प्रदेश ३ काे प्रदेश स्थायी राजधानी बहस, हेटौँडा र काभ्रेको चर्चा

प्रदेश ३ का प्रदेश स्थायी राजधानीको बारेमा प्रदेश सभाका सदस्यहरु विभाजित भएका छन् । प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिको प्रतिवेदनमाथिको छलफलमा बिहीबार बोल्दै प्रदेश सभाको सदस्यहरुले प्रदेश राजधानीका बारेमा फरक–फरक धारणा व्यक्त गर्नुभएको हो । समितिको प्रतिवेदनमाथिको बुधबारबाट भएको छलफलमा प्रदेशको स्थायी राजधानीको बारेमा हेटौँडा र काभ्रेको बारेमा चर्चा भइरहेको छ ।प्रदेश सभाको वैठकमा बोल्ने अधिकांश प्रदेश सभामा सदस्यहरुले हेटौँडा र काभ्रे हुनुपर्ने भन्दै आ–आफ्नो जिकिर गर्दै बोल्नुभएको थियो । प्रदेश सभाका सदस्यहरुले दलगत र क्षेत्रगत स्वार्थभन्दा माथि उठेर राजधानी तोक्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रदेश सभा सदस्यका कतिपय सदस्यहरुले आफ्नो जिल्ला र आफूलाई पायक पर्ने क्षेत्रलाई प्रदेश राजधानी तोक्नुपर्ने माग गर्नुभएको थियो । प्रदेश सभाको वैठकमा बोल्दै प्रदेश सभाका सदस्य राजेन्द्र पाण्डेले भौगोलिक र प्रशासनिक सुगमताका दृष्टिले काभ्रे राजधानीका लागि उपयुक्त हुने बताउनुभयो । उहाँले हिउँदे अधिवेशन हेटौँडा र वर्षे अधिवेशन काभ्रेमा हुने गरी राजधानी तोक्न सकिने बताउँदै अपायक स्थानमा राजधानी तोक्दा नेता र दललाई जनताले कार्वाही गर्ने बताउनुभयो ।

प्रदेश सभाका सदस्य प्रेमबहादुर पुलामीले पहिचानलाई नविगारिकन हेटौँडालाई प्रदेशको राजधानी बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।यस्तै प्रदेश सभाका सदस्य रीना गुरुङले सबै काम स्थानीय तहबाट हुने भएकोले प्रदेशको राजधानी मकवानपुरलाई बनाउनुपर्ने र स्थानीय तहलाई अझ अधिकार सम्पन्न बनाइनु पर्छ भन्नुभयो । प्रदेश सभाका सदस्य जीवन डङ्गोलले फरक–फरक स्थानमा राजधानी राख्ने प्रचलन रहेको भन्दै घुम्ती राजधानीको अवधारणमा प्रदेशको राजधानी तोक्न सकिन्छ भन्नुभयो । प्रदेश सभाका सदस्य रमेश पौडेलले प्रदेशको राजधानी काभ्रे र नाम बागमती हुनुपर्ने भन्दै सामाजिक न्याय र जनताको पहुँचको आधारमा राजधानी तोक्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सभाका सदस्य ओबहादुर गनले पार्टीबाट सुझावपूर्ण निर्देशनसहितको एसएमएस आएको भन्दै रणनीतिक र सामरिक दृष्टिले हेटौँडा प्रदेश राजधानी हुनुपर्ने बताउनुभयो ।
यस्तै प्रदेश सभा सदस्यहरु सन्तबहादुर चेपाङ, मुनु सिग्देल र मिलनबाबु श्रेष्ठले प्रदेशको राजधानी सबै दृष्टिले हेटौँडा उपयुक्त भएको बताउनुभयो । प्रदेश सभाको वैठक केशवप्रसाद भुर्तेल, न्हुँछेनारायण श्रेष्ठ, राजेन्द्रमान श्रेष्ठ र जगतबहादुर सिम्खडा दलगत र क्षेत्रगत स्वार्थमाथि उठेर राजधानी तोक्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश सभाका सदस्य आशामाया तामाङले प्रदेश राजधानी नुवाकोट हुनुपर्ने प्रस्ताव गर्दै घर पायक हुन्छ भनेर माग नगरेको बताउनुभयो । प्रदेश सभाका सदस्यहरु राजेन्द्र गुरुङ, विजुला बर्मा, राजकाजी महर्जन, निमा लामा, लालकुमारी पुन, हिमाली गालेले काभ्रे जिल्लामा प्रदेश राजधानी हुनुपर्ने बताउनुभयो । प्रदेश सभाको अर्को बैठक शुक्रबार दिउँसो ३ बजे बस्ने भएको छ ।

श्राेत : गाेरखापत्र अनलाइन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्