पोखरा प्रिमियर लिगकाे उपाधि चितवन राइनोजलाई

पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट दोस्रो संस्करणको उपाधि चितवन राइनोजले हात पारेको छ । गत संस्करणमा उपविजेता बनेको चितवनले शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले हरायो ।

२ सय ३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ७० रनमात्र बनाउन सक्यो । उसका लागि ओपनर मोहम्मद जायद खानले अर्धशतकीय पारी खेले ।

तर अर्का ओपनर सुनील धमलाले ४ रनमात्र बनाउन सके । उनलाई सन्नी पटेलले बोल्ड गरेका हुन् । तेस्रो ओभरमा लोकेस बम पनि करण केसीको बलमा लङअन क्षेत्रमा बाबर हायतबाट क्याचआउट भएपछि विराटनगर सुरुमै समस्यामा परेको थियो ।

तेस्रो विकेटका लागि जायदले नोमन खानसँग मिलेर ५३ रनको साझेदारी गर्दै पारी उकास्ने प्रयास गरे । ओभरथ्रोमा रन लिने प्रयास गर्दा रनआउट भएका नोमनले १८ रन जोडे । त्यसपछि आएका कप्तान प्रदीप ऐरीसँग मिलेर जायदले चौथो विकेटका लागि ४१ रनको साझेदारी गरे । १४.१ ओभरमा जाइद ५७ रनको स्कोरमा आउट भए । उनले ४८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।

पाँचौं विकेटका लागि पुनित मेहरा र कप्तान प्रदीपले ४७ रनको साझेदारी गरेका थिए। १७.५ ओभरमा पुनित मेहरा ३२ रनको स्कोरमा आउट भएपछि विराटनगरको हार निश्चित बन्यो । १९ औं ओभरमा करण केसीले दिलिप नाथलाई खाता नखोली आउट गराए । कप्तान प्रदीपलाई पनि ३६ रनको स्कोरमा आउट गराए । प्रदीपले २५ बलमा ३ चौका र १ छक्का प्रहार गरे । बलिङमा करण केसीले ३, सन्नी पटेलले २ र रोहन मुस्तफाले १ विकेट झारे ।

यसअघिटस हारेर पहिले ब्याटिङ गरेको चितवनका लागि रोहन मुस्तफा र अनिलकुमार साहले अर्धशतकीय योगदान गरे । करण केसीले अन्तिम ओभरमा विस्फोटक ब्याटिङ गरी ८ बलमा २६ रन प्रहार गरे ।

पहिलो विकेटका लागि कप्तान पारस खड्का र रोहनले ३६ रनको साझेदारी गरी राम्रो सुरुआत दिलाएका थिए । ३.२ ओभरमा किशोर महतोको बलमा आउट हुनुअघि पारसले ११ बलमा ४ चौका र १ छक्काको सहयोगमा २५ रन बनाए। तेस्रो नम्बरमा आएका बाबर हायत अर्को ओभरमा ५ रनमै आउट भए।

तर तेस्रो विकेटका लागि रोहनले अनिलकुमार साहसँग मिलेर ९५ रनको साझेदारी गरेपछि चितवन विशाल योगफलतर्फ अघि बढेको थियो। १६ औं ओभरमा दुवै ब्याट्सम्यान पुनित मेहराको बलमा आउट भएका हुन्। अनिलले ३४ बलमा ३ चौका र ३ छक्का तथा रोहनले ४३ बलमा ३ चौका र १ छक्कासहित समान ५०र५० रन जोडेका थिए। आरिफ शेखले ११ बलमा १९ रन जोडेर आउट भए।

छैटौं विकेटका लागि सन्नी पटेल र करण केसीले ११ बलमा ३२ रनको साझेदारी गरेपछि चितवनले २ सय रनको स्कोर पार गरेको हो। समान ८र८ बल खेलेका सन्नी र करणले क्रमशः १६ र २६ रन प्रहार गरे। करण केसीले विराटनगरका किशोर महतोको अन्तिम ओभरमा २ चौका र २ छक्कासहित २४ रन जोडेका थिए।

बलिङमा विराटनगरका मोहम्मद जाइद आलम र पुनित मेहराले २र२ विकेट लिए। किशोरले १ विकेट झारे।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्