पाल्पा – पाल्पाको रिब्दीकोट गाउँपालिकाले किसानलाई व्यावसायिक बनाई कृषि कर्ममा लगाउनका लागि बैंकको ऋणको ब्याज तिरिदिने व्यवस्था गरेको छ ।
कृषि बैंकसँग सम्झौता गरेर कृषि व्यावसाय गर्ने किसानले लिएको ऋृणको ब्याज गाउँपालिकाले तिरिदिने व्यवस्था गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले जानकारी दिए । पछिल्लो समय कोरेना महामारीका कारण विदेशबाट फर्किएका युवाशक्तिलाई कृषि कर्ममा लगाउन व्याज अनुदानको व्यवस्था गरिएको अध्यक्ष जिसीले बताए ।
आर्थिक अवस्था कमजोर भएका दलित समूदाय, विपन्न परिवार तथा बेरोजगार युवालाई व्यवसायिक रुपबाट कृषि पेशामा लगाई आय आर्जनको बाटो बनाउनका लागि यो योजना सुरुवात गरिएको गाउँपालिकाले जनाएको छ ।
बैंकले मूल्यांकन गरेर किसानलाई ५० हजारदेखि ५ लाख सम्म र फार्मको लागि १ लाख ५० हजार देखि १० लाखसम्मको ब्याज गाउँपालिकाले तिर्ने गरी सम्झौता भएको गाउँपालिकाका प्रशासकीय अधिकृत प्रेम चन्द्र अर्यालले बताए । यस कार्यक्रम आगामी असार मसान्तसम्म सञ्चालन हुने र प्रभावकारीताका आधारमा पुनः सम्झौता गरिने गाउँपालिकाले जनाएको छ ।