प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले नेपाल प्रवेश गर्ने यात्रुलाई जुन मुलुकबाट आउँदैछन, त्यहि मुलकमैं कोरोना भाइरस मुक्त भएको प्रमाणसहित पठाउन लगाउने र नेपालका प्रवेश विन्दूमा थप चेकजाँच गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
संसदमा कांग्रेस सांसद गगन थापाद्वारा प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्ने क्रममा बडुले सो धारणा व्यक्त गरेका हुन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले उच्चजोखिम रहेका देशहरुको सूचीमा नेपाललाई पनि राखिसकेकोले र छिमेकी मुलुकमा संक्रमितहरु देखिने क्रम जारी रहेका कारण नेपालले उच्चसतर्कता अपनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन्।
भारत, दक्षिण कोरिया, जापानलगायतमा संक्रमण बढिरहेको र ती मुलुकसँग रोजगारी र अन्य सम्बन्धका कारण नेपालको बढि सम्पर्क, आवातजावत हुनेहुँदा विशेष सतर्कता अपनाउनुपर्ने बडुले बताउनुभयो ।
‘अन्य मुलुकबाट आउनेलाई हेल्थडेस्क राखेर जाँचेका छौं तर पर्याप्त छैन। बहुराष्ट्रिय सहकार्य आवश्यक छ। जुन मुलुकबाट हामीकहाँ आउँदैछन्। त्यहिँ पनि चेक गरोस् र भाइरसफ्रि सर्टि्फिकेट दिने व्यवस्था होस्। त्यस्तालाई मात्र प्रवेश दिने गरौं,’ उनले संसदमा भने। ‘संक्रमित पाउनेबित्तिकै आइसोलेसनमा राख्ने व्यवस्था गरौं।’