कोरोना भाइरसबारे हामीले थाहा पाउनु पर्ने र सचेत हुनु पर्ने ९ तथ्य

कोरोना भाइरस अहिले जताततै यसैको चर्चा छ । नहोस् पनि कसरी? मानिसको रौंको चौडाइको नौ सय भागको एकभाग जत्रो हुने यो भाइरस अहिले दुनियाँका ८० भन्दा बढी देशमा फैलिएको छ ।

कोरोना भाइरसबारे हामीले थाहा पाउनु पर्ने र सचेत हुनु पर्ने ९ तथ्य ।

१.कोरोना भाइरस पक्कै पनि खतरनाक छ । तर यसको संक्रमण भएपछि मान्छेको मृत्यु नै हुन्छ भन्ने होइन । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार कोरोना भाइरसको संक्रमण भएकामध्ये ३.४ प्रतिशत बिरामीको मात्र मृत्यु भएको छ । त्यो भनेको संक्रमण भएकामध्ये ९६ प्रतिशतभन्दा बढी निको भएका छन् ।

२. फरक उमेर समूहमा कोरोना भाइरसको प्रभाव फरक देखिएको छ । कम उमेरका बालबच्चा वा वयस्कलाई यो भाइरसले कम प्रभाव पारेको छ ।

डब्लूएचओका अनुसार ४० वर्षभन्दा कम उमेर समुहका मानिसको मृत्युदर ०.२ प्रतिशतमात्र छ । अर्थात् कोरोना भाइरस लागेका ४० वर्षभन्दा कम उमेरका एक हजार जनामध्ये दुई जनाको मात्र मृत्यु भएको छ । ८० वर्षभन्दा माथिका मानिसहरूको मृत्युदर बढी छ ।

३. कोरोना भाइरसलाई यात्रा गर्न कुनै माध्यम चाहिन्छ । जस्तो हाँछ्यु गर्दा, खोक्दा वा बोल्दा हाम्रो शरीरबाट निस्कने थुक, ‍¥याल आदिमा चढेर यो बाहिर निस्कन्छ । त्यसरी बाहिर निस्केर सिधै अर्को मानिसको नाक, मुख र आँखामा नपरेसम्म यो शरिरभित्र पस्न सक्दैन । अर्थात हाम्रो छालाबाट कोरोना भाइरस सोझै हाम्रो शरीरमा छिर्दैन । मानिसले हाछ्युँ गर्दा वा खोक्दा थुक, खकार, ‍¥यालका छिटाहरू एक मिटर परसम्म जान सक्ने भएकाले डाक्टरहरूले संक्रमित मानिससँग कम्तीमा एक मिटरको दूरीमा बस्नु सुरक्षित हुने सल्लाह दिएका छन् ।

४. कोरोना भाइरसले मानिसको श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने हो । जसको श्वासप्रश्वास प्रणाली कमजोर छ, उनीहरूलाई यसले बढी सताउँछ । त्यसैले धेरै उमेर भएका, रोग प्रतिरक्षा प्रणाली कमजोर भएका, डायबेटिजलगायत अन्य रोगसँग लडिरहेका मानिसले कोरोनासँग अझै बढी सचेत हुनुपर्छ ।

५. कोरोना भाइरसबाट जोगिने सबैभन्दा महत्वपुर्ण उपाय हातले अनुहार नछुनु हो । किनकी जबसम्म यो भाइरस हाम्रो आँखा, नाक र मुखमा पर्दैन । तबसम्म यो शरिरभित्र छिर्न सक्दैन । भाइरसलाई आँखा, मुख र नाकसम्म लैजान महत्वपूर्ण माध्यम हात हो । हामी प्रायः बेलाबेलामा हातले अनुहार छोइरहेका हुन्छौं । घरी आँखा मिच्छौं । घरी नाक कोट्याउँछौं घरि चिउडोमा हात पुर्‍याउँछौं । यसो गर्दा हातमा भएको कोरोना भाइरसले हाम्रो फोक्सोसम्म पुग्ने गेट भेटाउँछ ।
संसारभरिकै मानिसलाई हातले अनुहार नछुने बानी हटाउन गाह्रो छ तर यसरी हातलाई अनुहारमा नपुर्‍याउने हो भने कोरोना भाइरसको संक्रमणबाट जोगिन सकिन्छ ।

६.जतिसक्यो धेरै हात धुनु पर्छ । किनकी तपाईं संक्रमित व्यक्तिको नजिक हुनुहुन्न भने पनि तपाईंको हातमा कोरोना भाइरस आउन सक्छ ।

जस्तो बसमा यात्रा गर्दा कुनै संक्रमित मानिसले हाँछ्यु गरेर, खोकेर वा अरू कुनै माध्यमले भाइरस छोडेको हुनसक्छ । त्यही ठाउँमा तपाईंहको हात पर्यो भने भाइरस हातमा आउँछ ।

कोरोना भाइरस यस्तो जब्बर छ कि उपयुक्त वातावरण पाए यो मानिसको शरिरबाहिर पनि ९ दिनसम्म बाँच्न सक्छ । त्यसैले संक्रमितले बसको डन्डी, कुनै सामानको कभर, बेसिनको धारा टुटी जता पनि यसलाई छोडेको हुनसक्छ । यस्ता ठाउँमा छोएपछि हात धुँदा हात सफा हुन्छ र कोरोना भाइरस अनुहारसम्म पुग्ने सम्भावना कम हुन्छ । भेट हुँदा र छुट्टिँदा हात मिलाउनुको साटो नमस्कार गर्नुभयो भने अर्को व्यक्तिको हातमा रहेको कोरोना भाइरस तपाईंको हातमा आउन पाउँदैन ।

७. अहिले नेपालमा पनि स्यानिटाइजरको अभाव देखिन्छ । तर हात धुँदा स्यानिटाइजर नै चाहिन्छ भन्ने छैन । कुनै ठाउँमा तपाईंसँगै हात धुन साबुन र पानी छैन भने स्यानिटाइजर प्रयोग गर्न सकिन्छ तर सबैभन्दा राम्रो तरिका साबुन पानीले हात धुनु नै हो ।

८. जसरी कोरोना भाइरस संसारभर फैलिरहेको छ त्यसरी नै नेपालमा मास्कको माग बढेको छ र अभाव सिर्जना भएको छ । कोरोना भाइरस हावाका माध्यमबाट मात्र सर्न नसक्ने भएकाले मास्क लगाउनु आफैंमा महत्वपूर्ण छैन ।

यद्यपी मास्क लगाउँदा तीन किसिमले हामीलाई फाइदा पुग्छ । पहिलो, यसले संक्रमित व्यक्तिबाट भाइरस बोकेका थुक, खकार र र्‍यालका छिटा तपाईंको नाक(मुखमा पर्न दिँदैन। दोस्रो, कति मानिसलाई कोरोना भाइरसको संक्रमण भए पनि लक्षणहरू देखिँदैनन् । त्यस्तो अवस्थामा थाहै नपाई अरूमा भाइरस सर्नसक्छ । मास्क लगायो र हाँछ्यु गर्दा नाकमुख छोप्यो भने अरू मानिसमा भाइरस जाने सम्भावना कम हुन्छ । तेस्रो, मास्क लगाउँदा अनुहारमा अनावश्यक छुने क्रम घटन सक्छ। मास्क निकाल्दा र लगाउँदा कानतिरबाट गर्न सकिन्छ । तर मास्क लगाएर नाकमुखबाट घरिघरि तलमाथि सार्ने गरे झन् जोखिम बढ्न सक्छ ।

९. सबै रूघाखोकी वा ज्वरो कोरोना भाइरस लागेर हुँदैनन् । त्यसै पनि नेपालमा अहिले मौसम परिवर्तन भइरहेको छ । चिसोबाट गर्मी मौसम लाग्दा कतिलाई मौसमी रूघाखोकी देखिन सक्छ । त्यस्तोबेला आत्तिनु हुँदैन । अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।

कोरोना भाइरसको संक्रमण भइहालेछ भने पनि अस्पताल जाँदा केही दिनको उपचारपछि निको हुन्छ । किनकी अहिलेसम्म कोरोना भाइरस लागेका ५५ हजार १ सय ८५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

 

Source : Setopati.com

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्