महेन्द्रनगर – जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले यहाँका स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको छ । सरकारले आगामी वैशाख महिनामा दुई चरणमा आम निर्वाचन घोषणा गरेसँगै यहाँको निर्वाचन कार्यालयले मतदाता नामावलीमा रहेको नाम, विवरणमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउन निवेदन दिन तथा मृत्यु भएका र नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन लागेको हो ।
आगामी बुधबारसम्म नौवटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्ने कार्य सञ्चालन गरेको निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीले जानकारी दिनुभयो । उहाँले झुठो विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिन सकिने व्यवस्थासमेत गरिएको बताउनुभयो ।
“नामावलीमा रहेको आफ्नो नाम वा विवरणमा त्रुटि भए सच्याउन, नाम दोहोरो परेको भए हटाउन, मृत्यु भएका, नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन सूचना दिन र कसैले झुटो विवरण दिइ मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिनुहुन सूचना जारी गरिएको छ”, उहाँले भन्नुभयो, “थप कार्यक्रम छलफल गरी अघि बढाइन छ ।”
तीन वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा दुई लाख ७७ हजार ५९ मतदाता छन् । एक सय ३२ मतदानस्थल रहेको जिल्लामा ३३० मतदान केन्द्र छन् । उहाँका अनुसार यहाँका नौवटै पालिकाको केन्द्रमा सहायक नाम दर्ता अधिकारी खटाएर अद्यावधिक थालिएको जानकारी दिनुभयो ।
“दोधारा–चाँदनीमा रहेको माहामाया माविमा रहेको मतदान केन्द्रलाई भानु बहुमुखी क्याम्पसमा पुनर्वलोकन गर्न हामीले आयोगलाई सिफारिस गरेका छौँ”, उहाँले भन्नुभयो, “सिफारिस यहाँबाट गरे पनि निर्णय आयोगले गर्छ ।” रासस