थारु समुदायले नयाँ वर्षका रुपमा धुमधामका साथ माघी मनाउँदै

काठमाडौं – थारू समुदायले नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँदैछन् ।

सूर्य उत्तरायण प्रवेश गर्ने दिन आज थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ । यस पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । आजदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यस पर्व मनाइन्छ । बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारू समुदायको छ ।

बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन् । यस अवसरमा सक्नेहरु चारधाम जाने र नसक्नेले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाहरुले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ ।

विशेषगरी तराईका थारूले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ । थारू समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् । विवाह, यात्रा, बसाइँसराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारू समुदायमा छ ।

सुदूरपश्चिममा काग बोलाउने चलन

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा आज नरहरी पर्व हर्षोल्साका साथ मनाईदै छ । सुदूरपश्चिमका दार्चूला, बैतडी, लगायतका पहाडी जिल्लाहरुमा माघ १ गतेलाई नरहरि पर्वका रुपमा मनाइन्छ । पुस मसान्तमा पकाएको सेल, पुरी लगायतका मिठा मिठा परिकारहरुलाई माघ १ गते विहानै नुहाएर काग बोलाएर कागलाई खान दिने चलन छ । माघ १ गते विहानै घर घरमा का कौवा का भनेर कागलाई बोलाएको सुन्न सकिन्छ । यस दिन पनि मिठा मिठा परिकार पकाएर खाने चलन छ सुदूरपश्चिममा । आजको दिन कुनै काम गर्नु हुदैन भन्ने प्रचलन रहेको बुढापाकाहरु बताउँछन् । माघ १ गते अर्थात नरहरिको दिन कुनै हतियार चलाउनु हुदैन भन्ने मान्यता रहेको छ । इष्टमित्र आफन्तहरु जम्मा भई रमाइलो जमघट गर्दै डेउडा खेल समेत आजको दिनमा खेल्ने गरिन्छ । नरहरीलाई विशेष पर्वका रुपमा मनाइन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्