भुटानी शरणार्थी प्रकरण छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न रवि लामिछानेको माग

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोलेका सांसद लामिछानेले यो प्रकरणमा छानबिनका लागि संसदले विशेष समिति बनाउनुपर्ने बताए।

‘यो प्रकरणमा कुनै राजनीतिक दल बाँकी छैन जसलाई आरोप लाग्न बाँकी रहेको होस्। त्यतिमात्र होइन राज्यका निकायहरूको नाम यसरी आइरहेको छ, अनुसन्धान गर्ने अधिकारी र प्रमुखहरूका नाम आइरहेको छ। यो कुनै अँध्यारो कोठामा, कुनै गल्लीमा भएको क्रियाकलाप छैन। दिनको उज्यालोमा प्रधानमन्त्री निवास बालुवाटारमा, सिंहदरबारमा, मन्त्री क्वार्टरमा लेनदेन भएका विषय आएका छन्,’ उनले भने, ‘यहाँ मुछिएका मानिसहरू हेर्नुहोस् यो राज्यमा हामीले कसलाई विश्वास गर्ने?’

उनले विश्वासको वातावरण बन्द भएको पनि बताए। प्रधानमन्त्री र गृहमन्त्रीले मुटु दह्रो छ भने पनि उनीहरूको मुटु चेक गर्नुपर्ने उनले बताए।

‘मुटु दह्रो छ भनेर गृहमन्त्री र प्रधानमन्त्रीले भन्नुभएको थियो। उहाँहरूको मुटु कहाँ गएर चेक गर्ने? कति दह्रो छ भन्ने हामीले देखेका छौं,’ उनले भने, ‘खुट्टा कमाउनु भएन।’ प्रहरी प्रमुख लगायतलाई पनि सोधपुछ गरिनुपर्ने उनले बताए। ‘अहिलेको छानबिनले नेपाली जनताले चाहेकोजस्तो नतिजा दिन सक्दैन,’ उनले भने, ‘संसदले विशेष समिति बनाउनुपर्छ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्