काठमाडौँ – काठमाडौमै साढे २ वर्षीया बालिका बलात्कृत भएकी छिन् । कागेश्वरी मनोहरा नगरपालिका स्थित काँडाघारीमा साढे २ वर्षीया बालिका बलात्कृत भएकी हुन् । काँडाघारीमा परिवारसँग डेरामा बस्ने बालिकालाई आफन्तकोमा आएका १४ वर्षीय किशोरले बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
बलात्कार आरोपी किशोरलाई अदालतबाट ५ दिनको म्याद लिएर बालमैत्री कक्षमा राखिएको प्रहरीले जनाएको छ । गत सोमबार बालिका बलात्कार गरेको सूचना आएपछि महानगरीय प्रहरी प्रभाग काँडाघारीले किशोरलाई पक्राउ गरेको थियो ।
बालबालिका सम्बन्धी ऐन–०७५ अनुसार अपराधमा संलग्न बालवालिकालाई नियन्त्रणमा लिएपछि प्रहरीको हिरासतमा राख्न पाइँदैन । बालबालिकालाई निगरानी कक्षमा राखेर बालमनोविज्ञको परामर्श दिनुपर्छ । निगरानी कक्षमा राखुन्जेल हत्कडी लगाउन नपाइने कानुनी व्यवस्था छ ।