काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुरानो साथी भएकाले आफूलाई सहयोग गर्ने बताएका छन्।
शनिबार बानेश्वरस्थित संसद भवनमा राष्ट्रपतिका लागि मनोनयन दर्तापछि पत्रकारसँगको कुराकानीमा ओली पुरानो साथी भएको बताएका हुन् । उनले आफूलाई सर्वसम्मत बनाउन ओलीको योगदान हुने विश्वास व्यक्त गरे।
‘एमाले अध्यक्ष पनि मसँग जेलमा बस्नुभएको हो धेरै समय। पुरानो साथी हो। उहाँले पनि यो राष्ट्रमा सबैको साझा पद बनाउनलाई योगदान गर्नुहोला भन्ने मैले विश्वास गरेको छु,’ उनले भने। यस्तै, उनले आफू राष्ट्रपति बनेसँगै संविधानको अक्षर र भावनालाई अक्षरस: पालना गर्ने बताए। उनले राष्ट्रपति निर्वाचनको दिनसम्ममा आफू सर्वसम्मत निर्वाचित हुने कोसिस गर्ने बताए।