नेपालको लगातार दोस्रो जित, कुवेत २५ रनले पराजित

काठमाडौं – नेपालले मलेसियामा जारी एसीसी महिला टी–२० क्रिकेट च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । किनरारा ओभल मैदानमा शनिबार भएको खेलमा नेपालले कुवेतलाई २५ रनले हरायो । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो ।

नेपालले दिएको एक सय आठ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेत निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ८२ रनमा समेटिएको थियो । कुवेतका लागि प्रियादा मुरालीले ३१ रन बनाउनुभयो । मारिमा हेदरले १५ र कप्तान आम्ना तारिकले १४ रन जोड्नुभयो । बलिङमा नेपालकी सीता रानामगरले दुई विकेट लिनुभयो । अश्मिना कर्माचार्य, संगीता राई र इन्दु वर्माले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा चार विकेटको क्षतिमा एक सय सात रन बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित सर्वाधिक ३४ रन बनाउनुभयो । इन्दु बर्माले अविजित २८, ज्योति पाण्डेले १५, बिन्दु रावलले ११, सीता मगर र काजल श्रेष्ठले समान पाँच पाँच रन बनाउनुभयो । बलिङमा कुवेतकी मारिमा हेदरले दुई, मार्यम ओमार र खादिजा खालिलले एक एक विकेट लिनुभयो ।

जितसँगै दुई खेलबाट चार अंक बनाएको नेपाल समूह ‘बी’ को शीर्षस्थानमा छ । दोस्रो जितसँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बढेको छ । नेपाल यस च्याम्पियनसिपको उपाधि दाबेदार टोली हो । नेपालको समूहमा कुवेत, बहराइन र हङकङ छन् । अब नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ ।

च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा मलेसिया, ओमान, कतार, सिङ्गापुर र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल जुन २४ र फाइनल खेल २५ तारिखमा हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्