पार्टीको निर्देशन, उपसभामुखको अडान र सभामुखको उम्मेदवार चयन नभएको त्रिपक्षीय चपेटामा संसद्

उपसभामुखले राजीनामा नदिने अडान कायमै राखेपछि प्रतिनिधि सभा बैठकको कारबाही अघि बढ्न सकेन । जसका कारण सभामुख चयन प्रक्रिया थप पेचिलो बनेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवारी टुङ्ग्याउन नसक्दा सदनको कारबाही रोकिएको छ । दुई अध्यक्षबीच उम्मेदवार कसलाई बनाउने पटक–पटक छलफल भए पनि परिणाम निस्कन सकेको छैन । आइतबार बिहान पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भए पनि निर्णय हुन सकेन ।
शनिबार सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन निर्देशन दिएको थियो तर तुम्बाहाङ्फेले सभामुखको उम्मेदवार तय नभएसम्म राजीनामा नदिने अडान लिएपछि दुई अध्यक्षले निर्णयबारे जानकारी दिन पुनः आइतबार बिहान उहाँलाई बैठकमा बोलाउनुभएको थियो । पार्टीको निर्देशन, उपसभामुखको अडान र सभामुखको उम्मेदवार चयन नभएको त्रिपक्षीय चपेटामा संसद् परेको छ ।
सभामुख चयनको प्रक्रिया अघि बढ्न नसक्दा प्रतिनिधि सभा आइतबार पनि सूचना टाँसेर स्थगित गरिएको छ । हिउँदे अधिवेशनको पहिलो बैठक प्रारम्भ भएपछि त्यसयता कुनै पनि बैठक बस्न सकेको छैन । हिउँदे अधिवेशनको एक महिना सदन कुनै पनि कार्यसूचीबिना नै स्थगित हुने निश्चित भइसकेको छ । अधिवेशन प्रारम्भ भएको माघ ४ गते एक महिना पुग्दै छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्