पन्न एकदिवसीय क्रिकेट विश्वकपमा शानदार प्रदर्शन गरेर सबैलाई प्रभावित पारेका थिए ।
त्यस्तै जारी खेलाडी अक्सनमा चेन्नईले भारतीय बलर श्रदुल ठाकुरलाई ४ करोडमा किनेको छ । त्यस्तै अफगानिस्तानका अजमातुल्लाह ओमरजाईलाई गुजरात टाइटन्सले ५० लाख भारुमा किनेको छ ।
त्यसैगरी सनराइजर्स हैदरावादले श्रीलंकाका वानिन्दु हसरंगालाई १.५ करोड भारुमा किनेको छ भने विश्वकपमा शानदार प्रदर्शन गरेर अस्ट्रेलियालाई विश्वकप जिताएका ट्राभिस हेडलाई सनराइजर्स हैदरावादले ६.८ करोड भारुमा किनेको छ ।
त्यस्तै इङल्याण्डका विस्फोटक ब्याट्सम्यान ह्यारी ब्रुकलाई दिल्ली क्यापिटल्सले ४ करोड भारुमा किनेको छ भने वेस्टइन्डिजका रोभमन पावेललाई ५.४ करोड मा राजस्थान रोयल्सले किनेको छ ।