कसैले किन फैलाउछ अफवाह ? यस्तो छ मनोबैज्ञानिक कारण

 गोपाल ढकाल, मनोबिद्

सामाजिक संजालको अहिलेको जमनामा  सानो  केहि कुरा हुने बितिकै एक कान,  दुई कान हुँदै मैदान हुने बेर लाग्दैन । तर जनमानसमा फैलिने यस्ता  कुराहरु सधै सत्य नै हुन्छन भन्ने हुदैन । यिनिहरु  झुट्टा , उडन्ते , तथ्य र आधार नभएका , प्रमाण विहिन र मनगडन्ते पनि  हुन सक्छन ।

अफवाह फैलिदा यसबाट  धनजनको  ठूलो क्षति  पनि हुन सक्छ ।  यसले समाजमा शान्ति र सदभाव पनि खलबल्याउन सक्छ  । अफवाहको  कारणले  पुग्ने  मानसिक क्षति र असर झनै  भयाभह र अनुमान गर्नै नसकिने पनि हुन सक्छ । अफवाह फैलिदा  समाजमा डर , त्रास , भय तथा  अशान्तिको वातावरण सृजना हुन्छ  ।
अफवाहले  मानिसहरुमा  मानसिक तनाब, डर – चिन्ताको समस्या , डिप्रेशन, मानसिक आघात ,  अनिन्द्राको  समस्या  जस्ता मानसिक रोग देखिन सक्छन ।

कवि भुपि शेरचनले  ” नेपाल हल्लै हल्लाको देश हो  ”  भन्नु भएको छ । उहाँले भने  झै हाम्रो समाजमा अफवाह छिट्टै नै  फैलिने गर्छ  । नेपालमा  पनि  कहिले बिबिसिले यसो भन्यो रे , कहिले फलानोले यसो भन्यो रे भनेर उसको हवला दिदै  भुईचालो जाने , हवाई जहाज दुर्घटना हुने , औषधिमा घातक जिबाणु भेटियो  भन्ने जस्ता हल्लाहरु बेला बेला  सुन्नमा आउने गरेका छन ।

गतबर्ष देखि बिश्व कोरोना महामारीसँग जुझि रहेकोछ  ।  बिपत्तिको यस समयमा पनि  बिश्व भरि नै विभिन्न खालका अफवाहहरु फैलिए । नेपाल पनि यसबाट अछुतो रहन सकेन । कोरोनासँग सम्बन्धित कतिपय अफवाहहरु अहिले पनि फैलिई रहेका छन । हालै मात्र कोरोना उपचारबारे अफवाह फैलाएको भन्दै भारतीय योग गुरु रामदेवविरुद्ध मुद्दा समेत परेको छ ।

कोरोनाको प्रकोप भन्दा पनि गलत सुचना र अफवाहले गर्दा मानिसहरुमा अत्याधिक डर,  त्रास , भय बढाएको देखिन्छ  । अफवाह फैलिनुमा कतिपय अबस्थामा संञ्चार माध्यमहरुले पनि भुमिका देखिन्छ । नबुझिकन समचार लेख्ने  , समचार ब्रेक गर्न हतार गर्ने जस्ता कार्यले अफवाह फैलिनुमा  आगोमा घिउको काम गरिरहेको हुन्छ । कोहि ब्यक्तिहरुले नजानिदो तरिकाले  मिडियालाई नै  प्रयोग गरेर समेत अफवाह फैलाई रहेका हुन्छन्  ।

विपत्तिको वेला अफवाहको  जोखिम

बिपतिका बेला विभिन्न किसिमका अफवाहहरु  फैलिने सम्भावना हुन्छ  । बिपत्तिको अन्त्य कहिले हुन्छ भन्ने निश्चित हुदैन । यस्तो अनिश्चितकालीन अबस्थामा धेरै किसिमका कडकल बाजि तथा  अफवाहरु फैलिने जोखिम बढेर जान्छ  । यस्तो कठिन र  अनिश्चिताको  समयमा  मान्छे अतालिएको हुन्छ ।  डर ,त्रास , तनावको  कारणले गर्दा उसको सोच्ने , निर्णय लिने, सुझबुझ गर्ने क्षमतामा पनि कमि आउछ । यस्तो बेला कसैले “कागले कान लग्यो ” भन्दा कान नछामी कागको पछि दौडने ब्यवहार मान्छेले देखाउन पनि  सक्छ । विपत्तिको समयमा प्राय सबैमा केही न केही डर ,चिन्ता हुने गर्छ । आफ्नो डर चिन्तालाई लुकाउने र आफू निडर छु भन्ने देखाउनका लागि पनि ब्यक्तिले गलत कुरा गरेर अफवाह फैलाउन सक्छ  । अध्ययन अनुसार  ब्यक्ति जति बढि चिन्तित हुन्छ उसले अफवाह फैलाउने सम्भावना अरु भन्दा उति नै बढि हुन्छ।

सधैजसो चर्चामा आईरहन चाहने ब्यक्तिहरु  जस्तो  कलाकार , राजनितीज्ञहरु  बिपत्तिको बेला  ओझेलमा पर्न सक्छन् ।  त्यस्ता ब्यक्तिहरुले पनि विपत्तिको बेला  विभिन्न हदकण्डा प्रयोग गर्न  सक्छन् । सामान्य ब्यक्तिको हकमा पनि अफ्ट्यारो परिस्थितिमा उसले  अरुबाट बढि नै  साथ, सहयोगको अपेक्षा गर्ने गर्छ ।  अरुको साथ, सहयोग र सहानुभूति पाउनैका  लागि  कुरालाई बढि चढाई गर्ने गर्न सक्छन ।

वास्तवमा किन फैलिन्छ त अफवाह ? कसैले किन  अफवाह  फैलाउन  चाहन्छ ? यसको मनोबैज्ञानिक कारण के के हुन सक्छन् ? यसैको बारेमा यहाँ चर्चा गरिन्छ ।
अफवाह फैलाउनुका कारणहरु यस्ता हुन सक्छन्  ।

चर्चाको भोक

हिजो आज धेरैलाई चर्चा कमाउने  , भाईरल हुने  भोक जागेको  छ । सामाजिक संजालले मान्छेको त्यो भोकलाई थप जगाई दिएकोछ ।
मनोविज्ञानका हिसाबले पनि  मान्छेहरु समाजमा आफ्नो चर्चा होस , मान सम्मान , प्रतिष्ठा बढोस  भन्ने चाहन्छन् ।  कोहि पनि गुमनाम हुन चाहदैनन् ।  सामाजिक संजालमा फोटो  पोष्ट गर्दा होस वा कुनै स्टाटस लेख्दा होस , धेरै भन्दा धेरै लाईक , सेयर र कमेन्ट होस भन्ने  सबैको चाहना  हुन्छ । आफ्नो यहि चाहना पूरा गर्न , आफुलाई जान्ने , बुझ्ने देखाउन, आफू महत्त्वपूर्ण भएको भान पार्न , अरुको सामु आफू नोटिस हुन , आफ्नो पहिचान बढाउन  , समाजमा आफ्नो प्रतिष्ठा बढाउने उदेश्य तथा अरुको ध्यान आफुतिर खिच्नका लागि पनि मान्छेले  अफवाह फैलाउने वा फण्डा गर्ने गरेको देखिन्छ  ।

ब्यक्तिगत फाईदा

केहि ब्यक्तिहरुले अफवाहलाई आफ्नो बिज्ञापनको माध्यम समेत बनाउने गरेको देखिन्छ  । यस्ता ब्यक्तिहरु प्राय  ठगि धन्दा चलाउने हुन्छन । आफुलाई  माता , गुरु, ज्योतिषि हुँ भन्नेहरु  भुकम्प जाने , अनिष्ट हुने जस्ता हल्ला चलाउने गर्दछन  ।  उनीहरुको उदेश्य आफ्नो प्रचार गर्नु नै हुन्छ  । साथै यस्तो डर त्रास देखाएर उनिहरुले   मानिसहरुलाई आफ्नो पकडमा  राख्न समेत  खोजिरहेका हुन्छन । अध्यानले देखाए अनुसार विपत्तिको समयमा मानिसहरुले तथ्यमा भन्दा अन्धविश्वास र
परम्परागत कुरामा  बढि  बिस्बास गर्न थाल्दछन ।  यस्तो बेला  मानिसहरुले अलौकिक शक्तिमाथि  बढि भर गर्ने गरेको देखिन्छ । यसकारण  मानिसहरु माता , बाबा , गुरु , ज्योतिषीहरुले भनेको कुरालाई  सजिलै अनुसरण गर्न थाल्छन् ।

कालो बजारी गर्ने ब्यापारीहरुले  भने  सामान लुकाउने , कृतिम अभाव सृजना गर्ने ,  मंहगो मुल्यमा सामान  बेच्ने उदेश्यले पनि अफवाह फैलाउने  गरेको पाईन्छ ।
हिजोआज कतिपय मिडियाहरुले  भ्युज बढाउनका लागि  ब्यक्तिगत फाईदाका उदेश्यले  पनि गलत समचारलाई स्थान दिएको  देखिन्छ ।

ब्यक्तित्ब  बिकार

समाज बिरोधि ब्यक्तित्व बिकार  भएका  ब्यक्तिहरु सदैव अरुलाई दुख दिने र अरुको दुखमा आफू रमाउने खालका हुन्छन्  । यस्ता ब्यक्तिहरु  चाहिदो नचाहिदो हल्ला चलाउने , समाजको शान्ति सु ब्यबस्थामा खलल पुर्‍याउने , हत्या , हिंसा , बलत्कार गर्न पछि नपर्ने हुन्छन ।  विपत्तको समयमा यस्ता ब्यक्तिहरु अझ बढि सक्रिय हुने मौका पाउँछन्  । आफुलाई जान्ने , बुझ्ने छु भन्ने देखाउन यस्ता ब्यक्तिहरुले विभिन्न  किसिमका तर्कहरु गर्छन। यस्ता ब्यक्तिहरु एकदमै चतुर र चलाख पनि हुने गर्दछन । यस्तो किसिमको ब्यक्तित्व बिकार  भएका  मानिसहरु हाम्रो समाजमा पनि धेरै हुन सक्छन्।
रोचक कुरा त के छ भने यस्तो व्यक्तित्व बिकार भएका मानिसहरु पढे लेखेका, पदमा पुगेका , धेरैले मान्ने गरेका पनि हुन सक्छन् । यसकारण उनीहरुको कुरा अबिस्वास गरि हाल्न धेरैलाई   ग्रार्हो पर्न पनि सक्छ  । यस किसिमको  व्यक्तित्व विकार भएका कतिपय ब्यक्तिहरु धार्मिक गुरु, समाजसेवी , राजनितीज्ञ , पत्रकार आदिको भेषमा लुकेर बसेका  पनि  हुन सक्छन्  ।

अशिक्षा तथा अन्धविश्वास

अज्ञानताका कारणले पनि अफवाह फैलिने गर्छ । समाज जति अशिक्षित र अन्धबिस्बासले जगडिएको छ त्यो समाजमा त्यति नै चाडो अफवाहहरु फैलिने गर्छन । अशिक्षाको कारणले  बिषयलाई  तथ्य परक तरिकाले  बुझ्ने र निर्णय लिने  क्षमता कमी आउँछ  । अशिक्षित  ब्यक्तिहरु चाडै अरुको कुरामा बिस्वास गरि हाल्ने , लहैलहैमा लागि हाल्ने हुन सक्छन् ।
उनीहरुले  आफुले सुनेको कुरा असत्य नै भएपनि सत्य नै हो भन्ने ठान्दछन  साथै  यो कुरा अरुका लागि  पनि महत्त्वपूर्ण  छ भन्ने  सोची यसको प्रचार गर्न पट्टी लाग्दछन   ।

मानसिक रोग

मानसिक रोगीहरुका कारण  पनि अफवाह फैलिरहेको हुन सक्छ  । मेनिया (उन्माद ) नामक मानसिक रोगको बिरामीले आफु शक्तिशाली भएको , जस्तो सुकै समस्या हल गर्न सक्ने क्षमता आफुसँग भएको  जस्ता  कुरा गर्ने  गर्छन । पहिले ठिकठाक भएको ब्यक्ति पछि एकाएक म गुरु हुँ  , माता हुँ , ममा अलौकिक शक्ति छ  भन्दै अव्यबहारिक , ठुला ठुला कुरा गर्ने , घमण्ड गर्ने ब्यक्तिहरु प्राय यसै रोगका बिरामी हुन्छन  ।
आफूलाई गुरु, माता  बताउने केहिले कोरोनाको अौषधी आफुसँग भएको , कोरोना महामारीको समधान आफूले गर्न सक्ने जस्ता अफवाह सामाजिक संजाल मार्फत फैलाउने गरेको पनि देखिन्छ  । मानसिक स्बास्थ्यका बारेमा अज्ञानता र अन्धविश्वासका कारण यस्ता खालका अफवाहलाई  फैलाउन मानिसहरुले   सहयोग गरिरहेको पनि देखिन्छ ।
– सिजोफ्रेनिया अन्तरगत पर्ने कडा मानसिक रोग  ” Grandiose delusion disorder ”   का बिरामीहरुले   आफुमा ठूलो शक्ति र क्षमता भएको ठान्दछन ।  बिश्व ब्रह्माण्डको सबै ज्ञान प्राप्त  बिद्धान र ट्यालेन आफुलाई सम्झन्छन् ।   भुत र  भबिष्यका सबै कुरा बताउन सक्ने  र संसारलाई चमत्कार गरेर देखाउन सक्ने क्षमता आफुसँग छ  भन्ने मतिभ्रम  यस्ता बिरामीमा हुन्छ । यस्ता बिरामीहरुको  भ्रम पुर्ण कुरालाई अज्ञानताबस  बिस्बास गर्नाले  पनि जनमानसमा  अफवाह फैलिएको हुन सक्छ ।
यी र यस्ता अन्य कारणहरुले पनि अफवाह फ‌लिरहेको हुन सक्छन । कुनै कुराको बारेमा धारण बनाउनु अगाडि राम्रोसँग सोच बिचार गर्नु जरुरी हुन्छ । बिषयबिज्ञहरुको मात्र कुरा सुन्नु पर्छ । अफवाहको पछि लाग्दा ठुलो  दुख पाईन सक्छ । नेपालको संविधानले प्रत्येक ब्यक्तिलाई बिचार र अभिब्यक्तिको स्बतन्त्रता दिएको छ तर यसो भन्दैमा समाजलाई हानी  नोक्सानी पुर्‍याउने र  शान्ति सु ब्यबस्थामा खलल पुर्‍याउने कार्य गर्नु भने अपराघ हो । नेपालको कानुनमा अफवाह फैलाउने, प्रचारप्रसार गर्ने ब्यक्तिलाई दण्ड सजायको ब्यबस्था गरिएको छ  ।

( लेखक ढकाल मनोविद हुन । उनी मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन ।)

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्