प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा शिलान्यास, उद्घाटन र सम्झौता भएका विषय के-के हुन् ?

काठमाडौँ – भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (बिहीबार) भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गरेका छन्।

प्रतिनिधि मण्डलस्तरीय वार्तापछि दुबै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई संयुक्त रूपमा सम्बोधन गरेका छन्। पत्रकार सम्मेलनमा दुई प्रधानमन्त्रीले केही परियोजनाको शिलान्यास, उद्घाटन गरेका छन्। दुबै प्रधानमन्त्रीको उपस्थितिमा दुई देशबीच केही सम्झौता भएका छन्।

पत्रकार सम्मेलनमा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ९ वर्षे कार्यकालमा नेपाल-भारत सम्बन्धमा भएका उपलब्धि निकै धेरै रहेको बताए। पत्रकार सम्मेलनमा मोदीले कुर्था-बिजलपुरा रेलमार्ग नेपाललाई हस्तान्तरण गरे।

दुबै प्रधानमन्त्रीले बथनाहादेखि विराटनगरको नेपाल कस्टम यार्डसम्म भारतीय कार्गो रेल र नेपालगञ्जमा संयुक्त जाँच पोष्टको उद्घाटन गरे।भैरहवामा संयुक्त जाँच पोष्ट, मोतीहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो खण्ड र गोरखपुर-बुटवल ४०० केभी प्रसारण लाइनको भारततर्फको खण्डको शिलान्यास भयो। आजै नेपाल र भारतबीच केही सम्झौता पनि भए।

आज भएका सम्झौता:

नेपाल र भारतबीचको व्यापार सन्धी नवीकरण।

अमलेखगञ्ज-चितवन र सिलुगढी-झापा पेट्रोलियम प्रसारण लाइनको एमओयू।

नेपालको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र भारतको सुष्मा स्वराज इन्स्टिच्युटबीच सहकार्यको सम्झौता।

चाँदनी दोधारामा एकीकृत जाँच पोष्ट निर्माण सम्झौता।

फुकोट कर्णाली जलविद्युत परियोजना विकास सम्झौता।

तल्लो अरूण जलविद्युत परियोजना विकास सम्झौता।

भारत र नेपालबीच अन्तरदेशीय भुक्तानी सम्झौता।

हवाई रूट र सीमा विवादबारे छलफल

पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपाली पक्षले भारतबाट अतिरिक्त हवाई रूटका लागि अनुरोध गरेको र भारतीय पक्षले सकारात्मक प्रतिक्रिया दिएको बताए। संयुक्त पत्रकार सम्मेलनमा बोल्दै दुबै प्रधानमन्त्रीले सीमा विवादबारे कुराकानी भएको जानकारी दिए।

भारतीय प्रधानमन्त्री मोदीले वार्ताका माध्यमबाट सीमा विवाद समाधान गर्न सकिने बताए। ‘हामी हाम्रो सम्बन्ध हिमालयको उचाइमा पुर्‍याउनका लागि काम गरिरहनेछौं। यही भावनाका साथ सीमासम्बन्धी वा अन्य विषयहरूको पनि समाधान गर्छौं,’ सम्बोधनका क्रममा उनले भने। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पनि सीमा विवाद समाधानका विषयमा कुराकानी भएको बताए।

‘प्रधानमन्त्री मोदी र मैले सीमाका विषयमा पनि छलफल गर्‍यौं। मैले स्थापित कूटनीति संयन्त्रबाट सीमा विवाद समाधान गर्नुपर्ने कुरा राखें,’ प्रधानमन्त्री प्रचण्डले भने। नेपाल र भारतबीच लिपुलेक-लिम्पियाधुरा, सुस्तालगायत विभिन्न ठाउँमा सीमा विवाद छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्