गुफाले खोलेका गुम्फनहरू

दामोदर पुडासैनी किशोर

हामी र हामीले भेटेको संसार, सबै रहेछन् गुफाकै उपज । एउटा विशाल गुफामा अल्झिरहेछ यो सारा ब्रह्माण्ड ।
रहस्य हो गुफा । रङ हो गुफा । अँध्याराको आधिक्य र वैविध्यको साम्राज्य हो गुफा । अमूर्त कलाको अपरिमितता हो गुफा, वैचित्र्यताको अनन्तता हो गुफा ।
मान्छे उचाइमा पुगेँ भन्ने ठान्छ, अलमलिइरहन्छ गुफातिर । सिर्जना गरेँ भन्ने ठान्छ । खन्छ केवल गुफाभित्र अनेकौँ चित्रहरू ।
गुफाबाट सुरु हुन्छ संसार । गुफाले नै फेरिरहन्छ अनेकौँ रूप । समय भन्नु गुफाभित्र अनुहार फेरिरहेका धर्सा, रेखा र उज्यालाको समागम मात्र रहेछ ।
गुफा नै गुफाको राजधानी– मुस्ताङ र उपल्लो मुस्ताङतिर हिँडिरहेछौँ हामी । जोमसोमदेखि नै भेटिन थाल्छन् असङ्ख्य गुफाहरू । बलौटे र ढुङ्ग्याने अग्ला पहाडहरू छन् । पहाडका डिलमा, खोंचमा, भिरमा— जतासुकै खोपिएका छन् किसिम किसिमका प्राकृतिक र कृत्रिम गुफाहरू । शरीरमा चम्केका आँखा जस्ता, अग्ला घरमा खुलेका झ्याल जस्ता, धुरीखाँबामा झुन्ड्याइएका गञ्जकका प्वालजस्ता— आकर्षक देखिन्छन् गुफाहरू ।

‘गुफादेखि गुफासम्म मात्र हो मान्छेको जीवन’— मुस्ताङे गुफाहरूले ज्ञान सम्झाउँछन् मलाई । एउटा उत्सुकता, एउटा रहस्य, एउटा सपना र एउटा संभावनामा गुटुमुटु पारेर गुफाभित्रै हुर्काउनुभयो आमाले मलाई । आमाको कोखबाट ओर्लनु अझ ठुलो गुफामा प्रवेश गर्नुरहेछ । दुखाइ, हेपाइ, चेपाइ, लुटाइ सबै सहेर आशा र उज्यालाको पिलपिले बत्ती बालेर कुना कुना चहारिरहनुपर्ने रहेछ सांसारिक गुफामा । सधैँ खुसीको खोजीमा हिँडिरहनुपर्ने तर सधैँ दुःखका पहाडहरू, अप्ठ्याराका अङ्कुसेहरू, कर्कसे काँडाहरूले कोपरिरहने रहेछन् जीवनको गुफामा ।

उकालो पनि छ, ओरालो पनि छ, खोपिल्टो पनि छ, उडिल्लो पनि छ, पानी पनि छ, शुष्क पनि छ— त्यसैले पो छ गुफा अरूभन्दा रहस्यपूर्ण र अरूभन्दा उपलब्धिमूलक । जीवन भन्नु पनि त यस्तै गुफा नै त रहेछ, सबै कुरा भएर पनि केही नभए जस्तो । जन्मदेखि मृत्युसम्म केही नभएर पनि सबै भएजस्तो ।
छुकसाङवरिपरि घुम्दा प्रशस्त भेटिए गुफाहरू । तल कालीगण्डकी बगिरहेछ । कालीगण्डकीलाई नै कुल्चेर ठिङ्ग उभिएका छन् गहुँगोरा पहाडहरू । पहाडभरि प्रकृतिनिर्मित असङ्ख्य शिलाफुलहरू छन्, मेघशिलाहरू छन् र छन् असङ्ख्य आकृतिको संसार । तिनै आकृतिहरूका बिचमा एक्काइस गुफाका प्वालहरू देखिए ।
मैले छाक्पा छोम्जुङ दिदीसँग सोधेँ ती गुफाहरूको बारेमा ।
‘जङ्गली युगबाट घर निर्माणको अवधारणा दिमागमा प्रवेश गर्दाखेरिको सुरुवाती हो गुफा निर्माण’— आमा समूहमा सक्रिय छाक्पा छोम्जुङ दिदीले अथ्र्याउनुभयो गुफालाई ।

गुफाका बाहिरी भित्ताहरूलाई रातो माटाले पोतिएको छ र कतै कतै लुङ्दरहरू गाडिएको देखिन्छ । घरको गारोजस्तो ठाडो भिरमा बनाइएका ती गुफाहरूमा जान भिरमा स्यानो रेखात्मक गोरेटो देखिन्छ, कतै कतै ।
कयौँ गुफाहरूमा अहिले बौद्ध लामाहरू र बोन्पा लामाहरू तपस्या गरिरहेछन् भन्ने थाहा पाइयो छोम्जुङ दिदीबाट । त्यस्तो कठिन भिरमा बनाइएका गुफाहरूमा न खानपानको व्यवस्था छ, न समाजसँग सहजै सम्पर्क, तैपनि लामाहरू र भिक्षुहरू ध्यानमग्न छन् भन्दा आश्चर्य लाग्यो मलाई । ध्यान एक किसिमको अचेत अवस्था हो । निकास र नवसिर्जना होइन । एकान्त गुफामा लठ्ठ परेर बसिरहनाले समाजमा के परिवर्तन आउँछ, सोचनीय छ त्यो । समाजका सबै मान्छेहरू ध्यान भनेर निस्क्रिय जीवन जिउन थाले भने एउटा बृहत् गुफाको रूपमा अवस्थित संसारको के हविगत हुने होला ।

प्राणी हुनु तर क्रियाशीलता नहुनु गुफा नै हुनु हो पहाडी काखका । चलमल नहुने हो भने गुफामा, ठुला प्वाल धारण गरेर ट्वाँ पर्नुबाहेक के अस्तित्व हुन्छ र गुफाको ।
गुफा कल्पनाशीलता हो, सिर्जना हो र क्रिया र प्रतिक्रियाको नवीन आकार हो । त्यसै भएर गुफासँग रमाउँछु म । मेरो प्रेमले सधैँ गुफाको गन्तव्य खोज्छ । तिम्रो र मेरो प्रेम जब जब परिपक्व बन्दै जान्छ हरेक क्षण र हरेक क्षण फैलन थाल्छ आकर्षण, उन्माद, उत्सुकता र निकासको एउटा रोमाञ्चक कोसे गुफा, त्यतिखेर पस्छु म गुफाभित्र । खोतल्छु म, तृष्णाका अजस्र जरुवाहरू, खोतल्छु म अमिट चरमानन्द र बिर्सन बाध्य बन्छु म, संसारका सारा अप्ठेरा र असजिलाहरू । प्रेमिल गुफामा पसेको बेला अरूले त के कुरा, बिस्तारै बिर्सन्छु म आफैँलाई र बिस्तारै बिर्सन्छु तिमीलाई । एउटै गुफामा एकाकार भएर दुवैले दुवैलाई भुल्दै दुवैको एकै रूप र एकै अवस्था देख्न सकियो भने मात्र सार्थक बन्दोरहेछ प्रेम । मलाई लाग्छ मान्छेले हरेक राम्रा कामको सुरुवात केही अँध्यारो, केही छेकारो र केही गहिराइबाट गरेको छ । गुफामा भेट्छु म त्यो सबै । तिम्रो अनुहार त एउटा अमूर्त चित्रयुक्त गुफा नै त हो जहाँ मलाई पाएकामा एउटा आदिम रोशनी र म हराउँछु कि भन्ने अशङ्काको केही पसर कालो मेघ हुँडलिरहेको देख्छु म ।

छुक्साङदेखि लोमन्थाङसम्म पहाड नै पहाडको काखमा लुटपुटिँदै हिँडियो । जति पहाडहरू आँखाको अघिल्तिर आए तिनमा कतै न कतै खोपिएका भेटिए प्राकृतिक र कृत्रिम भूमिगत ओडारहरू ।
‘हामी निश्चय नै खुसीको क्षणमा छौँ, किनकि हामी यति धेरै गुफाहरू हेर्दै गुफाको राजधानीमा यात्रा गर्न पाएका छौँ’— सहयात्री मित्रहरूलाई बताएथेँ मैले । मित्रहरू पनि निकै उत्सुक हुनुहुन्थ्यो गुफाहरूसँग नजिकिन । कालीगण्डकी किनारमा पर्खाल बनेर उभिएका पहाडहरूमा निर्मित गुफाहरूमा पुग्न डोरी, किला, विशेष प्रकारको जुत्ता सबै चाहिन्छ, नत्र भिरबाट गुल्टेको भोगटे बन्न बेर लाग्दैन । त्यसैले बाटाभरि गुफाका बारेमा बुझ्ने कोसिस ग¥यौँ, तर पसेनौँ कतै ।
जमिनको रासायनिक प्रक्रियामा परिवर्तन हुँदा, हावा, पानी र हिउँको प्रभावले भूक्षय हुँदा र जमिनमा रहेका लाइमस्टोन, चक, डोलोमाइट, मार्बल, नुन, जिप्सन जस्ता खनिज तत्त्वहरू खिँइदै बाहिरिँदा ओडारको रूप लिन्छ । यो भौगर्भिक कारण हो तर कतिपय धर्मभिरुहरू गुफालाई धर्म र देवतासँग जोडिदिन्छन् र गुफाको रहस्यपूर्ण प्राकृतिक खोजकार्यलाई नै अन्त्य गरिदिन्छन् । यो दुःखको कुरा हो ।

म सानो छँदा हाम्रो परिवार जितपुरफेदीको गहिरी गाउँमा बस्थ्यो । हाम्रा हजुरबुबा हजुरआमा पाँच मानेमा बस्नुहुन्थ्यो । हजुरबुबा हजुरआमालाई भेट्न गहिरी गाउँबाट उकालो चढेर जानुपथ्र्यो र बिचमा नाघ्नुपथ्र्यो पाँचमाने भञ्ज्याङ । हो, त्यही भञ्ज्याङको ढुङ्ग्याने भित्तामा एउटा ओडार भेटेथेँ । त्यो ओडारमा हामी लुकामारी पनि खेल्थ्यौँ । कहिलेकहीँ कसैले ससानो पसल राख्थ्यो त्यहाँ, कहिले बटुवाहरू बास बसेको देखिन्थ्यो । त्यो ओडार मेरा पिताजी हरिप्रसाद र उहाँका अभिन्न मित्र बलराम सिग्देलले कप्नुभएको कुरा मैले पिताजीबाट नै थाहा पाएको थिएँ । विक्रम सम्वत् २०६८ को जनै पूर्णिमामा तारकेश्वरको मेलामा जाँदा बाटामा त्यही ओडार र पाँचमाने हेर्न केही विदेशी पर्यटक झुमिरहेको देखेँ । नेपाली पथ प्रदर्शकले तिनीहरूलाई बताउँदै थिएँ— पार्वतीले अग्निकुण्डमा हामफालेर आत्महत्या गरेपछि पीडा खप्न नसकेर महादेव पाँचमाने भञ्ज्याङ पुगी त्यो ओडार खनेर बसे । पछि तारकेश्वर पुग्दा सतीदेवी पार्वतीको दाहिने तिघ्रा पतन भयो ।’ हरेक प्राकृतिक र वैज्ञानिक कुराहरूमा धार्मिक कथा जोडिदिन सिपालु छन् नेपालीहरू मैले गलत सूचना दिएकामा पथ प्रदर्शकलाई हकारेँ र सच्याउन भनेँ ।

प्राकृतिक घटना र मानवीय सिर्जनाहरूलाई धार्मिक मिथक बनाइदिन खोज्दा वास्तविकता बिरानिएको छ जतासुकै । तारकेश्वरमा रहेको साँघुरो ढुङ्ग्याने गुफामा पनि एकातिरबाट छिरेर अर्कोतिर निस्कन सक्ने मात्र धर्मात्मा भन्ने भ्रम बाँडिदिँदा कयौँलाई सर्पले डसेको, कयौँलाई घाउचोट लागेका घटनाहरू ताजै छन् अझै ।
माथिल्लो मुस्ताङको मुख्य प्रवेशद्वार मानिने चैलेमा वास बस्दा भेटिएका थिए फ्रान्सका डिमित्री पायेर । उनी निषेधित राजधानी माथिल्लो मुस्ताङका गुफाहरूको बारेमा अध्ययन गर्दै रहेछन् । गुफाबारे कुराकानी गर्दा धेरै नौला कुरा उद्घोष गरेथे उनले ।

‘गुफा त संसारभरि छन् तर माथिल्लो मुस्ताङका गुफाहरू अलि बेग्लै छन् । यिनीहरू भौगोलिक खाल्टाहरू मात्र होइनन् सांस्कृतिक साक्षी हुन् । उपल्लो मुस्ताङको एउटा गुफाको मात्र पनि राम्रोसँग अध्ययन गर्ने हो भने धेरै कुरा खुलस्त हुन्छन् मानव सभ्यताका । हिमाली सभ्यताका कुरा बुझ्नका लागि त यी गुफाहरू महत्त्वपूर्ण तस्बिर वा पुस्तक जस्तै हुन् ।’ असाध्यै उत्साहित थिए डिमित्री । ‘संसारकै सबैभन्दा पुरानो हिमक्षेत्रको मानव अवशेष यही क्षेत्रमा त भेटिएको हो नि केही वर्षअघि ।’ थपे उनले, ‘मुस्ताङ, नुनको अपार भण्डार भएको क्षेत्र हो । नुनका विशाल ढिक्काहरू पग्लदै गएपछि कालान्तरमा गुफाको रूप धारण गरे कति कतिले’ — त्यो भौगर्भिक कारणलाई स्वीका¥यौँ हामीले ।

मानव गतिको मापक हुन् गुफाहरू । हिउँ, घाम, बतास, पानी र चिसो पनि चाहिन्छ मान्छेलाई तर अतिले खति पु¥याउँछ भने झैँ तिनीहरूबाटै बच्न चाहियो मान्छेलाई खोपा, ओडार र घरहरू । एक लाख वर्षअघिसम्म घर बनाउनाको सट्टा, बस्यो मान्छे त्यस्तै गुफाहरूमा । अचेलको घर पनि त्यही गुफाको विकसित रूप त हो नि । मान्छे आखिर सानो गुफाबाट ठुलो गुफामा पदार्पण गरिरहेछ र ठानिरहेछ उन्नतिको शिखरमा चढिरहेछ ऊ ।
गुफाका भित्ताहरूमा प्राचीनकालमै कोरिएका असङ्ख्य चित्रहरूले मानव चिन्तन उजागर गर्दछन् । खोटाङको माराटिका गुफा, खोटाङकै हलेसी गुफा र पर्वतको गुप्तेश्वर गुफाको भ्रमण क्रममा त्यो अनुभव गरेथेँ मैले । मध्ययुगमा मान्छे गुफामा मात्र बसेन । उसले आपूmले जाने बुझेका घोडा, भेडा, बाख्रा, चराचुरुङ्गीहरूको चित्र बनायो । आपूmलाई मन परेको मान्छेको स्वरूप कुँद्यो । आफ्नो भाषाको लिपि को¥यो । भावनालाई गीत, कविता र कथनी बनाएर गुफेभित्तामा अङ्कित ग¥यो । गुफाका अनेकौँ प्वालहरूबाट हावाका झोक्काहरू बाहिर भित्र गर्दा एवं मानव र पशुहरूका आवाजहरू गुफाहरूमा प्रतिध्वनित हुँदा गुफा सङ्गीतको विकास ग¥यो मान्छेले ।

गुफावास मात्र होइन गुफा साहित्य, गुफाचित्र र गुफा सङ्गीतको माध्यम अपनाएर यहाँसम्म आइपुग्यो मान्छे ।
चैलेमा रात बिताउँदा जूनको रोशनीमा मेरी मायालु नीलगिरिका मधुर मुस्कान र उत्तेजित स्पर्श मात्र चाखिनँ मैले । सधैँ अर्धमूदित देखिने गुफाभित्रका सुन्दर आँखाहरू, छुक्साङ गुफाको सुन्दर घेराजस्तो अर्धचन्द्राकार ओठहरूबाट निस्किरहेको मायाको मादकता र सधैँ नौलो प्रेमको अध्याय बर्सिरहने मायालु मन अडिएको प्रेमिल गुफालाई हेरिरहँदा ताजा ताजा बनिरह्यो अन्धकार गुफा बोकिरहेको रात ।

चराहरू सुतिसकेका थिए मध्यरातमा । बादललाई गुटुमुटु पारेर कुनै कुनामा धन्क्याइसकेको थियो बैँसालु रातले । समयको मादक स्पर्श बोकेर गुफाका तृषित ओठहरूमा चुम्दै गाइरह्यो इन्द्रेणी बतासले । हावा स्पर्शित गुफाबाट निस्किएको मुच्र्छनाले ब्युँझाइरह्यो नाङ्गा पहाडका शृङ्खलाहरूलाई । गुफा सङ्गीतमा लहरिइरहेको हाम्रो त्यो स्वर्णीम प्रेम कहानीलाई स्मृतिको अन्वितिमा बाध्यौँ हामी दुवैले हिमछायाको लजालु शून्यतामा ।
मेरी ‘नीलगिरि !’ गुफाको सङ्गीतमा प्रेमिल इन्द्रेणीका केस्रा केस्रा कोट्याउँदै प्रेमको बोधिसत्व छेउमा पुगेँ म कयौँ पटक ।
चैले, समर, ढाङमर बस्तीहरू नाघेर तिब्बती पठारहरूतिर केन्द्रित हुँदा पनि गुफाहरूले छोडेनन् हामीलाई ।

सेता दर्शन ढुङ्गा र सेतो बालुवाले बनेका स्फटिक जस्ता पहाडहरूको माझमा अघि बढिरहेछौँ हामी । बस्तीवरिपरि भर्खर भुँइपात छोडेका अन्न बिरुवाहरूले छरिरहेछन् कलिलो हरियाली । हाम्रै सामुन्ने पहाडको दुलोबाट बिस्तारै निस्केको देखिन्छ कालाम्य लहर । बिस्तारै मोडिएर उकालो लाग्दै छरिन्छ त्यो कालो नदी । सिनो छोडेर भागेका काला चरीकमिलाका जत्था छरिवरि भए झैँ देखिन्छ दूरताको दृश्य । बिस्तारै नजिकिदै गयौँ हामी त्यतातिर । त्यो त चराङ नजिकको चराङ गुफा पो रहेछ । काला खच्चड, काला चौँरीगाईहरू, काला घोडाहरू चराङ गुफा छोडेर निस्किएका रहेछन् चरनतिर ।
‘दिदी एउटा कुरा सोध्न मिल्छ ?’ चौँरी धपाउँदै गाउँतिर झरिरहेकी दिदी झस्किनुभयो हाम्रो आवाजले ।
‘दस ओटा सोधे पनि सोध् न । मुन्छे भेटेपछि केही सोध्नै नमिल्ने भए केलाई भेट्ने, कि बास माग्न आँट्यो तिम्हेरूले मसँग’ कालो कपालमा लठारिएको कालै लाछी धागो सम्हाल्दै बोल्नुभएथ्यो दिदी । याङ्चेन डोल्कर लोवा रहेछ दिदीको नाम ।

‘आफैँ बनेको हो कि, मान्छेले बनाएको हो त्यो गुफा ?’ गाईबस्तु निस्केको गुफा देखायौँ हामीले ।
‘त्यो चराङ गुफा हो । आफैँ बनेको स्यानो गुफा थियो पहिले । खम्पाहरू नेपालसँग लड्न आउँदा त्यही गुफामा लुक्थ्यो । उनीहरूको घोडालाई ख्वाउन घाँस रोपेको थियो यतातिर । गुफा त अरू पनि धेरै छन् यतातिर । हिउँदभरि हिउँले ढाकेका बेलामा कुनै गुफामा झुमा झोपा, घोडा, खच्चर राखिन्छ, कुनैमा मान्छे नै बस्छ, अलिमाथिको गुफामा त बौद्ध भिक्षु पूजा पाठ गरेर बस्छ । घारभन्दा धेरै गुफा छ हो, यतातिर । जन्मदा पनि चाहिने गुफा, मर्दा पनि चाहिने गुफा नै हो, त्यसैले हेला गर्न भएन नि गुफालाई ।’ बाटा छेउको कालो ढुङ्गामा अडेस लागेर हाँस्नुभयो याङ्चेन दिदी । उहाँका चौरीहरूले बिस्तारै टोक्न थाले काँडालु झार ।
युद्धको समयमा राम्रैसँग प्रयोग भएका रहेछन् गुफाहरू ।

बच्चा जन्मेपछि सकेसम्म ठुलो घरमा बस्न पाओस् भन्ने कामनाका साथ नाइटोको चुँडिएको भागलाई ठूलो गुफाभित्र गाड्ने चलन रहेछ त्यतातिर । चराङ गुफाको बाहिरपट्टि ठुला ठुला गोला ढुङ्गाहरू राखिएको देखियो । त्यसअघि देखिएका गुफाअघिल्तिर पनि पाँच गोला ढुङ्गाहरू राखेको देखेका थियौँ हामीले ।
‘गुफाबाहिर ती ढुङ्गाहरू चाहिँ किन राखेको नि’ दिदी ?’ उत्सुकता हाम्रो ।
‘मुन्छे काट्न क्या’— सिधा जवाफ आयो दिदीबाट ।
‘आबुई मान्छे काट्ने त्यो ढुङ्गामा ?’ हामी एकै पटक चिच्यायौँ ।
‘होइन, होइन, जिउँदो मुन्छे होइन, मरेको मुन्छे काट्ने क्या । हाम्रोमा मुन्छे मरेपछि त्यसलाई गाड्ने हो कि, टुक्रा टुक्रा पारेर गिद्धलाई खुवाउने हो कि, टुक्रा टुक्रा पारेर आकाशलाई चढाउने हो कि— त्यो सबै लामाले साइत हेरेर भन्छ । लामाले गाड्ने भन्यो भने गुफाभित्रै गाडिन्छ । टुक्रा टुक्रा पारेर आकाशलाई दिने भन्यो भने त्यही ढुङ्गामाथि लास राखेर टुक्रयाइन्छ र आकाशतिर फालिन्छ ।’ गुफा त साँच्चिकै जन्म मृत्युको सहारा रहेछ भन्ने थाहा भयो दिदीबाट ।

हिमाली भेगमा बौद्ध धर्म फैलिनुअघि लास काटेर आकाशमा फालिने चलन रहेछ । अझै पनि त्यो रोकिएको छैन । तिनदेखि आठ शताब्दीसम्मका कयौँ मानव अस्थिपञ्जरहरू तिनीहरूले जिउँदोमा प्रयोग गर्ने खाट, गहना र कपडाहरू मुस्ताङे गुफाहरूबाट भेटिएकाले पनि त्योभन्दा अगावै हिमाली क्षेत्र मानव बसोवासका लागि आकर्षक स्थल रहेको बुझियो । हिमाली क्षेत्रहरूमा लास जलाउन काठको अभाव हुने र गाड्दा अत्यधिक चिसोका कारण सजिलै लास नसड्ने भएकाले पनि लासलाई टुक्रा टुक्रा पारी आकाशतिर फाल्ने चलन चलाइएको हुनुपर्छ ।
‘फर्केर आउँदा गुफामा बसौँला, खाऔँला, नाचौँला है दिदी’— बिदा हुँदा भनेथेँ मैले ।
‘त्यो गुफामा किन नि’ यो गुफामा बसौँला, सँगै खाउँला, सँगै सुतुँला, कि डर लाग्छ हामीसँग बस्न ?’ याङ्चेन दिदीलाई होइन, मलाई शर्म लाग्यो । मेरो ध्यान उनैतिर देखेर फुल झैँ मुस्कुराइरहिन् मेरी चराङ ।

घम्पु गुफा र ढुम्बा गुफाहरू पनि पार भएथे हाम्रो यात्रा क्रममा । दस हजारभन्दा बढी गुफाहरू भएको मुस्ताङ क्षेत्रमा पन्ध्र बिस गुफा पार गर्नु कुन आश्चर्य भयो र ? हामी लोमन्थाङतिर लाग्दा बाटामा भेटिएका कयौँ गुफाहरूबाट चराचुरुङ्गीहरू भित्रबाहिर गरिरहेको दृश्य साह्रै आकर्षक लाग्दथ्यो ।
साँझ आङ्गेन र पासाङ दाइहरूसँग पनि गुफाकै बारेमा चर्चा भयो लोमन्थाङमा । प्रकृतिले मान्छे र जनावरहरूलाई हिमाली भेगमा जन्म मात्र दिएन सुविस्तासाथ बस्न गुफाहरू पनि दियो । गुफा हाम्री आमा हुन्, गुफा हाम्री साहस हुन्, गुफा देखेर त मान्छेले झोला बनायो, खल्ती बनायो र वर्तमानमा मात्र होइन भविष्यमा पनि बाँच्ने आधार पायो— आङ्गेन दाइले दिनुभएथ्यो गुफा दर्शन । सुरक्षा र संरक्षणको प्रमुख बिन्दु हो गुफा ।
‘यहाँबाट दुई घण्टा पैदल हिँड्यो भने भेटिन्छ छोसेर गुम्बा, झोङ गुम्बा र निफु गुम्बा । यिनै गुम्बाहरू हेर्न भनेर स्पेन र ब्राजिलदेखि आएका हुन् यी दुई समूह’— मिस्टिक होटलकै विदेशी पाहुनासँग भेटाउनु भएथ्यो पासाङ दाइले ।

निफु गुफामा मान्छेको बसोवास रहेछ । प्रकृतिले नै बनाइदिएको गुफाभित्र बस्न पाउनु कति ठुलो खुसीको कुरा । परिवार परिवार बस्ने स्यानु गाउँ नै रहेछ निफु गुफा । झोङ गुफा आफैँमा एउटा आदिम बस्ती रहेछ । पाँच तले र पचासभन्दा बढी कोठाहरू रहेछन् झोङ गुफामा । पच्चिस सय वर्ष अघिदेखि झोङ गुफामा मान्छेहरू रमाएर बस्नु आफैँमा चाखलाग्दो विषय पनि हो । झोङ गुफा ठाडो भिरमा रहेको, सानो गोरेटो चढेर गुफाको मुखबाट ढोका खोलेर भित्र बाहिर गर्ने र लिस्नो चढेर तला तला चाहार्ने प्रणाली अझ रोचक देखिन्छ । हामीले ती गुफाहरूमा भोलिपल्ट जाने योजना त बनायौँ भोलिपल्ट बिहानै निफु गुम्बामा बस्ने मान्छेहरू बिच कुटाकुट चलेको छ भन्ने खबर पाएपछि गुफाहरू भित्र छिर्ने योजना सीमित रह्यो सपनामा मात्रै ।
एउटा आदिम युगलाई अझै बचाइरहेछन् गुफाहरूले ।
लोमन्थाङ, मुस्ताङ
२०७१ असार १७ गते, मंगलबार

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्