नयाँ समयसँग मागिएको बास

-दामोदर पुडासैनी किशोर

  सिर्जना तरबर्र उम्रन्छन्, मान्छेका नवीन स्पर्शले ।

‘ए बहिनी, मोनालिसा होटल कता पर्छ हँ ?’
‘उः सिधै जानुहोस् । त्यो रुखनेरबाट दायाँपट्टि मोडिनुहोस् । रुख नै रुखको बिचमा घर छ नि, हो त्यही हो मोनालिसा होटल ।’
‘तपाईँहरूको पनि छ होटल ?’
‘हाम्रो यही मिस्टिक होटल हो, मोनालिसा भने मेरी बहिनीको हो ।’
‘त्यसो भए तपाईँकामा बसे पनि होला नि ?’ कोठाहरू खाली छन् ?’
‘कोठाहरू त खाली छन्, तपाईँहरू मोनालिसा जानुहुन्छ भने पनि राम्रै छ ।’
‘तपाईँको यति भव्य रहेछ, किन उतासम्म जानु, तपाईँकोमा नै बसुँ हुन्न ?’
‘हुन्छ, हुन त । बहिनीकामा एट्याच बाथरुम भने बनिसकेको छैन । हाम्रामा भने तातो चिसो पानी, एट्याच बाथरुम सबै छ ।’
बोलेरोबाट ओर्लेर अगाडि जानेबित्तिकै लोमन्थाङ बजारको बाहिरी भागमा पुग्यौँ हामी । बायाँपट्टि होटलको लहर छ, दायाँपट्टि हरिया र अग्ला रुखहरू हल्लिइ रहेछन्, बिचमा सडक र सडक छेउको कुलोमा सुलुल्ल बगिरहेछ कञ्चन पानी । त्यहीँ हिँडिरहेका भेटिए दुई बहिनी–एउटी तिन दशक र अर्की दुई दशक उमेर पार गरेका ।
सफा कोठा, सजिला र सुन्दर शौचालय, खानपानलाई सजिलो, सुशील साहुनी बहिनी यत्ति बुझेपछि होटल मिस्टिकमै बस्ने भयौँ हामी ।
धुलाले घट्टको भित्तो बनेको छ शरीर । शिरदेखि पाउसम्मको पहिरन जता हल्लिए पनि झर्छ बुर्बुरी धुलो । गन्ध त त्यति छैन तर कुनबेला फुकालेर फालँु झैँ सिकसिको लागिरहेछ धुसरित कपडाहरू ।
‘बहिनी, हामी नुहाइहाल्छौँ, खाजाका लागि फापरको रोटी बनाइदिनुहोस् न है’– कोठामा छिर्नुअगावै होटलकी साहुनी बहिनी कर्चुङ लामालाई भनेको कुरा ।
असाध्यै शान्त, शालीन र सभ्य देखिनुहुन्छ कर्चुङ बहिनी । एक शब्द पनि खेर नजाने मिठो बोली छ उहाँको । थोरै समयमा पनि लामो समयपछि भेटिएका दाज्यु बहिनीबिच मायाको मेहरो बढे जस्तो भइरहेछ । मलाई त झन् मान्छे भेट्नै हुन्न, फुटिहाल्छ मायाको मूल । बहिनीमा कुनै कृत्रिमता छैन, सबै सहज देखिन्छ । ग्राहक भेटेपछि जसरी पनि कमाइहालौं भन्ने भावना पनि देखिएन । लामो समयको प्रतीक्षित पाहुना बल्ल घर पसेजस्तो खुसी बन्नुभयो बहिनी । शरीरको ख्याल राख्ने, खानामा मिठास भर्ने र आराम कक्ष उचित होस् भन्नेमा दत्तचित्तता असाध्यै देखियो कर्चुङ बहिनीमा । मिठो बोलीमा लट्पट्याएर खल्ती झ¥यामझुरुम पार्ने बानी नेपालका कयौँ होटल व्यवसायीमा पाइन्छ । कर्चुङ बहिनीमा त त्यस्तो भावना शून्य । साँच्चै आफन्तका घरमा पुगे झैँ भएको छ हामीलाई । उनको मिजासले नै आधा थकाइ म¥यो ।
‘तपाईँहरू तलबाट भर्खर आइपुग्नुभएको छ, अल्टिच्युट लाग्छ कि, झ्वाट्ट ननुहाउनु बेस् ।
‘ज्यान धुलित भएको छ, म त जे भए पनि नुहाउँछु’— मित्र छिरिहाल्नुभयो बाथरुममा ।
‘पाँच हजार फिटभन्दा माथिल्लो उचाइका धेरै ठाउँमा पुगेको छु म’— मैले भनेँ ।
‘त्यसो हो भने त लेक लाग्दैन होला सरलाई, लोमन्थाङ त दुई हजार आठ सय चालिस मिटर उचाइमा त रहेको छ नि’— नुहाउने स्वीकृति बहिनीबाट पाउनेबित्तिकै मज्जाले तातोपानीमा डुबेँ म पनि ।
भाँगाको अचार र महसँग फापरको रोटी खाएपछि ज्यान ताजा भएको छ । अझ एकेक बाउल लसुनको सुप तन्काएपछि बाहिरको चिसो हावा हुतिहारा बनेको छ हाम्रो सामु ।
साँझ झप्किन अझै दुई घण्टा जति बाँकी छ । नौलो प्रदेशमा निमेष खेर फाल्न हुँदैन भन्ने पक्षमा छु म । साथीहरूको पनि एकै मतो छ ।
हामी बाहिरिन्छौँ होटलबाट । लोमन्थाङ लजालु बनेकी छे । वरिपरिका डाँडाहरूमा बादल ओडेर नियालिरहिछे हामीजस्ता पर्यटकहरूलाई । दुई सय तिस मिटर लम्बाइ र एक सय पचास मिटर चौडाइमा फैलिएकी छे ऊ ।
सम्पूर्ण जगत् नौलो बनेर उभिएको छ लोमन्थाङमा । रुख र घाँसविहीन थुम्क्याइला पहाडहरू छन् आँखाको डिसले भ्याएसम्म । माझमा हरिया रुखहरू हुर्काएर तिब्बती शैलीका घरहरूमा बाँचिरहेछ लोमन्थाङ । वरिपरिका पहेँला पहाडहरू आफैँमा बुद्ध स्तुप जस्ता देखिन्छन् । प्रकृतिले नै चैत्यहरूको जङ्गल बनाइदिए झैँ लाग्छ लोमन्थाङमा । ती प्राकृतिक चैत्यहरूमा बौद्ध थाङ्का जीवित बने झैँ देखिन्छन् । जीवन र जगत्को अर्थ दिने करोडौँ चित्रहरूको प्रदर्शनी भइरहे झैँ लाग्दछ । अमूर्त चित्रहरू, मूर्त चित्रहरू, पाषाण मूर्तिहरू सबै सबै जीवित छन् हरेक चट्टाने पहाडहरूमा । तिनै प्राकृतिक मूर्ति र चित्रहरू देखेर सिर्जना कोर्न थाल्यो होला सायद मान्छेले ।

शहर घुम्दाघुम्दै नोटबुकमा एउटा कविता लेखेँ मैले ।

पहेंलो सहर

हिउँ ओडेर
आगो जोगाइरहेछु मैले
आगोका भर्भराउँदा फिलिङ्गाहरू
र, हिउँका हुरीहरू बिच
यार्तोङ चलिरहेछ युगौंयुगदेखि

मैले इतिहास बकिरहेको बेला
तिमी धनु बाण झिकेर
तारो हान्न खोज्दैछौ मेरा आँखाहरूमा
घाइते सर्पहरू
मार्चुङ नदीबाट ओरालो झरेको हेरेर
निमको सर्वत पिउँदै
नापिरहेछु आफ्नो स्पर्शका सीमानाहरूलाई

पर्खाल होइन
पुल निर्माणको तयारीमा छन् हिमालहरू
ॐ मणि पद्मे हुँ जपेर माला गन्दैमा
कहाँ आउँछन् र अब शान्तिका किरणहरू
कङ्काल घरलाई प्रतिस्थापन गर्नु छ मैले
पहेंला पहाडहरूमा तिम्रा पाइतालाहरू फिँजाउँदै

यतिबेला
आमन्त्रण गर्दैछु म
चारै दिशाका समय उचाल्ने घोडाहरूलाई
र, आमन्त्रण गर्दैछु
मेरो रूपलाई
अझ पहेंलो आकृतिमा बदल्न सक्ने कलाकारलाई

दिनहुँ आउने घाम
र बेला बेलामा आउने जूनलाई
मेरै गर्भमा गर्भाधान गर्न खोज्दैछु म

अब आउने बिहानमा
प्रत्येक मान्छेका सन्तापको
ज्वालामुखी निभाएर
उठ्ने छन् हिमालहरू पनि
फुक्का मन जत्तिकै पहेंलो रङ्गमा

‘ध्यानमा डुब्छु भन्नेले लोमन्थाङ नै नपुगी कसरी पाउला र समाधि ? जीवनलाई प्राकृतिक रङ्गमा घुलाउँछु भन्नेले लोमन्थाङको प्रकृति, कृति र संस्कृति नबुझे कहाँ पूर्ण होला र उसको लक्ष्य ? हिउँको भुवा पखेटाभरि बोकेर शीतल सिरेटोमा क्षितिजसम्म नूतन वाणी घन्काउने चराका रङ्गहरू नियाल्न जानै पर्छ लोमन्थाङ । थाकलका काँडाहरू चपाउँदै चउरभरि शक्ति प्रदर्शन गरिरहेका घोडाहरू, सारा डाँडाकाँडा नै चलायमान भान पार्ने भेडाका बथान, कि काम कि शान्तिको खोजीमा जुटिरहने सिधासाधा लोमन्थाङवासीहरू, मरुभूमि तर धर्तिको बेग्लै महक बोकेका चुचुराहरू, सूर्यलाई सधैँ बाजी राखेर जिस्क्याउने हिमचुचुराहरू । ती सबैको पारख गर्न पुग्नुप¥यो लोमन्थाङ । अझ घोडाको बललाई थिचेर आफ्नो काबुमा ल्याउँदै विजयका ध्वजा फहराउने यार्तोङ पर्व र तिब्बती जनजीवन नजिकबाट नियाल्न पनि पुग्नै पर्ने लोमन्थाङ । त्यही लोमन्थाङसँग बास माग्न गएका छौँ हामी ।
बाँचेपछि कहाँ कहाँ पुगिन्छ बास माग्न, कहाँ कहाँ बिताइन्छ रात र भेटिन्छ को कोसँग, त्यसैमा पो छ जिन्दगीको रमाइलो र सार्थकता । नयाँ समय, नयाँ ठाउँ र नयाँ मान्छेसँग बास माग्दा कौतुहलताहरू कल्लोल बनेर ब्युँतिदा रहेछन् । हाम्रै मिस्टिक होटलको बगैँचामा चल्मलाइरहेको बैंसको हाँगाभित्र एक जोडी ढुक्कुर चुच्चो जुधाउँदै बासको व्यर्थता बिर्सदैछन् । हामी बलवान् समयलाई कोल्टे फेराउन खोज्दैछौँ एक रातको बासमा ।
जोमसोमदेखि लोमन्थाङसम्मको क्षेत्र नै हो उपल्लो मुस्ताङ । जोमसोमदेखि लोमन्थाङको दुरी ५० किलोमिटर नापिएको छ तर पैदल नाप्ने हो भने पाँच दिन लाग्छ । नाङ्गो भएर नवीन हुनु, केही नदेखिएर पनि धेरै थोक भेटिनु विशेषता नै हो उपल्लो मुस्ताङको । नीलगिरि र अन्नपूर्ण मात्र होइन हिँड्दाहिँड्दै ८,१६७ मिटर अग्लो धौलागिरि र ८,०९१ मिटर उच्च अन्नपूर्णले पनि आँखा झिम्क्याउन थालेपछि कुन मान्छे होला र मोहित नबन्ने ? अझ छ हजार मिटरभन्दा बढी उचाइका पैँतिसभन्दा धेरै हिमशृङ्खलाहरू त्यतै भेट्दा हिमाल बुझ्ने, खोज्ने र जान्ने सबैका लागि सर्वप्रिय स्थल बनेको छ उपल्लो मुस्ताङ ।
गृष्म र वर्षा ऋतु नै हो रहेछ उत्तम समय उपल्लो मुस्ताङ घुम्न । अघिपछि त हिँउको हरकले टिक्न गारै पर्छ जोसुकैलाई । तिन दिन अघि असारे भेलमा काठमाडौँ छोड्दा हाफ सर्टमै गर्मीको हपहपी थेग्न गारो थियो । मुस्ताङतिर जाडाले लुगलुग काँप्न थाल्यो ज्याकेट पनि । मान्छेहरू ऊनका बाक्ला बख्खु, दोचा, ज्याकेट र पाइन्टमा हिँडिरहेछन् । वर्षा ऋतुमा त मुटु कमाउने जाडो छ भने हिँउदमा किन नछोडून् मुस्ताङवासीले आफ्ना घरबास र सुइँकुच्चा नठोकून् पोखरा, काठमाडौँ र दक्षिणी मित्रराष्ट्रतिर ।
मिस्टिक होटलबाट अलिकति पूर्व लागेर पश्चिमपट्टि मोडिएका छौँ हामी । लोमन्थाङको मुख्य बजार सुरु भएको छ त्यतैबाट । ढुङ्गाको जोडाइ, माटाको लिउन वा माटाको जोडाइ माटाकै लिउन लगाएको र माटाले नै छाना छाइएका घरहरू छन् । घरहरू प्रायः सेतै छन् हिउँरङ्गे । कि छन् सिम्रिक रङ्गमा उज्यालिएका । बुर्जा, बार्दली, झ्याल, ढोकाहरू भने रातो, पहेँलो र निक्खरा मखमली रङ्गले सजाइएको छ । छानाहरूमा दाउरे चट्टानका लहरहरूले डढेलाले झम्टेको झाडीको झलक दिन्छ । पुरानो सहरवरिपरि छिटफुट रूपमा सिमेन्ट, छड, ढुङ्गाका घरहरू निर्माण हुन लागेको देख्दा लोमन्थाङले आफ्नो परम्परागत स्वरूपलाई बिस्तारै त्याग्न खोजे झैँ लाग्दछ ।
साँच्चै शान्त छ र सुन्दर लाग्छ लोमन्थाङ । वरिपरिका डाँडाहरूबाट कुहिरो झर्दैछ लोमन्थाङ बजारतिरै । कुहिरोका थोपा झैँ मसिना जलबिन्दु भुसभुसाउँदैछन् । त्यसैलाई पानी परेको भनेर खुसी मान्दैछन् लोमन्थाङवासीहरू । हिउँबाहेक पानी नपर्ने लोमन्थाङमा पानी मात्र फुसफुसायो भने निकै रमाउँदा रहेछन् मान्छेहरू । भाइ बहिनी पिठ्युँमा बोकेका केटाकेटीहरू सडक छेउकै छोर्तेनहरूमा लुकामारी खेल्दै, माने घुमाउँदै, सिमसिमे पानीमा सेब्रु नाचिरहेका देखिए । ऊन नै ऊनका भुत्लामा बेरिएका तिनीहरूमा तिनै भुत्लाले दुःख छिर्न नदिए झैँ लाग्दैथ्यो ।
पसलहरू सडकका दुवै किनारमा छन् । सिसाका झ्याल ढोकाले बन्द छन् सबै । एउटा पसलमा भित्रिन्छौँ हामी । केरुङ, खाडीचौर, बाह्रबिसे अथवा खासाका पसलहरूमा छिरेको भान हुन्छ । पसलभरि चिनियाँ सरसामानहरू मात्र छन् । तिन बहिनीहरू चिनियाँ रक्सी किन्दैछन् ।
‘यसको कति पर्छ ?’— चिनियाँ बियरको मूल्य सोध्नुहुन्छ मित्र ।
‘पचपन्न रुपिया ।’
‘यो मिनरल वाटरको नि ?’
‘पचास रुपिया ,’
‘अनि, यो वाइनको ?’
‘एक सय पैँतालिस रुपिया ।’
पानीभन्दा बियर, वाइन र रक्सी सस्तो रहेछ लोमन्थाङमा । अन्न र सागपात भने महँगो नै रहेछ ।
‘पानीको सट्टा, मस्तसँग बियर पिउन पर्ने रहेछ यतातिर ।’— मित्रको जिब्रो फट्कारियो ।
‘सस्तो पाउँदैमा बियरले नुहाउनुभएन । ‘सस्तो बेसाहा पेट लागि मर’ हुन बेर लाग्दैन क्या । यो उचाइमा अल्कोहल विष बराबर बन्न सक्तछ ।’— सम्झाउँछु म मित्रलाई ।
माटाको सहर रहेछ लोमन्थाङ । पहाडको बिचमा पहाडजस्तै माटे घरहरू गुचुमुच्च छन् । घरहरू अग्ला अग्ला पनि छन् तर झ्यालहरू असाध्यै थोरै छन् । भए पनि सारै साना आकारका । घरको मध्यभागमा चोक बनाउने र त्यहाँ छानामा पारदर्शी जस्ता राखेर घाम र उज्यालो पस्ने प्रबन्ध मिलाइएको हुँदोरहेछ । घर घरको बिचमा सारै साना गोरेटाहरू छन् । घरका बिच बिचमा ससाना चोकहरू छन् । सहरको बनावट हेर्दा सहरभित्र हुरी, बतास र शत्रुहरू सजिलै प्रवेश नपाऊन् भन्ने अभिप्रायले घर गरेको छ ।
‘नमस्कार’— दुई मित्रहरूले हाम्रो ध्यान तान्न खोज्नुभयो । लोमन्थाङ पुस्तकालयअघिल्तिर पेटीमा उभिइरहनु भएको रहेछ मित्रहरू । उहाँहरूमध्ये एक हुनुहुँदो रहेछ स्थानीय वाङ्दी र अर्का हुनुहुँदो रहेछ पर्वतका बोधराज पौडेल ।
‘वाङ्दी भनेपछि त खम्पा काण्ड सम्झिएँ नि मैले’— खम्पा काण्डबारे केही भनून् वाङ्दीले भन्ने अपेक्षा राखेँ मैले ।
‘म देश टुक्रयाउन खोज्ने गे वाङ्दी होइन, सच्चा नेपालभक्त वाङ्दी हुँ बुझ्नु भो’ ।’ नेपाल प्रेमको जोसिलो रङ्ग देखियो वाङ्दीमा ।
‘के हो खम्पा काण्ड भनेको ?’ उत्सुक बन्नुभयो मित्र ।
‘खम्पाहरू ओलाङचुङगोलादेखि रसुवा, मुस्ताङ र दार्चुलाको व्यास उपत्यकासम्म युद्ध मनस्थितिमा फैलिएका थिए । उनीहरू नेपालको उत्तरी सीमा क्षेत्र कब्जा गरी मुस्ताङ क्षेत्रमा अराजक र अवैध शासन गर्न र चीनमाथि गुरिल्ला आक्रमण गर्न तम्सेका थिए । उनीहरूले घमी, कागबेनी, छुक्साङ, घिलिङ, चराङ जस्ता ठाउँमा क्याम्प निर्माण गरेका थिए । खम्पाहरू खाम निवासी थिए । तिनीहरू सुरा थिए । धर्मको नाममा सोझा जनतालाई ठगठाग गर्थे र थोरैतिनो गुम्बालाई पनि बुझाइदिन्थे । चीन विरुद्ध तिनैलाई उक्साइयो । त्यो चीनलाई सह्य थिएन । हातहतियार बुझाएर आत्मसमर्पण गर्न नेपाल सरकारले खम्पाहरूलाई आदेश जारी ग¥यो । दलाइ लामा मुस्ताङलाई नेपालबाट अलग बनाएर चीन विरुद्ध आक्रमण गर्न चाहन्छन् भन्ने हल्ला व्यापक भयो । तोकिएको म्यादमा खम्पाहरूले हतियार बुझाएर आत्मसमर्पण नगरेपछि नेपाली सेनाले खम्पाक्याम्पमा आक्रमण गर्दै हतियार सङ्कलन ग¥यो र केही खम्पा लडाकुहरूलाई पक्रियो । विक्रम सम्वत् २०३१ सालमा दार्चुलाको टिङ्कर क्षेत्रमा नेपाली सेनाले खम्पा नाइके गे वाङ्दीलाई मा¥यो । त्यसपछि मुस्ताङ क्षेत्रमा शान्ति छायो ।’ खम्पा काण्डबारे जानेका कुरा बताएँ मैले ।
‘देश टुक्रयाउन खोज्नेहरू राम्रो कालगतिले मर्दैनन् । उनीहरूको अन्त्य निकै दुःखपूर्ण हुन्छ । बाउन्न सालपछि देशमा द्वन्द्व फैलिँदा लोमन्थाङमा त्यसको सानो झिल्को छिर्न दिएनौँ हामीहरूले । शरीरको एक अङ्गमा चोट प¥यो भने अर्को अङ्गलाई वेदना पर्दोरहेछ । नारायणहिटीमा राजाको सिंहासनबाट ज्ञानेन्द्र खस्दा मुस्ताङी राजाको पद गयो । हाम्रा मुस्ताङे राजा प्यारा छन् हाम्रा लागि, उनी राजाकै रूपमा रहन्छन् मुस्ताङेहरूको मनमा ।’ मुस्ताङेहरूको मनको कुरा बताए वाङ्दीले ।
वाङ्दी त्यतै बस्नुभयो । हामी घुस्दैछौँ बजारको भित्र भित्र । हामीसँग अघि बढ्नुभएको छ पौडेलजी । साँघुरा चोकहरूमा ढुङ्गा बिछ्याइएका छन् । कि घरहरू, कि बौद्ध चैत्य र छोर्तेनहरू मात्र भेटिन्छन् सहरभरि ।
‘ओ, दिस इज लिटिल टिबेट ।’ हाम्रो विपरीत दिशाबाट आइरहेका दुई विदेशी पर्यटकले गरेको कुराकानी घुस्छ हाम्रो कानमा ।
‘धर्म, भाषा, रहनसहन, भेषभुषा, संस्कृति, संस्कार, हावापानी, भूगोल, सबै तिब्बतसँग मिल्ने भएकाले ‘स्यानो तिब्बत’ भनिँदो रहेछ लोमन्थाङलाई । मान्छेको अनुहार तिब्बतीसँग मिल्दोजुल्दो छ, बिहेवारी र लेनदेन पनि तिब्बतीसँग राम्रैसँग चलेको बताउनुभएथ्यो वाङ्दीले ।
भूगोलले जोडेपछि, भावना र संस्कारले स्पर्श गरेपछि कहाँ टाढिन सक्तछ र मान्छे ?
जाडोसँगै रमाएर घुमिरहेछन् विदेशी पर्यटकहरू । लोमन्थाङका कुना कुना जापानीहरूको लर्कन घुसिरहेछ । जोम्पा गुम्बाको छेउमै भेटिए हङ्गेरीका एक जोडी । उनीहरूले भने— ‘समवान् सेड लोमन्थाङ इज फरबिडन किङ्डम, बट वि ह्याभ रियलाइज्ड, दिस इज रियल हेभेन ।’
सुख दुःख आफ्नै छन् । जीवनका क्रम उपक्रम आफ्नै छन् । न केन्द्र छ भन्ने मतलब छ उसलाई । न उसलाई केही गर्नुपर्छ भन्ने सोचेको छ केन्द्रले । रूप, गुण र सौन्दर्यले धपक्क बलेकी बालिका खोजखबरविना नै दूर प्रदेशमा अल्झिए झैँ, सुदूर मरुभूमिको सीमानामा ढकमक्क फलफुल बोकेर रुख एक्लै उभिए झैँ, न उसलाई बाहिरी विश्वको मतलब छ, न बाहिरी विश्वले उसको त्यो दिव्य मुहार देखेको छ । त्यसै गरी एक्लिएर बसिरह्यो लोमन्थाङ आधुनिक युगको अन्तिम कालखण्डसम्म । सन् १९०३ मा जापानी भिक्षु इकाई काबागुची पोखराबाट म्याग्दी हुँदै तिब्बत पसेपछि पो बल्ल थाहा भयो संसारभर ती लुकेकी सुन्दरी–लोमन्थाङको बारेमा । सन् १९९२ देखि सरकारले विश्वका लागि लोमन्थाङको ढोका खोलिदिएपछि सबैका लागि आकर्षणको केन्द्र बनिन् लोमन्थाङ । ‘लन्ली प्लानेट’ नामको यात्राविशेष संस्थाले विश्वका दस उत्कृष्ट पदयात्रा गन्तव्यको सूचीमा लोमन्थाङलाई तेस्रो स्थानमा राखेपछि विश्वभरबाट त्यहाँ जाने लर्को राम्रैसँग बढ्न थालेको छ ।
लोमन्थाङका साँघुरा गल्लीमा घर नै घरको माटेजङ्गल भेटिन्छ । माटेजङ्गलको हरेक फेदमा विदेशी काला, गोरा पर्यटकहरू र थाइल्यान्ड, जापान र कम्बोडियातिरका बुद्धमार्गीहरू लमक लमक लम्केका छन् । उनीहरूमा लुकिरहेछ शान्तिको स्पृहा । बुद्धका मन्त्रहरू र शान्ति आव्हानका स्वरहरूले स्पन्दित छ सहर । ‘ॐ मणि पद्मे हुँ’ का समवेत प्रतिध्वनिहरूले गुञ्जायमान छ सहर । तिनै स्वरहरूभन्दा अझ चर्को आवाजमा फैलिइरहेछ गुम्बाहरूबाट ढ्याङ्ग्रोका ध्वनिहरू । तिनै ध्वनिहरूमा अन्वित हुँदै पुगिरहेछ परपरका डाँडाहरूमा – लामा, लमिनी, भिक्षु र आनीका अपूर्व प्रार्थनाहरू ।
लोमन्थाङ सहर यज्ञ र भजन चलिरहेको मन्दिर बनेर फैलिइरहेछ । चोक चोकमा छोर्तेनहरू, मानेहरू, चैत्यहरू बुद्धका मूर्तिहरू राखिएका छन् । हरेक छानामा बुद्धमन्त्र अङ्कित तोरणहरू फहराइएका छन् । कुनै घरहरू छैनन् जहाँ कुनै न कुनै बौद्ध चिन्ह अङ्कित नभएको होओस् ।
आकाशबाट घाम हराइसकेको छ । घाम नभए पनि नरमाइलो छैन । नभिजिने तर कुहिरोका कण जस्ता जलवाष्पका थोपाहरूले ताजा र रसिलो बनाउँदैछ ज्यानलाई । दिनभर हिँड्दा र गाडीमा घिच्चिँदाका पीडाहरू पाखा लागेका छन् । नयाँ ठाउँ र नयाँ मान्छेहरू भनेका सम्भावनाहरू हुन् । संभावनाहरूलाई कोट्याउनुपर्छ, अर्थ खोज्नुपर्छ र संयोजन गर्नुपर्छ परिस्थिति र नवीनतासँग । यसले जीवन र जगत्लाई फरक ढङ्गले बुझ्न सहयोग मिल्छ जस्तो ठान्छु म ।
‘यो हो मुस्ताङे राजा जिग्मे परवल विष्टको दरबार ।’ महाकरुणा शाक्यपा विद्यालय, लोमन्थाङका शिक्षक बोधराज पौडेलले सहरको बिचमा रहेको सेतो प्राचीर देखाउनुभयो । लोमन्थाङका लागि हाम्रा मित्र र पथप्रदर्शक दुवै बन्नुभएथ्यो पौडेलजी ।
‘लोमन्थाङ सहर, दरबार र गुम्बाहरू चौधौँ शताब्दीतिर नै बनाइएका थिए । हिमाली बौद्ध परम्परा, हिमाली राज परम्परा र हिमाली सहरको उच्चतम नमुना हो लोमन्थाङ ।’ विगत पाँच वर्षदेखि लोमन्थाङ बस्दा जानेका कुरा बताउनुहुन्छ पौडेलजी । ‘दरबारमा एक सय आठ कोठाहरू र त्यति नै गजुरहरू छन् । एक सय अठहत्तर घरहरू र आठ सय छयहत्तर मान्छेहरू रहेको यो सहरका आदिवासीहरू आपूmलाई ‘ल्होबास’ भन्न रुचाउँछन् ।’
मित्रबाट अरू स्पष्ट भएको छ । दरबारलाई बायाँ पारेर अघि बढिरहेछौँ हामी ।
लोमन्थाङ नियाल्ने भनेको प्रकृति र धार्मिक सजधजको स्पर्श गर्ने पनि हो । दरबारको अलि अघिल्तिर पुगेपछि भेटिँदो रहेछ लहरै तिन गुम्बाहरू । पहिलो गुम्बा जोम्पा लाखाङ वा जोम्पा गुम्बा रहेछ । त्यसमा मैत्रेयको मूर्ति राखिएको रहेछ । पन्ध्रौँ शताब्दीमा निर्मित त्यो गुम्बा ठुलो त देखियो तर साँझ पर्न लागेकाले बन्द भइसकेको थियो । त्यो गुम्बालाई स्थानीय ल्होबासीहरू ‘ईश्वरको घर’ भन्न रुचाउँदा रहेछन् । त्यसको दस कदम अघि बढेपछि अर्को गुम्बा भेटियो— थुक्चेन गुम्बा । यस गुम्बामा शाक्यमुनिको मूर्तिवरिपरि अन्य देवीदेवताका मूर्तिहरू छन् । मूलद्वारमै डरलाग्दो रूपका द्वारपालका मूर्तिहरू छन् । बुद्धमूर्तिको अघिल्तिर विशाल प्रार्थना कक्ष छ । प्रार्थना कक्षमा हजारौँ भिक्षु भिक्षुणीहरूले एकै साथ प्रार्थना गर्न सक्ने रहेछन् । केही मान्छेहरू बुद्धमूर्तिअगाडि बत्ती जगाइरहेथे । पन्ध्र बिस जना भिक्षु भिक्षुणीहरू प्रार्थनामा मग्न थिए । नौ पुरुष र तिन महिलाहरू बुद्धमूर्तिको अघिल्तिर र दायाँतिर डोरीमा झुन्डिएर र अग्ला कुर्सीहरूमा अडिएर भित्तामा कुची चलाइरहेथे । भित्ताभरि बुद्ध जीवनी र बौद्धदर्शनका थाङ्काहरू कोर्ने योजना सफल पार्न बर्सौँदेखि दर्जनौँ चित्रकारहरू जुटेका रहेछन् । त्यसका लागि अमेरिकी सरकारले करोडौँ रुपियाँ खर्चिसकेको र अझै करोडौँ रकम दुई वर्षभित्र लगानी गर्ने योजना सुनाउनुभयो पेम्बाजीले । उहाँ त्यस्तो थाङ्का कोर्न सुरुको स्केच गर्नु हुँदोरहेछ ।
उत्तरी पर्खालनजिकै अर्को एउटा गुम्बा रहेछ– ढाकार गुम्बा । यसमा अमिताभ, अवलोकितेश्वर, पद्म सम्भव र मैत्रेयका माटाका मूर्तिहरू लहरै छन् । काठका अग्ला खम्बाहरूमा कलात्मकता देखिन्छ र भित्तेचित्रहरूले जीवनका विविध पक्षलाई कोट्याउँछन् ।
‘जीवन बाँच्नुभन्दा अझ गारो छ जिन्दगीका चित्रहरू कोर्न’— अनुभवको निखार बताउनुभयो पेम्वाजीले । जीवनका प्रत्येक क्षणहरूमा जुध्नुपर्छ जोखिमहरूसँग । अझ तिनको अभिलेख कोर्नु र जोखिम निदानका मार्गचित्रहरू बनाउनु साँच्चै सजिलो छैन जिन्दगीमा ।
‘तपाईंहरू यस्ता बहुमूल्य थाङ्काहरू यी भित्ताहरूमा कोर्दै हुनुहुन्छ । यी भित्ताहरू माटोद्वारा निर्मित छन् । कतै भवितव्य आइप¥यो भने न भित्ता बच्छ न थाङ्का नै । थाङ्का कोर्नुभन्दा अघि भित्ता बलियो बनाउनेतिर सोच्नुपर्छ कि ?’ मैले भने ।
‘गोराहरूले चित्रहरू नै कोर्ने भने, हामीले त्यसै ग¥यौँ, अरू कुरा सोच्दै सोचिएन ।’ विदेशी पैसा पाइयो भने सुरक्षा र संरक्षणको मतलब नै नगर्ने परिपाटी व्याप्त छ हाम्रो देशमा । साथीहरूले पनि यसमा निकै खसखस मानिरहनुभयो ।
‘उच्च हिमाली संस्कृति, बौद्ध आस्थाका सुकिला चिन्हहरू, राजा र प्रजाका परम्परागत मिथक र बिम्ब, तिब्बती स्वरूपको जीवन्तता, हिममरुस्थलका बेग्लै चमक, एकै ठाउँमा विरलै पाइन्छन् लोमन्थाङमा बाहेक ।
पहिलो पटक आइपुग्नुभएको हो भने राम्ररी नियाल्नु बेस लोमन्थाङलाई । लोमन्थाङलाई नियाल्नु भनेको हिमाली संस्कृति, संस्कार र जीवनलाई पाँच सय वर्ष अगाडिको समयले कोट्याउनु हो ।’ थुप्चेन गुम्बाबाट बिदा हुने बेलामा सम्झाउनुभयो पेम्वाजीले । बोध गयामा बुद्धदर्शन अध्ययन गर्नुभएकाले त्यसका धेरै पक्षहरूको ज्ञाता हुनुहुँदोरहेछ उहाँ । उहाँसँग बसेर बौद्धदर्शनका साङ्गोपाङ्गो वस्तुतथ्यलाई नियाल्न चाहन्थ्यौँ हामीहरू । समयले हामीलाई छोडेर दौडिरहेथ्यो । लामो समय सँगै बस्न पाइएन उहाँसँग । संसार यस्तै हो । भेटेका हरेक मान्छेहरूसँग धीत मरुञ्जेल बस्न, मन खोल्न र मन बुझ्न कहाँ सकिन्छ र ?
‘साँच्चै के रहेछ हँ लोमन्थाङको अर्थ ?’— मौकामा सोधिहालेँ मैले ।
‘तिब्बती भाषामा ‘ल्हो’ को अर्थ ‘हरियो दुबो’ र ‘मान्थाङ’ को अर्थ ‘चउर’ हो । प्राचीन कालमा आमे पाल भन्ने एक तिब्बती घुम्दै त्यहाँ पुगे । त्यहाँ हरियो दुबाले ढाकिएको चउरमा भेडाहरू चरिरहेका सुन्दर दृश्यले उनको मन लोभियो । उनले तत्कालै बस्ती बसाले । जसलाई ‘लोमन्थाङ’ भन्न थालियो ।’ लोमन्थाङको सुरुवाती खुलस्त पार्नुभयो पेम्बाजीले ।
खासमा ‘लोमन्थाङ’ होइन ‘लोमेन्थाङ’ हो यो ठाउँको नाम । ‘लो’ को अर्थ ‘पश्चिमतिर’ ‘मेन्’ को अर्थ ‘औषधी’ र ‘थाङ’ को अर्थ ‘सम्म ठाउँ’ हो तिब्बती भाषामा । यसको अर्थ लोमेन्थाङ भनेको पश्चिमतिर रहेको औषधी पाइने सम्म ठाउँ हो । कर्चुङ बहिनी र आङ्गेल भाइले साँझमा बताउनुभयो हामीलाई ।
नजिकै ‘छोर्दे’ मुख्य गुम्बा रहेछ । त्यो पनि विशाल रहेछ । गुम्बाभित्र माटाले कुँदिएको ठुलो बौद्धमूर्ति छ । मूर्तिअघिल्तिर प्रार्थना कक्ष रहेछ । बुद्धमूर्तिको दायाँबायाँ ¥याकहरूमा बुद्ध मन्त्रका प्रशस्त पुस्तकहरू सङ्कलित छन् । ती पुस्तकहरू सुनको मसीले लेखिएको बताउनुभयो पौडेलजीले । ‘सुनौला मन्त्रहरू सुनौला अक्षरले नै त लेखिनुपर्छ नि’— भिक्षुले थप्नुभयो ।
छोर्दे गुम्बा परिसरभरि बुद्धकालीन पहिरनमा फ¥याकफुरुक गरिरहेछन् बालकहरू । महाकृष्ण शाक्यपा विद्यालय त्यही छोर्दे गुम्बाले सञ्चालन गरेको रहेछ । तिनीहरू विद्यालयका विद्यार्थीहरू रहेछन् । देशका विभिन्न हिमाली जिल्लाहरूबाट पुगेका विद्यार्थीहरू बौद्ध शिक्षामा तल्लीन देखिन्छन् त्यहाँ । गुम्बाको एक भागमा एउटा स्वास्थ्य चौकी रहेछ । साँझमा पनि स्वास्थ्य जाँच गराउनेहरूको धुइरो थियो । निःशुल्क स्वास्थ्य परीक्षण र निःशुल्क औषधी वितरणको व्यवस्थाले लोमन्थाङवासीलाई निकै सजिलो रहेछ । हामीले डायाजीन माग्यौँ र एक एक ओटा खायौँ । बेलुन झैँ फुल्दै गरेको पेट बिस्तारै सुक्दै गयो ।
‘लोमन्थाङको यतिको उचाइमा आइपुगेका छौँ, राती लेक लाग्ने हो कि, केही औषधि खानुपर्छ कि ?’— लेक लाग्ने डर पसारेँ मैले चिकित्सक सामु । मन कमजोर भयो भने लेक लाग्छ । नआत्तिनूस् केही हुँदैन । प्रशस्त पानी पिउनूस्, लसुन सुप पिउनूस्, केही अप्ठेरो परेमा हामी छदैछौँ नि !’— मज्जाले धाप पाइयो ।
हिमाली जडीबुटी प्रयोग गरेर बेग्लै प्रविधिको औषधी तथा चिकित्सकीय सेवा प्रदान गर्ने ‘आम्ची’हरूको ज्ञान लोप हुँदै गएको सुनेको थिएँ मैले । एलोपेथी चिकित्सा प्रणाली नपुग्दा आम्ची प्रणालीले नै हिमाली क्षेत्रमा धेरै मान्छेको ज्यान बचाएको कुरा हुम्लाका केही आम्चीहरूबाट बुझेको थिएँ । ‘आफ्नोलाई फलाम, अर्काकोलाई सुन’ देख्ने प्रवृत्तिले हाम्रा ज्ञान नासिए, साधन स्वाहा भए ।’ गुनासो थियो धेरैको । औषधीको निश्चित मात्रा नहुने, जति पुरानो भयो त्यति राम्रो गुणस्तरको हुने भन्ने भ्रमले गर्दा आम्चीका औषधी र आयुर्वेद विद्या सङ्कटमा प¥यो अचेल । तैपनि, नहुने मामाभन्दा कानो मामा निको भन्ने पनि कहाँ बिर्सन सकिन्छ र ?
‘आम्ची भेट्न पाइन्छ, यहाँ ?’ माने घुमाइरहेका भिक्षुलाई सोध्यौँ ।
‘यहाँबाट सिधै गएर पहिलो मोडमा सोध्नुस्, त्यही भेट्न सक्नुहुन्छ आम्चीलाई ।’ छोर्दे गुम्बा बाहिरको छोर्तेनबाट देखाइदिनुभयो बाटो ।
हामीहरू फटाफट अघि बढ्यौँ । बाटो देखाइएको भन्दा अलि अघि नै पुगिसकेछ हाम्रो गति । त्यहाँ त अर्को बाटो पो भेटियो । पूर्वबाट पश्चिम लागेको ।
‘बहिनी !’— जिन्दगीको हरेक मोडमा कोही न कोही मित्र भेटिन्छन् भन्ने सम्झिएँ मैले ।
‘भन्नुस् ।’ केही काम सम्पन्न गर्न हतार भइसकेको जसरी हिँडेका उनका पाइला टक्क रोकिए । गोरो अनुहार, पुष्ट शरीर, चम्किला आँखाहरू, मुस्कानपूर्ण बोली— साँच्चै हिमालकी छोरी पार्वती भेटेजस्तो लाग्यो हामीलाई ।
‘तपाईँको नाम पार्वती हो ?’— जोसँग पनि आपूmलाई लागेको कुरा पोखिहाल्ने बानी त्यहाँ पनि दबेन मेरो ।
‘पार्वती होइन, पेम्पा हो मेरो नाम’— छोपिरहेको बादलले सर्लक्क छोडिदिएपछि खुलेको हिमालजस्तो मुस्कायो बहिनीको मुहार । मैले भने आफ्नी पार्वती सम्झिएँ । दुई रात मात्र घरबाहिर गएँ भने ननिदाउने उनको बानी सम्झिएँ ।
‘हामी आम्ची भेट्न हिँडेका’— कुराको चुरो खुल्यो ।
‘ए, अलि परै छ आम्चीको घर, आउनूस् म लगिदिन्छु’— हराएको घोडा खोज्न हिँड्नुभएकी बहिनी त हामीलाई बाटो देखाउन पो हिँड्नुभयो । तिन चोक र चार मोड नाघेपछि आम्चीको घर पुगियो । आम्ची अर्को घरमा गइसक्नुभएको जवाफ दियो कसैले । हामीले भाषा बुझेनौँ ।
‘रात पर्न आँट्यो । मेरो घोडा कता हरायो कता । म खोज्न जान्छु । हजुरहरू यी दुई बहिनीसँग आम्चीको अर्को घरमा जानूस्, हुन्छ ?’— एउटी जून जस्ती र अर्की फुल जस्ती आठ नौ बर्से बहिनीहरूको जिम्मा लगाइदिनुभयो पेम्पाले । ‘पेम्पा भनेका सबै यस्तै सहयोगी र सुशील हुन्छन् कि क्या हो ?’— मैले रसुवाको वृद्धिम गाउँमा भेटेकी पेम्पा साङ्मो बहिनी सम्झिएँ ।
डुब्न लागेको घाम उछिन्दै खुरुखुरु अघि लागे ती बहिनीहरू । सहरको बाहिरपट्टि एउटा ठुलो सडक भेटियो । त्यही बाटोबाट उत्तर मोडियौँ हामी । अलि पर प्रहरी चौकीमा भलिबल खेलिरहेथे प्रहरीहरू । बाटाभरि ‘ॐ मणिपद्मे हुँ’ का माला जप्दै हिँडेका मान्छेहरूको ताँती देख्दा बौद्ध वा स्वयम्भूवरिपरि हिँडिरहेका बुद्धभक्तहरूको झल्को लाग्थ्यो । चौँरीगाईको बगालले हामीलाई केहीबेर बिच बाटोमै रोके । अलि पर भेडाका ताँतीले त्यसै गरी अल्मल्याए ।
बाहिरबाटै ठुलो र भव्य देखियो आम्चीको घर । साना बहिनीहरूले घरक्क के खोलेका थिए मूल ढोकाको छेस्किनी, भित्रबाट सिंह गर्जे झैँ भुक्यो भोटे कुकुर । हत्त र पत्त ढोका थुनिहाले बहिनीहरूले, र पो, ज्यान बच्यो हाम्रो । नत्र दुई तिन सय भेडा चराउने त्यो डाँगाले हाम्रो आन्द्राभुँडी निकाल्न बेर थिएन । झन्डै ‘आम्ची खोज्न गएकाहरू, आम्चीकै कुकुरले टोकेर मरे’ भन्ने खबर नछापिएको ।
आम्चीको घर परिसरभरि जडीबुटी राखिएका छन् । मगमग बास्ना आउँदैछ औषधीको । जरा, हाँगा, पात, लहरा, डाँठ, माटो, ढुङ्गा मात्र होइन सिङ, खुर, रौँहरू पनि औषधी बन्न पालो पर्खिरहेछन् ।
हामी ढोकाबाहिर उभिएका छौँ । लोमन्थाङ नै लुगलुग कमाउने गरी कुर्लिरहेछ पर्खालभित्र कुकुर । पर्तिरबाट पाँच घोडा बुर्कुसी मार्दै हामीतिरै आए । ‘लौ घोडाको लात्तीमा परिने भो कि क्या हो ?’— मन फेरि आत्तियो । घोडाको पछि पछि त्यहीँ पुग्नुभयो एउटी पैंतिस चालिस वर्षिया ।
‘तपाईँहरूले, आम्चीलाई खोज्नुभएको होला, उहाँ त बिहानै मराङ जानुभएको छ बिरामी जाँच गर्न, दुई दिनपछि मात्र आउनुहुन्छ ।’— जवाफ आयो ।
‘आम्ची भेट्ने सपना, सपनामै तुहियो ।’ अलि खिन्न हुनुभयो मित्र ।
ल्होसारमा सिँगारिएका धुपीवृक्ष जस्ता चहकिला दुई बहिनीहरूलाई त्यतैबाट बिदा ग¥यौँ हामीले । घाम डुबेको सङ्केत देखियो चारैतिर । जति रिसाएर डुबे पनि अर्को बिहान रुञ्चे हाँसो हाँस्दै घाम आउँछ नै तर ती बहिनीहरू भने जिन्दगीमा फेरि भेटिन्छन् भेटिँदैनन् थाहा छैन ।
बहिनीहरू बाई बाई भन्दै पूर्वी कुनातिर बिलाए । पश्चिमबाट एक्कासी फुट्यो अँध्याराको बाढी र छोप्न थाल्यो केशोरजोङदेखि कोरलासम्मका शिरपाउसम्म ।
लोमन्थाङको पश्चिमी पर्खाल नाघेर लम्कियौँ पूर्वतिर । त्यहीँ पर्खालभन्दा बाहिरपट्टि हामीलाई नै कुरेर बसेको छ हामी बस्ने मिस्टिक होटल ।

होटल मिस्टिक हिमालयन, लोमन्थाङ, मुस्ताङ
२०७१ असार १६ गते, सोमबार

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्