काठमाडौँ – बा, आमा अनि छोरो । सानो सुखी परिवार । खेतीपाती, धन्दा, भकारो गरेर गर्जो टरिरहेको छ । छोरो हुर्किएपछि धनको लोभ । धन कमाउन छोरो परदेश । गाउँमा बुढा बा, आमा मात्रै । उमेरको भने पनि बुढेसकालको भने पनि एउटा भाको छोरो परदेश गएपछि बा, आमा एक्ला । उमेरले डाँडो काट्दै गएपछि काम गर्न सक्दैनन् । खेतबारी बाँझै । परदेशिएको छोरो फर्किदैन । सहजमा त बुढाबुढी बसेकै छन् । दुःख पर्दा ? साथमा छोरोसमेत छैन । आमा अचानक बिरामी पर्छिन् र मृत्युवरण गर्छिन् । परदेशिएको छोरो आमा मर्दासमेत साथमा छैन । धन कमाउन गएको छोरो आमा गुमाउँदा पनि साथ हुन पाउँदैन भने त्यो धनको के काम ?
सानो हुन्जेल छोरोलाई माया, ममताको खाँचो हुन्छ । छोरो ठूलो भएपछि बा, आमालाई छोराको माया, ममताको खाँचो हुन्छ । तर दुःख पर्दा धन छ छोरो छैन भने त्यो धनको के अर्थ ? के पैसा पकाएर खान मिल्छ ? के पैसो खाँदा छोराको न्यानो माया प्राप्त हुन्छ ?
यो अहिलेको नेपाली समाजको विवश परिवेश हो । चाहेर, नचाहेर नेपाली समाजले अहिले यही अवस्था भोगिरहेको छ । गाउँभरिका छोराजति परदेशमा, घरमा बुढा भका बाबुआमा मात्रै । पैसा कमाउन गएको छोरोको माया, ममता उनीहरुले अनुभव नै गर्न पाउँदैनन् । कतिपयले त छोरो छ भन्न समेत पाउँदैनन् । धनभन्दा पहिले काठको बाकसमा छोरो फर्किसकेको हुन्छ । यही कारुणिक परिवेशलाई समेटेर प्रवीण खतिवडाले ‘फर्कन छोरा’ बोलको गीतको म्यूजिक भिडियो तयार गरेका छन् ।
भिडियोमा कलाकारहरु कमलमणि नेपाल, सरिता गिरी र प्रवीण खतिवडा लगायतको सशक्त अभिनय रहेको छ । यो गीतको म्यूजिक भिडियोको सहनिर्देशकमा विनोद खतिवडा रहेका छन् । दिपल बरालले निर्माण गरेको यो म्यूजिक भिडियोमा सम्रान्त थापाको प्रोडक्सन, कृष्णबहादुर थापाको सिनेमाटोग्राफी, कृष्ण भन्डारीको सम्पादन र रंगसंयोजन रहेको छ ।
केशव दाहालको शब्द र संगीतमा बनेको यो गीतमा गायक राजेश पायल राईले स्वर दिएका छन् । गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङ चन्दु गोर्खालीले गरेका छन् ।
गीतले परदेश गएको एक्लो छोराको प्रतीक्षामा पीडादायी जीवन बिताइरहेका बुबाआमाको कथा भन्ने रचनाकार केशव दाहालले बताए । यो गीत सुनेर र म्यूजिक भिडियो हेरेर परदेशिएका धेरै नेपाली घर फर्किने अपेक्षा गरेको अभिनेता कमलमणि नेपालले बताए । । यो गीतको भिडियोमा पैसा वा धनले मात्रै जीवन चल्दैन भन्ने संकेत गर्न कराहीमा पैसा उमालेको दृश्य पनि देखाइएको छ । दुःख पर्दा आफ्ना छोराछोरी साथमा हुनु नै धन भन्दा ठूलो सुख भएको सन्देश यो गीतले दिन खोजेको छ ।
गायकसमेत रहेका केशव दाहालले यसअघि ‘बैंसैमा लाको पिरती’, ‘चौतारीमा बसौंन पियारी’ लगायतका गीत सार्वजनिक गरिसकेका छन् ।