नेपाल टेलिकमको सीडीएमए सेवा बन्द हुने, ग्राहकलाई फोरजीमा रूपान्तरण गर्ने

नेपाल टेलिकमको कोड डिभिजन मल्टिपल एक्सेस (सीडीएमए) सेवा बन्द हुने भएको छ । विश्वव्यापी रूपमै सीडीएमए प्रविधिको विकास रोकिएकाले यसको सेवा बन्द गराउने प्रक्रिया अगाडि बढाइएको टेलिकमले जनाएको छ । करिब १५ वर्ष पुरानो उक्त सेवा बन्द गरेर त्यसका हाल कायम ग्राहकलाई फोरजीमा रूपान्तरण गर्ने कम्पनीले जानकारी दिएको छ ।
बुधबार कम्पनीको१६औँ वार्षिकोत्सवका अवसरमा प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीको वायरलेस सेवामा एकरूपता ल्याउने उद्देश्यसहित यो सेवा बन्द गर्ने तयारी भएको जानकारी दिनुभयो । उहाँका अनुसार आगामी आर्थिक वर्ष्भित्रै सेवा बन्द गरेर त्यसका ग्राहकलाई पछिल्लो पुस्ताको फोरजी ग्राहकका रूपमा रूपान्तरण गरिने छ ।
टेलिकमले सन् २००५ मा पहिलोपटक सीडीएमए सेवाको ‘सफ्ट लन्च’ गरेको थियो । त्यसअघि यो सेवामा नेपालमै पहिलोपटक युनाइटेड टेलिकम (यूटीएल)ले सन् २००२ मा सुरु गरेको थियो । हाल प्रचलनमा रहेको जीएसएम मोबाइल सेवाको पहुँच विस्तार नभएका स्थानमा तत्काल नै सञ्चार सम्पर्क स्थापित गराउन सीडीएमए सेवा त्यतिबेला प्रभावकारी बनेको थियो । सीडीएमका लागि तोकिएको फ्रिक्वेन्सी धेरै भागमा फैलाउन सकिने भएकाले नेपालमा दूरसञ्चार पहुँच विस्तारमा यसको महत्वपूर्ण भूमिका रहेको थियो । दूरसञ्चार प्राधिकरणका अनुसार अहिले नेपाल टेलिकमका करिब १७ लाख सीडीएमए प्रयोगकर्ता छन् । टेलिकमले आठ सय ५० मेगाहर्ज ब्यान्डमा छ मेगाहर्ज (सेयर्ड) फ्रिक्वेन्सीमार्फत सीडीएमए सेवा उपलब्ध गराइरहेको छ । पछिल्लो समय जीएसएम प्रविधिको देशका अधिकांश ठाउँमा पहुँच पुगिसकेकाले सीडीएमएका लागि प्रयोग भएको फ्रिक्वेन्सीसमेत बचत हुने अधिकारीले बताउनुभयो । प्रविधिगत रूपमा विश्वव्यापीस्तरमै सीडीएमए सेवाको विकास क्रम रोकिएकाले नियामक समेतको सहकार्यमा यो सेवालाई रूपान्तरणसहित बन्द गर्ने कार्यक्रम कम्पनीले ल्याएको हो, उहाँले भन्नुभयो ।
टेलिकमले वार्षिकोत्सवका अवसरमा देशका सबै जिल्लाका सदरमुकाममा फोरजी सेवा पुगेको घोषणा पनि गरेको छ । देशैभर एफटीटीएच सेवा विस्तार गर्ने र त्यसैमार्फत इन्टरनेटमा आधारित टेलिभिजन सेवा पनि उपलब्ध गराउनेतर्फ काम भइरहेको टेलिकमले जनाएको छ । विगत एक वर्षमा मात्रै कम्पनीका सक्रिय ग्राहक सङ्ख्या करिब १० लाखले बढेको र बजार हिस्सा समग्रमा ५५ प्रतिशतभन्दा माथि रहेको कम्पनीले जनाएको छ । कात्तिक महिनासम्मको तथ्याङ्कअनुसार कम्पनीका कुल ग्राहक दुई करोड ३६ लाख पुगेका छन् ।
त्यस्तै कम्पनीको डेटा प्रयोगकर्ता सो महिनासम्म एक करोड ४६ लाख रहेको पनि टेलिकमले जनाएको छ । वार्षिकोत्सवका अवसरमा केरुङ नाकातर्फ सञ्चालित टेलिकमको लिङ्कलाई तातोपानी नाकामा पनि पुनः सञ्चालन गर्ने, कम्पनीको प्रशासनिक संरचनालाई सङ्घीय स्वरूपमा लैजानेजस्ता काम अगाडि बढिरहेको पनि जानकारी दिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्