साउने संक्रान्ती : देवी–देवता कैलाश जाने, सुदूरपश्चिममा घरको मुलद्वारमा झिभिरकाँडा राख्ने चलन

साउने संक्रान्तीलाई देशभरी फरक फरक किसिमले मनाउने गरिन्छ । शास्त्रमा साउनलाई मासोत्तम मास अर्थात् सबैभन्दा उत्तम महिना भनिएको पाइन्छ । साउनको सुरुको दिन अर्थात् संक्रान्तिलाई विशेष महत्व दिइएको पाइन्छ किनभने यसै दिनदेखि सूर्य दक्षिणायन हुन्छ र दिन छोटा अनि रात लामा हुन थाल्छन् जुन क्रम माघेसंक्रान्तिसम्म रहन्छ । ज्योतिष विज्ञानअनुसार साउन अर्थात् श्रावण महिनाको पूर्णिमाका दिन आकाशमा श्रवण नक्षत्रको योग निर्माण हुन्छ । त्यसैले यो महिनाको नाम श्रावण रहेको हो ।

श्रावण/साउन महिनालाई पवित्र महिनाका रूपमा लिने सनातन परम्परा छ । हरिशयनी अर्थात् आषाढ शुक्ल एकादशीदेखि हरिबोधिनी अर्थात् कार्तिक शुक्ल एकादशीसम्मको चार महिने अवधिलाई चतुर्मास भनिन्छ । चतुर्मासभित्र साउन, भदौ, असोज र कार्तिक महिना पर्छन् । यी महिनाहरू शुभ मानिन्छन् ।

सनातन धर्म मान्नेहरूले यी चार महिनामा दिनको एकपटक मात्र शुद्ध सात्विक भोजन गर्नुपर्ने शास्त्रीय विधान छ । यीमध्ये पनि नेपालमा साउन महिनालाई धार्मिक क्रियाकलापका लागि अत्युत्तम मान्ने परम्परा छ ।

साउने संक्रान्तिका दिनदेखि सूर्य मिथुन राशि छोडेर कर्कट राशिमा प्रवेश गर्छन् । नेपालको केहि क्षेत्रमा संक्रान्तिका दिन लुतो फाल्ने परम्परा छ । तर सुदूरपश्चिम प्रदेशमा यसलाई फरक ढंगले मनाउने गर्दछन् ।

आजका दिनमा देवी–देवता शिव भगवानको बासस्थानको रुपमा मानिने कैलाश जाने भन्ने भनाई रहिआएको छ । मानव जीवनको सुरक्षा गर्ने देवी देवता नै कैलाश जाने भएपछि त्यस अवधिमा राक्षसहरुको मनपरी हुने भएकाले यस अवधिमा मानव जीवन असुरक्षित हुने भन्ने भनाई छ । यो महिनामा रक्षकको रुपमा चिनिे देवीदेवता नै कैलाश जाने भएपछि यो महिना अध्यारो अन्धकार हुने गरेको बुढापाखाहरुको भनाई छ । त्यसैले यो महिनालाई कालो महिनाको रुपमा चिनिन्छ ।
आजका दिन सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा घरको मुलद्वार तथा ढोकामा काँडा भएको वनस्पती अर्थात स्थानीय भाषामा झिभिरकाँडी राख्ने गरिन्छ । उक्त काँडेदार बनस्पती राखेपछि राक्षस तथा भूतप्रेत घर प्रवेश नगरर्ने र मानिस सुरक्षित रहने विश्वास रहि आएको छ ।

साउन १ गते कैलाश गएका देवी–देवताहरु भाद्र १ गते फर्किन्छन् भन्ने चलन रहि आएको छ । भाद्र १ गतेका दिन देवी–देवता र राक्षसबीचको हारजित कसको भयो नजिका सुनाईन्छ । भाद्र १ गते धामी झांक्रीहरुले कैलाशको यात्रा, राक्षस संगको प्रतिष्पर्धा के कस्तो भयो लगायतका १ महिने कैलाशको बसाईका बारेमा भलाकुसारी गर्ने गरेका छन् ।

कैलाशमा देवी देवता र राक्षसहरुले पासा अर्थात् जुवा खेल्ने गरेको जन विश्वास छ । साउन महिनामा कैलाशमा गएर देवी देवता एकातिर र अर्काेतिर राक्षसको समूहबीच पासा खेलमा प्रतिष्पर्धा हुने गरेको बुढापाकाहरुको भनाई छ । देवी देवताको विजय भएका मानव बस्तीहरुमा बाढी पहिरो, आतंक, महामारी जस्ता प्रकोपहरु कम हुने र राक्षसको विजय भएमा मानवी बस्ती तथा प्रकृतिमा विभिन्न खालका समस्याहरु, बाढी पहिरोका घट्नाहरु धेरै हुन्छ भन्न जनविश्वास रहीआएको छ ।

श्रावण महिनालाई यसरी लिने गरिन्छ

खानपानमा होस् वा पहिरनमा, साउन महिनाले बेग्लै स्वाद र रंग पस्कन्छ । यतिबेला धेरैले माछा–मासु, मदिराजन्य खानपान गर्दैनन् । मन्दिर धाउने, पूजाआजा गर्ने, गेरु बस्त्र धारण गर्ने, ‘ओम नमः शिवया’ जप्ने यहि महिनामा हो ।

साउनमा गेरु बस्त्र धारण गरेर ‘बोलबम’ अलाप्दै हिँड्नेहरुको लस्कर देखिन्छ । यसको प्रारम्भ साउनको पहिलो सोमबारबाट हुन्छ । पछिल्लो समय बोलबमको लहड समेत चलेको छ, युवापुस्तामा ।

बोलबमको असली अर्थ हो, शिवको मन्त्र जप्नु । यसरी शिवको मन्त्र उच्चारण गर्नुको पनि फाइदा छ भनिन्छ । जब हामी मन्त्रोच्चारण गर्छौ, त्यसले पैदा गर्ने तरंगले शरीरमा उर्जा मिल्छ ।

बोलबमले सात्विक जीवनशैलीतर्फ डोहो¥याउँछ । बोलबम हिँड्नेले तामासिक जीवनशैली पूर्णत त्याग्नुपर्छ । खानपान र जीवनशैलीदेखि पहिरनसम्ममा सर्तक हुनुपर्छ । सादा एवं सुपाच्य खानेकुरा खानु वा उपवास बस्नुपर्ने चलन छ, बोलबममा । बोलबम हिँड्नुलाई काँवरीया भनिन्छ । उनीहरुले काँधमा बोक्ने बाँसको भाटालाई काँवर भनिन्छ, जसको दुई छेउमा घैला झुन्ड्याएर त्यसमा पानी भरेर नजिकको शिवालयमा पु¥याइन्छ । उक्त पानी शिवलिंगमा चढाइन्छ । त्यससँगै वेलपत्र, कुशको फूल, शमीको पात, नीलकमल तथा धतुराको फूलले पूजा गरिन्छ ।

बोलबम को सांकेतिक अर्थ हो, पानी र सृष्टिको महत्वलाई दर्शाउनु । चराचर जगत पानीमै आश्रित छ । पानीको अभावमा सृष्टि संभव छैन । शिवलिंगलाई सृष्टिको प्रतिक पनि मानिन्छ । के पनि भनिन्छ भने, अविरल पानीको स्रोत भएको स्थानबाट सुख्खा स्थानमा पानीले सिंचित गर्नुपर्ने प्रतिकात्मक सन्देश दिइएको हो यो ।

यसलाई यौनसँग पनि जोडेर व्याख्या गरिएको छ । यसबेला मानिसमा कामवासना बढ्छ । यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने संकेतको रुपमा पनि शिवलिंगमा पानी चढाइएको मानिन्छ । यो भनाईलाई साउनमा महिलाहरुले हातभरी लगाउने चुरा र मेहेन्दीसँग पनि जोडिन्छ । साउन महिनाभर चुरा लगाउनुको कारण पुरुष एवं पतिमा बढ्दो कामवासना नियन्त्रण गर्नु हो भन्ने गरिएको छ ।

तर, धार्मिक कथन अलि फरक छ । धार्मिक कथन अनुसार विषपानका कारण शिव भगवानको कण्ठ नीलो भयो । भगवान शिवले समुन्द्र मन्थन गर्दा निस्किएको कालकुट नामक विषलाई आफ्नो कण्ठमा समाहित गरेर सृष्टिको रक्षा गरेका थिए ।

त्यसरी आफ्नो कण्ठमा समाहित गरेको विषको जलन शान्त पार्नका लागि देवी देवताले उनलाई जल अर्पण गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्