एमाले, काँग्रेस र माओवादी जनताका अगाडि मुख देखाउन लायक छैनन्ः लिङ्देन

FILE PHOTO

 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, काँग्रेस र माओवादी पार्टी जनताका अगाडि मुख देखाउन लायक नभएको टिप्पणी गरेका छन् । बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी, दोलखा जिल्ला कमिटीले काठमाडौंमा आयोजना गरेको नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले एमाले, काँग्रेस र नेकपा (माओवादी केन्द्र) राजनीतिक र नैतिक रुपमा जनताको अगाडि मुख देखाउन लायक नभएको बताएका हुन् ।

राप्रपाले विगतमा ठिक ढंगले जनतालाई बुझाउन नसक्दा ती पार्टीहरु आकारको हिसाबले ठूलो भएको उनको दावी छ । अध्यक्ष लिङ्देनले जनताले देश र धर्मलाई शिरमा बोकेर हिँड्ने राप्रपा पार्टी नै खोजेको भन्दै पार्टी नेतृत्वले कुनै किसिमको कमीकमजोरी नगर्ने बताए । उनले भने, ‘अहिले राजनीतिक रुपले र नैतिक रुपले कांग्रेस, एमाले, माओवादीहरु जो आफुलाई यो देशको ठुलो पार्टी भन्छन् । उनीहरु जनताको बिचमा गएर मुख देखाउन लायक छैनन् । उनीहरु सँग कुनै आधार नै छैन । खाली हिजो कुनै कालखण्डमा हामीले ठिक ढंगले जनतालाई बुझाउन नसक्दाखेरी उनीहरुले ठुलो पार्टी हुने मौका पाए । हाम्रो तर्फबाट, नेतृत्वको तर्फबाट कुनैपनि प्रकारको कमी, कमजोरीहरु हुँदैन । तपाईंहरुको शिर झुक्ने खालको कुनैपनि क्रियाकलाप हाम्रो तर्फबाट हुँदैन ।’

उनले विगतमा विभिन्न कारणले राप्रपा छोडेका र अन्य पार्टीमा भएर पनि राप्रपाको विचार मन पराउनेहरुलाई राप्रपामा आउन आह्वान गरे । राप्रपामा आउने सबैलाई योग्यता, क्षमता अनुसारको उचित सम्मान र अवसर प्रदान गर्ने उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्