मालिकार्जुन जागरण [जागर] गाथा (झाेडाे र झाेडाेकाे व्याख्या सहित) एकपटक पढेर सेयर गराैँ

दार्चुला जिल्लामा स्थित श्री मालिकार्जुन जागरण संरचनाका दृष्लिे आठ खण्डको छ । प्रथम खण्डको सुरूको लोकपक्षको एक पाउन चौध अक्षरको भए पनि पछि १२/१३ अक्षरका पाउहरू छन् । अधिकांश पक्षहरू दुर्ई पाउँका भएपनि कुनै एउटै पाउमा प्रसङ्ग टुङ्गिएका र कुनै ३/४ पाउँ सम्मका पनि भेटिएका छन् । प्रत्येक लोक पद्य (जागर) को पाउ र अक्षर संरचना समान नभए पनि अन्त्यानुप्रास भने मिलेको देखिन्छ । दुर्ई समूहमा विभाजन भई गाइने मालिकार्जुन जागरण तल लेखिएको पद्यांसबाट सुरूवात गरिएको छ ।

काँ रे तमरी मलैनाथ जन्म भूमि होली ।
काँ रे तमरी मलैनाथ माय बाबु हुन्ना ।।
माइली रमाइली थली जन्म भूमि होली ।
सोमीनाथ बाबु हुन्ना जलन्तरी माय ।।
माल है मलैनाथ परभत चल्या ।
भोलु रे बेइगैछ गुसाँई भोल खरी बात ।।
घामु रे झुल्क्यो गुसाँई घाणा धुरा धार ।
परभत है मलैनाथ रीठाका जाइझील ।।
रीठाका जाईझील बैसेकु भइछ ।
ताँहैले चलीग्याँ गुसाई मडथली पुज्या ।।
मडका सुन्न¥या धामी मेरो बोलु लिनु ।
क्याउको हुकुम हुन्छ, क्याउका आदेश ।।
मण्डपु लौनाकी रती जग्गा दिनु ।
रोज गुसाई मण्डपु रोज गुसाँई थान ।।
काँ रोज्यो मण्डपु का रोज्यो थान ।
मड रोज्यो मण्डपु शिखर रोज्यो थान ।।
अनु अनु जोल्या चेल्या हमुवार अनु ।
अनु अनु सन्न¥या धामी हमुबार अनु ।।
मण्डपु लौनाको दीसो सुजाई ल्याउनु ।
झानु झानु जोल्या चेला जोशी घर झानु ।।
पोटोली जो हालिहाल्यो साली मनो चावल ।
गठोली जो बाधी हाल्यो जोला असरूपी ।।
तती हैत जोल्या चेलो बटोली जो लाग्यो ।
पानी नवाँ भेटे जोशीकी जोशीनी आमा ।।
जोशीकी जोशीनी आमा पैलागु ढोग ।
कसको तु लायो जोल्या आर्शिवाद जोल्या ।।
मलैनाथको लायो जोल्या तमरा कोट आयो ।
तमरा जति जोशीज्यू घर छनकी नाई ।।
हमरा जति जोशीज्यू घरै छनु बैसेक ।
तती है त जोल्या चेलो जोशीका घर ।।
हरूपरू जोशी जी मेरो बोलु लिनु ।
मण्डपु पैनाको दिसो सुजाई दिनु ।।
ल्याउनु ल्याउनु जोशीनी खडी चौकी पातडो ।
दाहीनी बौलीले जोशीनी खडी चौकी पातडो ।।
बउँ बौलेली जोशी नी रतना कामली ।
रतना कामली माइत घुँणी छापी वस्या ।।
हाली हाल्यो घुल्यौटो हेरी हाल्यो पाती ।
सउनका पन्ध्र पैट ढुङ्गो लउन्या दिन ।।
बुधवार ८ घडी ढुङ्गी लउन्या दिन ।
कती कती हातको मण्डपु सुजयो ।।
कती कती हातको विणीया सुजायो ।
तीस न बत्तीस हातको मण्डपु सुजायो ।।
नौ नौ हातको विणीया सुजायो ।
काँ को छ दुरू डाँडो काँको छ ढुङ्गो ।।
काँको छ गारो माटो काँको छ पानी ।
धौ खानीको दरू डाँणे लौरीको ढुङ्गो ।।
धामी धौको गारो माटो नवलीको पानी ।
इसी छनु जोल्या चेला मण्डवकी वाता ।।

मालिकार्जुन (मलैनाथ) को जन्म, आमा बुबा, उत्पत्तिको वर्णन भारतको सौराष्ट्रबाट कसरी नेपाल आए भन्ने कुराको वर्णन गरिएको छ । मालिकार्जुनका बुबा सोमनाथ र आमा जलन्तरी भएको वर्णन छ । त्यस्तै सौराष्ट्रबाट पर्वतीय क्षेत्र हुदै आएको र त्यसपछि घाणा धुराको भन्ज्याङ्मा आएको अनि त्यो पहाडबाट मालिकार्जुन रिठाचौपाताको जाईझीलमा केही दिन बसी पछि मडको पुण्य भूमिका पुगि सुन्नरे धामीलाई बोलाएर मन्दिर बनाउनका लागि मिलाउनु भन्ने हुकुम भएको किम्बदन्ती छ । यस पछि सुन्नरे धामीले स्वयम् नै ठाउँ रोज्नुस् भन्ने विन्ति चढाएपछि मालिकार्जुनले शिखर भन्ने ठाउँ रोजेको पाइन्छ । त्यसपछि एक जना खबरेलाई जोशी थरका पण्डितको घरमा साइत हेराउन पठाइन्छ र ज्योतिषले श्रावण १५ गते बुधवार विहान ८ घडीमा सिलान्यास गर्ने मुहुर्त दिन्छन् । साथै मन्दिर निर्माण गर्दा ३०/३० हातका जग हाल्ने र ९/९ हातको विणी (आसन) बनाउनु पर्ने कुरा ज्योतिषबाट जानकारी भयो । त्यसपछि मालिकार्जुनको मन्दिर निर्माणमा लागेको प्रसङ्ग  वर्णन गरिएको छ । तल लेखिएको पद्यबाट जागरणकथा अगाडि बढ्दछ ।

दाइनुतिर कागु बाँस्या बउँतिर नाग ।
मलैनाथको मन्दिर बडो लक्ष्मी भार ।।
तती हैत जोल्या चेला कोट लौरी आयो ।
कनु कनई जोल्या चेला जोशीघर की बात ।।
सउन मास पन्ध्र पैट टुङ्गो लाउन्या दिसो ।
तीस न बत्तिस हातको कण्डपु सुजायो ।।
धौखानीको दरूडाँडो लौरीको ढुङो ।।
धामी द्यौ गारो माटो नवलीको पानी ।
सुन्न¥या धामी तैत मण्डपु खालि दे ।।
खाल्दाजति खाली दिउँलो रोताली क्यापाउँलो ।
रती जग्गा मुठी दिउँलो पाग फुरूको ।।
आधा पाणु तोरे दिउँलो आधा पाणु मेरो ।
उतीको भोर जीया वाणे आधा पञ्ज्यू दिउँलो ।।
खाली हाल्यो मण्डपु फीजी हाल्यो सुत्तुर ।
अनु अनु बीख्या ओड हमु बार अनु ।।
क्याउको हुकुम हुन्छ महाराज क्याउको आदेश ।
मण्डपु लाया मुइले चिणी तैले देलैकी ।।
मण्डपु त चिणी दिउँलो रोताली क्या पाउँलो ।
नई त मेरो घरकुडी नई तमेरो ब्याउ ।।
रोकी दिउँलो घरकुडी नई त मेरो ब्याउ ।
तती भया महाराज माथा बौली पाया ।।
पञ्चकोटी देवा बस्या कुरा कानी भयो ।
जलन्तरी माईले दीयाबत्ति जलायो ।।
घुङरेला औजीले घाई बडाई बनायो ।
पञ्चकोटी देवालेत साई ढुङ्गो लायो ।।
कैकीयी धामीनीले मंगलु गाईछ ।
एकैजति विणी बाँध्यो एकै रानी भइन ।।
दुर्ई जति विणी बाँध्यो दुर्ई रानी भइन ।
तीनै जति विणी बाँध्यो तीनै रानी भइन ।।
चारै जति विणी बाँध्यो चारै रानी भइन ।
पाँचै जति विणी बाँध्यो पाँचै रानी भइन ।।
छयौ जति विणी बाँध्या छयौँ रानी भइन ।
सातौ जति विणी बाँध्यो सातै रानी भइन ।।
विख्याजति ओडले साइपुरी भरिछ ।
चिणी चाँणी मण्डपु घुँणा जोला पुग्यो ।।
चिणी चाँणाी मण्डपु शिर जोला पुग्यो ।
क्याउ क्याउ दारको धुरीया चढायो ।।
पम्प पदम दारको धुरीय चढायो ।
कटौजी दारको बासीया चढायो ।।
सल्लिन विसलिल्को भित्तिया बनायो ।
श्रीखण्डद्धाराको खम्बु रोक्यानु ।।
क्याखरी पत्थरले मण्डपु छ यो ।
तामाखरी पत्थरले मण्डपु छयो ।।
सातै जती महलु विख्या ओडले चिण्यो ।
आठौ जती सुन महल आफै हाई उब्ज्यो ।।
कित मेरो झान्या बाटो कित मेरो हुन्या ।
कित मेरा हुन्या बाटो कित मेरो झान्या ।।

यसमा मन्दिरको जग खनेर निर्माण कार्य सुरू भएको प्रसङ्ग छ । मन्दिर बनाउने काम विखुवा ओडले गरेको र मन्दिर चिणेवापत उसला घर बनाइ दिने र विवाह गरिदिने मालिकार्जुनबाट हुकुम भएको छ । त्यसपछि जलन्तरी आमाले दियो बत्ती बालेको घुङ्गरेला औजीले बाजा बजाई धाई बधाई गरेको र कैकेनी धामीनीले मंगल गीत (सगुन) गाएर मन्दिरको सिलान्यास गरेको प्रसङ्ग छ । एउटा पहिलो विणी जेठी रानीका लागि बनाइयो त्यसपछि क्रमसः दोस्रो, तेस्रो, चौथो, पाचाैँ, छैठौँ, सातौँ छाना ताम्रपात्रको राखियो । निर्माण कार्य सम्पन्न भयो । तर आश्चर्य आठाैँ महल (तला) आफैँ बन्यो । सुनै सनुको आठाैँ महल (तला) आफैँ बनेको देखेर मालिकार्जुन अपशोध परको सम्म यसमा वर्णन गरिएको छ । तलको पद्यबाट जागरण कथाको तेस्रो अध्याय अगाडि बढ्दछ ।

झानु झानु सुन्नर्या धामी जोशी जीका घर ।
आठौ जपत सुन महलु क्याउ वात उब्ज्यो ।।
झानु झानु सन्न¥या धामी जोशी घर गयो ।
हरूपरू जोशी जी मेरो बोलु लिनु ।।
आठाैँ जति सुन महलु क्या बाट उब्ज्यो ।
चौकी गणन्छ जोशी पातडो हेरन्छ ।।
पल्लीको हालनी होरो मेटि पर राख्यो ।
दोसरी हालनी होरू मेटि पर राख्यो ।।
विन्नु हेर्रानाई जोल्यो होरूलै नाई औनी ।
विन्नु गणौनाई जोल्या होरूलै नाइ आई ।।
बाटा तलि रौतले छोली हाल्या पाल्ला ।
तति चोख्या बामुनका आँखा अडि हाल्या ।।
हेरौनामा राखी हाल्यो सालिमानो चावल ।
गणैनामा राखी हाल्यो जोलन असरूपी ।।
आब आईछ जोल्या चेला टुकुमुकु हो र ।
कुमुँ खण्ड कुपी देश कन्यारे जन्मी ।।
तसै बात उब्ज्यो तेरो आठाैँ सुन महल ।
कोपी राजा बुवा हुन्ना धुना रानी माई ।।
भागाश्री कन्या जन्मी मलैनाथका जोग ।
भदौमास एघार पैट भागाश्री जन्म्या ।।
बुधार आठ घडी भागाश्री जन्म्या ।
भागाश्री कन्या जन्म्या एघार बर्ष भया ।।
तसैबात उब्ज्यो सुन महल तमरो ।
तति हैत सन्नर्या धामी मलै नाथका कोट ।।
कुमुँ खण्ड कुपी देश कन्या रे जन्मी ।
तसै बात महाराज आठाैँ महल भयो ।।
बाबा जति बाबा मेरो बोलु लेनु ।
क्याको आदेश हुन्छ मलैनाथ पुत ।।
कुमुँ खण्ड कुपी देश कन्या जन्मी रैछ ।
तसैबात बाबा मेरो आठौँ महल भाये ।।
झानु झानु बाबा मेरा कन्या वारी ल्याउनु ।
सातै जति रानी तेरा सातै ढोका छनु ।।

आठौँ महल आफैँ बनेको देखेर आश्चर्य मान्दै मालिकार्जुनले सुन्नरे धामीलाई ज्योतिष कहाँ हेर्न पठाएको प्रसंगबाट तेस्रो अध्याय सुरू भएको छ । ज्योतिषले उक्त कुराको बारेमा हेर्दा कुमाउँ खण्डको कुपी देशमा एउटा कन्या जन्मेकी छिन् त्यसै कारणले यो आठाैँ महल उब्जेको भनी बताए । ज्योतिषले भागाश्री नाम गरेकी राजकुमारी मालिकार्जुनको योग परेर जन्मेकी हुन् भनी बताइदिए । सुन्नरे धामीले दौडेर मालिकार्जुनको दरवारमा पुगेर ज्योतिषले भने बमोजिम बताइदिए । त्यसपछि मालिकार्जुनले आफ्ना बुबालाई उक्त कुरा बताए र कन्यावरण गर्न अनुरोध गरे । यसरी मालिकार्जुनलाई बुबा सोमनाथले तिम्रा सात रानी भएकाले भागाश्रीको धोको नगर भनेर सम्झाएको वर्णन यसमा गरिएकाे छ ।

जनगरै पुत मेरा भागाश्रीको धोको ।
जन गरै पुत मेरो आठौ रानीको धोको ।।
लागी गयो बाबा मेरा आठाैँ रानीको धोको ।
झाई दिय बुवा मेरा कुमुखण्ड कुपी देश ।।
बाटालै नाई जाण्डो पुत नउलई नाई जाण्डो ।
कसरी झाैँलो पुत कुमँ खण्डका देश ।।
पडु रे फोड्यो पखानुलई फोड्लो ।
आगेवान चलिझैलो मुकैले वीर ।।
कैलुपाल सोमीनाथ घोड्यालास चल्या ।
घोडिका घोडिला चेला घोडी छाँटी दिनु ।।
कसी घोडी कसी पाग कसी दिउ कम्मान ।
घोडीमा सवार भया कुमँ देश पुज्या ।।
काँका हौला देवा गुसाँई क्याउ काम आया ।
लेकमका देवा हुँला तमरा देश आया ।।
तमरी जति कन्या कित माङा जाङी आया ।
लेकम चुकिलाका कन्यालाई नाई दिना ।।
मालका थडुवाकी कन्यालाई नाई लैजना ।
सातै रानी बुढो बरू कन्यालै नाइ दिना ।।
लेकमका चुकिलानुका कन्यालै नाई दिना ।
दुबै जति देवा सवाल जवाफ भया ।।

मालिकार्जुन देवताबाट आफ्ना बुवालाई भागाश्री कन्यावरण गरिदिन अनुनय विनय गर्दै विन्ति गरेको प्रसङ्गबाट चौथो अध्याय सुरू भएको छ । त्यसपछि बुबा सोमनाथ आफूलाई त्यो कुपी भन्ने ठाउँमा जाने बाटो थाहा न भएकाले जान नसकिने असमर्थता र अनविज्ञता प्रकट गरेपछि कैलापाल देवतालाई कन्यावरणका लागि आग्रह गरिन्छ । त्यसपछि सोमनाथ र कैलपाल खैरो घोडामा तलवार, तिरकमान, खुकुरी भिरेर कुमाउको कुपी भन्ने ठाउँमा पुगेको प्रसङ्ग वर्णित छ । त्यहाँ पुगेपछि कुपी देशका राजाबाट उनीहरूलाई तपाइहरू को हुनुहुन्छ र किन यहाँ पाल्नु भएको भनी शोधनी हुँदा सोमनाथले हामी लेकमका देवता हौँ कन्यावरणका लागि आएका हाैँ भन्ने उत्तर दिनुभयो । कुमाउका राजाले लेकममा छोरी नदिने भनेपछि दुबै बिच चर्काचर्की कुरा हुन थालेको र सोमनाथ रिसाएर फर्किएको प्रसङ्ग चौथो अध्यायमा वर्णन गरिएको छ ।

कनु कना बाबा ज्यूत कन्या खरि बात ।
झना साथ पुत मेरा केइनाई भई बात ।।
जनुराखै पुत मेरा छाडी दे कन्या धोको ।
बृद्धकालका बुढा वुवा कि कन्या वरन्थ्या ।।
तती हैत मलैनाथ बयल पाण चल्या ।
बयल पाण तुला खाट धुरू धुरू रोया ।।
गावकी मजेली सिया जलन्तरी माई ।
लगि गयो मलैनाथ भागाश्रीको धोको ।।
राती कि अदिया रात निन्नरा टुटन्छे ।
पाण चुई मजेली पुज्या क्या भयो अचम्म ।।
नई सर्ग बादलु थिनु नै मेधानी हउलो ।
राती कि अदिया राति क्याउ उठी बैठकु ।।
जलन्तरी माईले शोधी निति भै छ ।
कित तेरा मलैनाथ खाट उडुस छन कि ।।
कित तेरा मलैनाथ केशु रूखा छन् कि ।
कित तेरा मलैनाथ लुगाा मैला छन् कि ।।
दुध धोया घिउ केशु रूखा नाई थी ।
दुध धोया घिउ मल्या पउँ रूखा नाईथी ।।
राती की अदिया राती क्याउ उठी बैठकु ।
रातीको गुसाँयी मर्यो सुईनीको धनदोल ।।
कनु भण्णाई पुत मेरा सुईनीको धनदोल ।
कइ हाल्दो जिया मेरो धक र सरम ।।
दश मास लाई बोक्या दशै मास दुध दिया ।
आफ्ना जति माई बाबु किजन माणौँ सरम ।।
खाटै माथि सिया जिया भागाश्री रानी ।
भागाश्री रानीकेश वाला निउड्या ।।
सुइनामा धेक्या मुइले भागाश्री रानी ।
लागि गयो जिया मेरा भागाश्रीको धोको ।।

मालिकार्जुनले बुबासँग कन्यावरणको कुराकानी सोध्दा सोमनाथले त्यहाँ पुग्नासाथ चर्काचर्की भई फकिएकोले तिमी भागाश्रीको धोको छोडि देउ भनी मालिकार्जुनलाई भनेपछि बुबाको कुरा सुनेर उनी रिसाएर आफ्नो निवासमा सवारी भएको वर्णन छ । त्यसपछि त्यहाँ बसेर धुरू धुरू रोएको र उनको आँशु तल्लो तालामा आमाको बस्ने खोपी सम्म पुगेपछि आमा जलन्तरी मालिकार्जुन कहाँ आएर सन्चो विसन्चो सोध्न लागिन् । राति यसरी रोएर बसेको देखेर आमाबाट किन यस्तो गरेको भन्ने प्रश्नको उत्तर दिदै मालिकार्जुनले भागाश्री बिना आफू बाँच्न नसक्ने र भोक निन्द्रा सबै भागाश्रीले खोसेर लगेको कुरा आमालाई बताएको प्रसङ्ग पाचाैँअध्यायमा वर्णन गरिएको छ ।

जिया जति जिया मेरा लाडी च्यूडा बाधी दिनु ।
बानाया का लाडी ज्यूँडा काटिई पर गया ।।
तति हुना अपसकुन जनु चल पुत ।
घाम सुक्या निन रूझ्या अनु कसा हुन्थ्या ।।
जिया जति जिया मेरा पिठायो पैराई दिनु ।
लाएको पिठायो तमरो बाँया ढल्की गयो ।।
तति हुना अपसगुन जनु चल पुत ।
बृद्धकालका जिया मेरा बौली कम्पन्न लागी ।।
केटी जति साहिली केटी कपडा सुजाईदे ।
भागाश्री ल्याउन झानु कपडा सुजाई दे ।।
सुजायाका कपडा दादा मिर मौला भया ।
तति हुना अपसगुन जनु चल गुसाँई ।।
कमु जति साबुन लाया अनुकसा हुन्थ्या ।
खायाका खपुडा खालैन खित्तानु ।।
उसी होली पुत तेरी भागाश्री रानी ।
भातु खान्या जिया मेरा माजीमुजी भित्तर ।।
उसी होली जिया मेरी आठाँ भागाश्री ।
झानु झानु जोल्या चेला मालबेटाकी सोध ।।
भागाश्री ल्याउन झानु कोट आस भणी ।
तति हैत जोल्या चेलो धौढुङी पुजीग्यो ।।
धौढुङ्गी है धादु लन्छ माल बेटाका कोट ।
धौढुङ्गी है धादु लौन्या को रे जोल्या हउला ।।
धौढुङ्गी है धादु लौन्या मु रे जोल्या हउला ।
तमु खाई त मालुवेटा कोट आस भुण्यो ।।
भागाश्री ल्याउन झानु कोट कस भुण्यो ।
क्याउकी भै छ मलैनाथ हमरी बोलौट ।।
छाँटो पाउ त सार गुसाई झाइ दिउला पर्खाल ।
जलन्तरी माईले पिठायो पैरायो ।।
पैरायो पिठायो पैरोयो सिम्रिकको टीको ।
छाटो पाउँत सार गुसाँई भागाश्री ल्यान ।।
बनायाका लाडी च्यूडा सिउतिका विजला ।
सुजयाका कपडा पुत चिन्डीका फुलमाला ।।
छाटो पाउत सार गुसाई भागाश्री ल्यौन ।
ओटीयो बटीयो जियाले कपडा पैरायो ।।
झाना साथ पुत तेरा भला भाव भया ।
घोडाका घोडीला चेला घोडी छाँटी दिनु ।।
सेतो घोडो सेति पात सेति दे कमान ।
घोडी चढी शिखर गयो छोडी पाउ बस्या ।।
ताँ है ले चलिग्या गुसाँई पाण मजेलि पुज्या ।
ताँ है ले चलिग्या गुसाँइ विनायककी थली ।।
विनायककी बिना दिदि भिनाजु काँ छनु ।
क्याउको आदेश हुन्छ घरै छन बैसेक ।।
भागाश्री ल्यौनु झान लाई दिय पर्खाल ।
छाँटो पाउँ त सार बैना लाई दिउल्लो पर्खाल ।।
ताँ है ले चलिगया गुसाँई मौता थली पुज्या ।
मौता की भेरडी पुइजु पुसाँई जी काँ छनु ।।
क्याउको आदेश हुन्छ घरै छन् बैसेक ।
भागाश्री ल्याउन झानु लाई दिय पर्खाल ।।
छाँटो पाउँ त सार बैना लाई दिउलो पर्खाल ।
ताँ है ले चलिगया गुसाई ढोली बस्ना पुज्या ।।
घुङरेला औजी तै त धाई बढाई बनाईदे ।
छाँटा पाउँ त सार गुसाई धाई बढाई लाँैलो ।।
ताँ है ले चलिगया गुसाँई जेठी धार पुग्या ।
भोक्करेला चेला तँइ त भोकर चट्का लाइदे ।।
छाँटो पाउत सार गुसाँइ भोकर चड्का लौलो ।
ताँ है ले चलिग्या गुसाई मड गली पुजिग्या ।।
मडका सुन्नर्या धामी धमेनी काँ छनु ।
क्याउको हुकुम हुन्छ क्याउको आदेश ।।
भागाश्री ल्याउन झानु गाईदिय मंगल ।
छाँटो पाउ त सार गुसाई गाईदिउँलो मंगल ।।
ताँ है लै चलिग्या गुसाई सलेतीकी थली ।
झालीमाली पुइजू मेरा पुसाँई जी काँ छनु ।।
क्याउको आदेश हुन्छ घरै छन बैसेक ।
भागाश्री ल्याउन झानु लाई दिनु पर्खाल ।।
छाँटो पाउँ त सार गुसाई लाई दिउलो पर्खाल ।
ताँ है ले चलिग्या गुसाई उकुथली पुजिग्या ।।
उकुका संखु पाल मेरो बोलु ल्यौनु ।
भागाश्री ल्याउन झानु आवरनु दिनु ।।
दिना जति दिउलो गुसाँई रोताली क्या पाउलो ।
तमु हमु संख पाल बराबरी बाणै ।।
मेरा जति हिल धुल पिपरा लयलो ।
तती भया महाराज दिई दिउलो अवरनु ।।
ताँ हलै चलिग्या गुसाँई चामीचोर बस्या ।
आफु बस्या चामी चौरा घोडी लायो धाप ।।
फुलकी बगैचा माईत घोडी धापाइ दियो ।
छिपलाकी साईली केटी पानी न्वाला आइन ।।
धेकन्छे त साहिली केटी सरूवा घोडी धाप ।
कै को होला रिथी मर्या धाप सरू खान्या ।।
लेकमको देवा हुँ मुइले लाया सरू ।
काँकी साहिली केटी मेरा घोडी डाकन्या ।।
छिपलाकी साहिली केटी तेरो घोडो डाकन्या ।
छिपला मेरा मितु हुन्ना घर छन की नाई थी ।।
छिपलाकी साहिली केटी तमले मेरा दादा ।
तती है त साहिली केटी चमी चोरा आई ।।
तमुत भै छ मित्या दादा छिपला घर नाईथिनु ।
छिपला मेरा मीत केटी कै दिशा झाइ¥यानु ।।
छिपला जति दादा मेरा मालथलि गया ।
मालथली गया दादा माल ओगान ल्यान ।।
कति मैनाको झान्या बाटो कति मैनाको औन्या बाटो ।
कति मैना भया छिपला मालथली गया ।।
छ महिनाको झान्या बाटो छ महिनाको औन्या बाटो ।
तिनै महिना भया छिपला मालथली गथा ।।
झानु झानु साहिली केटी छिपलाकोट झानु ।
लेकमका देवा हुँला छिपला मेरा मीत ।।
तति है त साहिली केटी छिपला कोट गइन ।
बउजु जति बउजु मेरा मेरो बोलु ल्यौनु ।।
चामीचोर धेक्या बउजु तमरा जति मितु ।
फुलकी बगैचामा उनरो घोडो भइछ ।।
चामीचोर बसिर्यानु तमरा जति मितु ।
झानु झानु साहिली केटी कोट बोलाई ल्यानु ।।
तति हैत साहिली केटी चामीचोरा गइन ।
तमु खाइत मित्या दाज्यु कोट आस भण्यो ।स।
तति है त मलैनाथ छिपला कोट गया ।
उनि सुति कपडाले कपडाबाट छायो ।।
घुसानो पसिनाको पसल फिजायो ।
छुरी काटी दुबो लियो पेला पिठायो ।।
सालि मानो चामल राखि जोलन असरूपी ।
गजभरको घुम्टो हाली धुनामाइ चल्या ।।
पँल्लीको पिठायो बाया ढलि गयो ।
तति हुना अपसकुन ढोक जनु दिए ।।
तति है त धुना भाई गाबकि मजेलि ।
कि त मेरा छिपलाका सुजन्द पीडा भया ।।
कि त मेरा छिपलाका हुन्या बालो पीडा ।
तति है त धुना माइ गाबकी मजेली ।।
मितु जति आमा अपस कुन भयो ।
बृद्धकालका बुढा माई बौली कामन लागी ।।
गजभरीको घुम्टो पैरी भागाश्री चल्या ।
सोबरनकी थाली भाइत पिठायो पैरायो ।।
पिठायो पैरायो रानी ढोग जनुदिया ।
पिठायो पैरायो रानीले पिठाली फर्कायो ।।
पिठालो जनु फर्का रानी छोड्यो धेकाई देउ ।
हरे हरे हरि दैव कुरो जनु बोल ।।
तमु त मेरा मितु भइ छौ बुरो जनु बोल ।
मितो साइनु मित सित तैत मेरी रानी ।।
तति है त धुनुमाईले कुराकानी सुण्यो ।
कटौजीका टुका चुण्या सेई मसी बनायो ।।
केलडीको पात चुणी कागजु बनायो ।
आँखाका आँखी भौ चुणी कलमु बनायो ।।
दुर्ई चार हरपु लेखी माल चिठी लायो ।
मलैनाथ भागाश्री सोधपुछ भइछ ।।
तमुरानी भागाश्री कति पुत हुनु ।
एकै जति काख बालो दोसरो बाजा भार ।।
तमरा जति मलैनाथ कति रानी छनु ।
सातै जति रानी मेरा सातै काटा रन्ना ।।
आठौँ रानी भागाश्री सहिला शिखर ।
कति हुन्ना महाराज काख तमरा वाला ।।
दुर्ई हुन्ना भागाश्री काख जति वाला ।
चुलु रानी भागश्री सहिला शिखर ।।
छिपलाको कटुकु बटोली जाई लाग्यो ।
कै रै सौपु महाराज हुन्या जति बालो ।।
कै रे सौपु महाराज राज र दरबार ।
सासु माई सौपु रानी हुन्या जति बालो ।।
ससुरानु सौपु रानी राज र दरवार ।
बालो सौपु सासु माई ससुरानु दरवार ।।

मालिकार्जुन जागरणको छटौँ अध्यायमा मालिकार्जुन आफैँ कन्यावरण गर्न जाने तयारीमा लागेको प्रसङ्ग वर्णन छ । मालिकार्जुनले आमालाई लड्डु बनाई दिन आग्रह गर्दा आमाले लड्डु फुटेकाले अपसगुन भएको छ । नजाउ भन्ने आग्रह गरेको र मालिकार्जुनले त्यो अपसगुन होइन भन्दै कुरा काटेको प्रसङ्ग छ । जलन्तरीले टीका लगाउदा पनि अपसगुन भएकाले भागाश्री ल्याउन नजानका लागि आग्रह गरेको र मालिकार्जुन सबै कुराको वेवास्ता गर्दै भागाश्री ल्याउन हिँडेको वर्णन छ । मालिकार्जुन सेतो घोडामा चढी सेतै खुकुरी समेत सेतो लुगा लगाएर छिपलाको राज्य (कटक) चामी चौरामा पुग्दछन् । चामीचोर पुगेपछि आफू चौतारामा बसेर घोडालाई खेतमा छाडेको र घोडा चर्नका लागि फुलवारीमा प्रवेश गरेका वखत छिपलाकी बहिनी त्यहाँ आइ पुग्छिन् । घोडाको मालिकलाई गाली गर्न थालिन् र गाली गर्ने तिमी कोहौ भनी मालिकार्जुनले सोध्दा आफू छिपलाकी बहिनी भएको बताइन् । त्यसपछि मलिकार्जुनले छिपला मेरा मित हुन् तिनी अहिले कहाँ छन् भनी सोध्दा छिपला छ महिनाका लागि रकम असुल्न मालाथली जानु भएको छ । ३ महिना भएको कुरा छिपलाकी बहिनीले बताउछिन् । मालिकार्जुन आएको कुरा छिपला दरवारमा खबर पुग्यो र छिपलाको राज्यमा मालिकार्जुनको स्वागत गर्न छिपलाकी आमा धुनामाई टीका थाल लिएर आइन् । मालिकार्जुन लाई टीका लगाउदा टीका देब्रे ढल्केकोले अपसगुन भयो भन्दै बुढी त्यहाँबाट आफ्नो खोपीमा गएको प्रसङ्ग वर्णन छ । त्यसपछि भागाश्री स्वागतार्थ सुनको थालमा सालिधानको चाम, जोडी अशर्फी राखी गजभरको घुम्टो ओढेर मालिकार्जुनको नजिक आइन् । भागाश्रीले टीका लगाई पिठ्यू फर्काएर बसेको देखेर मालिकार्जुनले तिमी मेरी रानी हौँ एक पटक मेरो अनुहारमा हेरन भनेर अनुरोध गर्दा भागाश्रीले यस्तो दुर्वचन नबोल्नुस् तपाइ मेरा मित हुनुहुन्छ भनी अलिपछि सर्छिन् । त्यसपछि दुबैले एक अर्काको बारेमा सोधपुछ गर्दा भागाश्रीले मेरो एउटा छोरा र म गर्भिणी पनि छु । यस्तो अवस्थामा आफू मालिकार्जुनसँग जान नसक्ने कुरा मालिकार्जुनलाई बताउछिन् । त्यसपछि मालिकार्जुनले हुनैनाथ बालकलाई सासुको जिम्मा लगाएर हामी दुईटै यहाँबाट भागौँ भन्दछन् र दुबै त्यहाँबाट भागेसम्मको प्रसङ्ग छैटौँ अध्यायमा वर्णन छ ।

छिपलाका कोट न्याउली झुराई छ ।
मलैनाथका कोट धायी बढाई भै छ ।।
हात दियो केला कोसी खिति पर दियो ।
हुन्या जति बालो मेरा रोइ साथ लाग्यो ।।
हात दिया दुध बटक्या फोकी पर राख्यो ।
हुनैनाथ बालो मेरा रोइ साथ लाग्यो ।।
पल्लीको हरपुर पडी धुरूक्क जाइ रोया ।
दोसरो हरपु पडी मुसुक्क हाँस्या ।।
तति हैत छिपलाले पिछो खोजी हाल्यो ।
सोल खालको सेना छिपलाले खोज्यो ।।
काली गमलोडा समाई गादा पानी हाल्यो ।
छिपलाको कटक बटोली जाइ लाग्यो ।।
छिपला धुरा धरती कम्पन जाइ लागी ।
मलैनाथ भागाश्री मुर्छानु पड्या ।।
मलैनाथ भागाश्री एकै डाँणी चल्या ।
दोसरी डाँणी चली आयो हुन्या जति बालो ।।
हंखेनी डंखेनी माईका डाँणी लाई ना बसु ।
छिपलाको पुत हुँलो खणी खेली खौँलो ।।
भागाश्री मलैनाथ कुच्या थली पुग्यो ।
छिपलाको कटक छिपल्धुरा पुग्या ।।
कुच्याथली धरती कम्पन्न हुन लागि ।
भागाश्री मलैनाथ मुर्छाझाई पड्या ।।
पाँच मैनाकी भागाश्री रगत छोला पड्या ।
पाँच मैनाको अनालो बालो कुच्याथली जन्म्यो ।।
सहिला जति केटीले सैचानु बनायो ।
लठ्ठीका टुकराले पौडीका कखडी खित्यो ।।
एकै दिनु भया रानी दुर्ई दिनु भया ।
दुर्ई दिनु भया रानी तीन दिनु भया ।।
तीन दिनु भया रानी चारै दिनु भया ।
चारै दिनु भया रानी पाँच दिनु भया ।।
पाँच दिनु भया रानी छैटौँ दिनु भया ।
छैटौँ दिनु भया रानी सातै दिनु भया ।।
सातै दिनु भया रानी आठ दिनु भया ।
आठै दिनु भया रानी नवौँ दिनु भया ।।
मालुवेटा वामुनले अपसेक खित्यो ।
न्वाई धोई गरीसकी अपसेक लियो ।।
ताँ है त चलि गया गुसाई सलेत की थली ।
सलेतीकी वण्ड पातल एकै वास बस्या ।।
छिपलाको कटक कुच्या थली पुज्यो ।
सलेतीकी धरती कम्पन हुन लागी ।।
ताँ है ल चलिग्या गुसाँई औल्लेकी थली ।
औल्लेकका तामापत्तर हुनैनाथ वस्या ।।
चल गुसाँइ हुनैनाथ मड थली हिट ।
लट्या गल्या पुत तमरा साईक बोलन्ना ।।
हुन्या जति बालो मेरो लमड्या बोलालो ।
औल्लेक रैथानु दिउलो कुँणी गाराडी ओगाई खानु ।।
तति भया कान्छा बुबा खणाी खेती खउलो ।
छिपलाको कटकु औल्लेककी थली ।।
मलैनाथ भागाश्री मड थली पुग्या ।
साउन मास अन्धघोर मण थली पुज्या ।।
छिपलाको कटकु मिलमिली थली ।
मडका सुन्न¥या धामी मेरा बोलु लिनु ।।
भागाश्री बेय लियो कै थली मुई बसु ।
कैकेयी धमेनी तई मेरो बोलु लिनु ।।
उगाड गुसाई महाराज खोलीकी केवाड ।
गावाकि मजेली चल्यो जलन्तरी माई ।।
मुईले बेएई लिया भागाश्री रानी ।
मजेली पाँण चली झान्थ्यो अठ्पहरीया छनु ।।
जिया जति मेरा जिया मेरी बोल लिनु ।
छिपलाका कटकेले पटकन छायो ।।
जलन्तरी माईले सुइनु जपि दियो ।
शिखरका थली है बाघलाई मगायो ।।
मड थली माझ खाला बाघ खाडा राख्यो ।
चल तमु पुत ब्वारी बाघमा सवारी ।।
भागाश्री बाघमा सवारी भया शिखरकी थली ।
शिखर थली निङ्लाघाँची मैलैनाथ लुक्या ।।
बउ कोखी भागाश्री लुकापिछी भै छ ।
छिपलाका कटकले दह बाधी हाल्यो ।।
दह बाध्यो छिपलाले दुरबीनले हेर्यो ।
मलैनाथ भागाश्री शिखर थली धेक्यो ।।
मलैनाथ भागाश्री मुर्छा पडी गया ।
गाद है गमलोडा गाड्या शिखर थली हाण्या ।।
शिखरका थलीमाई त पैरापखान चल्या ।
पैरा पखान चल्या गुसाई पैरा पखान चल्या ।।

मालिकार्जुनले भागाश्रीलाई भगाएर लगेपछि छिपलाले आक्रमण गरेको घटनाबाट जागरण कथा अगाडि बढेको छ । छिपलाको कोटमा रूवाबासी भएको छ भने मालिकार्जुनको कोटमा हर्षोलास भएको छ । छिपलाको मनमा एकातिर रानीको विछोडको पीडा छ भने अर्काेतिर मालिकार्जुन प्रति प्रतिशोध को भावना जागेको छ । त्यही प्रतिशोधको कारण छिपलाले प्रतिकारको बाटो खोज्न थालेको छ । महाकालीका ढुङ्गा (गमलोडा) बटुलेर १६ लाख जवानहरूको सुसज्जित फौज तयार गरी मालिकार्जुन भएको ठाँउतिर प्रस्थान गरेको प्रसङ्ग छ । भागाश्री र मालिकार्जुन कुच्या भन्ने ठाउँमा पुगेको र थाहा पाएपछि छिपलाको सेनाले छिपला धुराबाट तोप पड्काएको जसका कारण मालिकार्जुन मुर्छित भएको वर्णन छ । कुच्या भन्ने ठाउँमा भागाश्रीबाट ५ महिनामै बालक जन्मिए पछि ओढारमा ९ दिन सम्म बसेर नवौँ दिनमा पञ्चगव्यले अभिषेक गरी शुद्धी भई त्यहाँबाट औतालेक भन्ने ठाउँमा पुग्दछन् । उता छिपलाको फौज पनि कुच्या भन्ने ठाउँमा पुगेको र त्यहिबाट तोप पड्काउदा मालिकार्जुन त्रसित हुँदै गएको पाइन्छ । औतालेकमा ताम्रपात्रले बनेको मन्दिर हुनैनाथलाई सुम्पिएर जब मालिकार्जुन र भागाश्री मड थली पुग्दछन् । यसरी मड भन्ने स्थानमा मालिकार्जुन र भागाश्रीलाई आमा जलन्तरीले टीका लगाई छोरा र बुहारीलाई छिपलाको आक्रमणबाट बच्न बाघमा सवार भएर शिखर धुरा जान सल्लाह दिनुभयो । श्री शैल शिखरमा पुगेर मालिकार्जुन निङ्गलाको घारीमा लुकेर बसे भने उता छिपलाले ताल बनाएर मालिकार्जुन लुकेको ठाउँमा सूर्यका किरण परावर्तन गराई मालिकार्जुन लुकेको ठाउँ पत्ता लगाए । यसरी छिपलाको फौजले तलबाट ढुङ्गा प्रहार गरेको र तोप पड्काउन थालेको प्रसङ्ग वर्णन छ । जसले गर्दा शिखर डाँडामा पहिरोजान थालेको घटना सम्मको वर्णन साताैँ अध्यायमा गरिएको छ । तलका पद्यबाट जागरण कथाको आठौँ अध्याय अगाडि बढ्दछ ।

लट्या जति पुत मुइले समृद्ध बगाया ।
गल्या जति पुत मेरो खातडीको बालो ।।
यो घडी असंकट कई वीर पउलो ।
मार्मा थली लटैनाथ उत्पन्न भया ।।
बार मनको गजु मनायो लटिनाथ देवाले ।
मार्मा है लटिनाथ शिखरकी थली ।।
गजु हाँण्या लछिनाथले गह फोडी खित्यो ।
पिठु छोण्यो लछिनाथले उब पैरो लायो ।।
छिपलाका कटकको घल्या घामु चल्यो ।
रूपघारी विष्ट मालु बेला अडियो ।।
एकै जति रूपाघरी बौली थामी दियो ।
कैजाजति कैजा मेरा वडा बीरू रैछौ ।।
उठ तमु बुवा कैजा ठाडा उठी झाना ।
छिपलाका कटकुको घोल्या घाम पड्यो ।।
धन्य धन्य लटिनाथ वडो वीर रै छ ।
हमु क्याका बीरू हुँला तमु होला बीर ।।
बाबाको तेड्याको बालो माइले तेड्याको ।
हमु क्याले वीर हुँला तमु रैछौ वीर ।।
बस तमु लटैनाथ मेरा पुत भूमी ।
आब भैछ बुवा छोरा साइनकी पछ्याण ।।
आगा हुल तोई दिउलो पाटा हुल मेरी ।
दुत्याहुल तोई दिउलो चद्धशी मेरी ।।
रोज गुसाई लटिनाथ रनि जग्गा रोज ।
रोज गुसाई लटिनाथ मण्डप रोज ।।
भौतडीकी रनि जग्गा चौणको मण्डपु ।
मार्माथली रनु लाग्या चौणको मण्डपु ।।
भौतडी रनी जग्गा भौतडी भाँणार ।
बैजनाथ पुत हुन्ना कैलपाल देवाका ।।
लटिनाथका मामा हुनना बैजनाथ देवा ।
कैलपाल देवा गुसाई लटिनाथका भैया ।।
तसैबाट कैलुपालको वाया लिङ्ग भैछ ।
मलैनाथ भागाश्री शिखर सवार ।।
शिखर वसिर्यानु रानी शिखर वसिर्यानु ।
शिखर वसिर्यानु रानी शिखर वसिर्यानु ।।

मालिकार्जुन र भागाश्री भागेर शिखर स्थित डाँडामा निगलाको घारी मुनी लुकेर बसेको र छिपलासँग प्रत्याक्रमणको कुनै तयारी नभएको अवस्थामा थकित र दुःखी हुँदै लटिनाथलाई नदिमा बगाएको गलैनाथ नाबालक भएको अवस्थामा मलाई कसले सहयोग गर्ला भनी मालिकार्जुनले विलाप गर्न थालेको प्रसङ्ग यस अध्यायमा छ । यस प्रकार मालिकार्जुन सङ्कटमा परी दुःखित भइराखेको छिपलाको सैन्यले घेराव गरी आक्रमण गरिराखेको थाहा पाएपछि मार्माको तलैमाडौँबाट आफै सेनापति बनी अन्य देवतालाई जानकारी गराई सहयोगी बनाई युद्ध गर्न लटिनाथ शिखर पुगे । शिखर डाँडामा मालिकार्जुनलाई जानकारी गराई शिखर डाँडाबाटै युद्ध गर्न थाले । छिपलाको फैजले शिखरमा चढ्न अप्ठ्यारो भएकाले मालिकार्जुन बस्ने ठाउँ पत्ता लगाउन देथलीमा ठूलो पानीको तलाउ बनाएका थिए । जसमा सूर्यका किरण प्रत्यावर्तन भई शिखर डाँडामा पर्ने र उक्त किरणले मालिकार्जुन बसको ठाउँमा निशाना बनाई तोप र ढुङ्गा प्रहार गर्न सजिलो भएको थियो । सो कुरा लटिनाथले थाहा पाई शिखर डाँडा बाटै फलामको त्रिशुल प्रहार नरी उक्त दहको दक्षिण तिरको भाग भत्काई दिए । जसले गर्दा पानी बाढीको रूपमा बग्न थाल्यो र तलाउ भत्कियो । तलाउ भत्काएको आक्रोशमा छिपलाको बम र महाकालीका साह्रा ढुंगा (गम्लोडा) प्रहारबाट शिखर डाँडामा पहिरो समेत जान थाल्यो । त्यसको प्रतिकारमा लटिनाथले तलतिर आइरहेको पहिरोलाई माथि फर्काएर दिशा परिवर्तन गरी पहिरोलाई रोकिदिएकाले छिपलाको आक्रमण निरस्त पारेको पाइन्छ । त्यसैले आज पनि लटिनाथको प्रशंसा गर्दा (उन पैरा उब फर्काउन्या वीर) तथा तल बग्ने पहिरो माथि फर्काउने वीर भनी प्रशंसायुक्त सम्बोधन गरिन्छ । यसरी लटिनाथले छिपला माथि विजय प्राप्त गरेसँगै मालिकार्जुन जागरण यहाँ पूरा भएको पाइन्छ । मुख्य देवी देवताहरू प्राणी मात्रको रक्षा गर्न पुनः स्वस्थान आ–आफ्नो मण्डपमा आएको र कार्य सम्पादन पश्चाद् विष्णु सायुज्य प्राप्त गर्ने अभिलाषा सहित यो शिवलिङ्गको गाथा चैत जोड्ने, लेख्ने, भन्ने (भुण्णे) गाथा गाउने लगायत एवं दर्शक श्रोता सबैको भगवान श्री शिवले कल्याण गरून् भनी प्राथना गर्दै कथावस्तुलाई विराम दिइन्छ ।

श्राेत सामाग्री 

काशीदत्त भट्ट (२०४३) मालिकार्जुन भक्तिखण्ड काव्य हरिद्धार : फैन्डस प्रिन्टिङ प्रेस ।
इश्वरदत्त बडु (२०७१) दुहूँ क्षेत्रमा प्रचलित पौराणिक लोकगाथाहरूको अध्ययन स्नातक शोधपत्र ने.स. वि.वि. शारदा विद्यापीठ महेन्द्रनगर कञ्चनपुर ।
दयाकृष्ण  पन्त (२०६७) दार्चुलाको इतिहास महेन्द्रनगर ।
गणेशदत्त  पन्त (२०७४) दार्चुला जिल्लामा प्रचलित पौराणिक लोकगाथाहरूको अध्ययन

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्