वेस्ट इन्डिजसँगको पाँच खेलको टी–२० शृङ्खला भारतलाई

काठमाडौँ – वेस्ट इन्डिजसँगको पाँच खेलको टी–२० शृङ्खला पाहुना टोली भारतले जितेको छ । गएराति भएको चौथो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई ५९ रनले हराउँदै भारतले एक खेल अगाडि नै शृङ्खला जितेको हो ।

भारतले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १९ ओभर १ बलमा १ सय ३२ रनमा अलआउट भयो । वेस्ट इन्डिजका कप्तान निकोलस पुरन तथा रोभमन पावेलले समान २४÷२४ रन बनाए ।

भारतका अर्शदीप सिंहले ३ विकेट लिए । त्यस्तै अक्षर पटेल, रवि विष्नोइ तथा आभेस खानले समान २÷२ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो । उसका लागि ऋषव पन्तले ४४ रन बनाए । कप्तान रोहित शर्माले ३३ तथा सन्जु सामसनले अविजित रहँदै ३० रन जोडे ।

वेस्ट इन्डिजका ओबेड म्याकोइ र अल्जारी जोसेपले समान २÷२ विकेट लिए । जितसँगै चार खेलमा भारतले ३–१ को अग्रता बनाएको छ । पहिलो खेलमा भारत ६८ रनले विजयी भएको थियो । त्यस्तै दोस्रो खेल वेस्ट इन्डिजले ५ विकेटले जितेको थियो । तेस्रो खेलमा भारत ७ विकेटले विजयी भएको थियो । भारत र वेस्ट इन्डिजबीचको पाँचौँ तथा अन्तिम टी–२० खेल आज हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्