काठमाडौँ – नेपालका हस्तलेखन प्रशिक्षक तथा शिक्षक अजय कुमार महतो अन्तर्राष्ट्रिय हस्तलेखन प्रशिक्षकको अवार्डबाट पंजाब सरकारद्वारा सम्मानित भएका छन् । विगत १३ वर्षदेखि नेपालका विभिन्न विद्यालयहरूमा शिक्षक तथा विद्यार्थीहरुलाई सुन्दर हस्तलेखन कला सम्बन्धी प्रशिक्षण दिँदै आएका महतोले २०१७ देखि भने छिमेकी राष्ट्र भारतका विद्यालयहरूमा पुगी शिक्षक र विद्यार्थीहरुलाई हस्तलेखन कौशलको प्रशिक्षण दिँदै आएका थिए।
पंजाब राज्य सरकार अन्तर्गत रहेका झण्डै १५००० बढी फरक विषयका शिक्षकहरुले शिक्षकहरुले अवार्डका लागि दरखास्त दिएकामा १५० शिक्षकहरु मात्र अवार्डका लागि सिफारिस भएका थिए । जसमा हस्तलेखन तर्फ भने नेपालका महतो सिफारिस भएका हुन् । पंजाब , राजस्थान, हरियाना, हिमाचल, हैदरावाद, मुम्बइ, बेग्लाेर, नयाँ दिल्ली लगायत राज्य सरकारका विभिन्न विद्यालयहरुले बेस्ट हेन्डराइटिङ प्रशिक्षकको रूपमा गरेको सिफारिसका आधारमा महतो अवार्डका लागि छानिन सफल भएका हुन् ।
नेपालका बिभिन्न बिद्यालयका विद्यार्थीहरूको सुन्दर हस्तलेखन सिप विकासका लागि आफूले लामो समयदेखि संघर्ष गरे । मैले गरेको मिहिनेतले परिवर्तन भएको हस्तलेखन देखाएर धेरै विद्यालयले अभिभावकहरुबाट रकम असुले ।तर त्यसबापतको पारिश्रमिकले आफ्नो जीवन चलाउन धौधौ परेपछि दिक्क भएर छिमेकी राष्ट्र भारतका विभिन्न विद्यालयमा पुग्नुपरेको गुनासो उनले भावुक हुदै बनाए ।
केही स्कूल र कलेजले त काम लगाएर सर्तको अनुसारको पारिश्रमिक समेत नदिएको उनको गुनासो छ । पंजाब सरकारले गरेको सम्मानलाई आफ्नो संघर्षको प्रतिफल मानेका उनले यसबाट थप उत्प्रेरित भएको बताए। आगामी दिनमा पनि नेपाल र भारतका शिक्षक तथा विद्यार्थीको सुन्दर हस्तलेखन सीप विकासका लागि आफु लागिपर्ने उनको प्रण छ।
पंजाब राज्य सरकारका मन्त्री , विधायकहरु तथा केन्द्र सरकारका केही विधायक समेतको उपस्थितिमा पञ्जाबको राजधानी चन्डिगढस्थित होटल माउण्ट भ्युमा उक्त सम्मान कार्यक्रमको आयोजना गरिएको थियो।