कोरोनाविरुद्ध प्लाज्मा थेरापीले जगाउँदै आशा : नेपालमा ४५ जना निको भए

काठमाडौँ- कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप वा औषधि बजारमा आइसकेको छैन । विकल्पका रूपमा अपनाइएको प्लाज्मा थेरापी नेपालमा भरपर्दो आशाको किरण बनेको छ । प्लाज्मा थेरापी बिरामीको अनुमतिमा परीक्षणकै क्रममा रहे पनि त्यसले सकारात्मक परिणाम दिइरहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताउनुभयो । उहाँ प्लाज्मा थेरापीले हानि गर्दैन, त्यसैले रगत दिन र लिन डराउनुपर्दैन भनेर सुझाव दिनुहुन्छ । उहाँका अनुसार चिकित्सक, स्वास्थ्यकर्मी र अन्य बिरामीले अनुमति दिएको खण्डमा प्लाज्मा थेरापीको प्रयोग त्यस्ता कोरोना भाइरसका सङ्क्रमितमा भइरहेको छ ।

हालसम्म यस थेरापीबाट ४५ जना निको भइसकेका छन् । अमेरिका लगायत विकसित देशमा पनि प्लाज्मा थेरापी कोरोना भाइरसविरुद्ध विकल्पको औषधिका रूपमा प्रयोग भइरहेको छ । प्लाज्मा थेरापी कोरोना भाइरस सङ्क्रमण भएर निको भएका व्यक्तिको रगत अन्य बिरामीलाई दिएर गरिने उपचारविधि रहेको ज्ञवालीले स्पष्ट गर्नुभयो । उहाँले सङ्क्रमण मुक्त भएको दुई हप्तापछि ती व्यक्तिको रगतको प्लाज्मा अन्य सङ्क्रमितलाई दिन योग्य हुन्छ, १८ वर्ष उमेर माथिका व्यक्तिले रगतको प्लाज्मा दिएर सघाउन सक्छन् भन्नुभयो । सामान्य रूपमा ब्लड बैङ्कको माध्यमबाट रगत दिएर त्यसबाट प्लाज्मा छुट्याइन्छ । त्यसपछि अन्य सङ्क्रमितमा त्यो प्लाज्मा प्रयोग गरिन्छ ।

ब्लड बैङ्कमा प्लाज्मा भण्डारण गर्न र रक्तदाता खोज्न भने यतिबेला समस्या भइरहेको छ । भर्खर सङ्क्रमणमुक्त भएका बेला हत्तपत्त कसैले रगत दिन मान्दैनन् । त्यसका लागि स्वास्थ्यकर्मीले दातालाई थप परामर्श दिन आवश्यक ठानिएको उहाँले औँल्याउनुभयो । सङ्क्रमित भएर निको हुने व्यक्तिले रगत दान गर्दा ‘साइड इफेक्ट’ नहुने भएकाले रगत दान गरेर अरूको ज्यान बचाउन उहाँले अनुरोध गर्नुभयो । रगत लिनेलाई पनि कुनै हानि हुँदैन । जुन समूहको रगत हो त्यही रक्त समूहका बिरामीलाई प्लाज्मा झिकेर दिइन्छ । रक्त समूह भने फरक पर्नुहुँदैन । विश्वका विकसित देशले भने यसरी रगतको प्लाज्मा निकाल्नेभन्दा पनि नयाँ प्रविधि सहितको मेसिनबाट सीधै दाताको रगतबाट प्लाज्मा मात्र निकालेर अन्य बिरामीलाई दिने गरिन्छ ।

नेपालमा भने यो प्रविधि शिक्षण अस्पतालमा मात्र उपलब्ध छ । यही अस्पतालमा सङ्क्रमण कडा भएर उपचार गर्न पुग्नुभएका डा. धु्रव गैरेलाई प्लाज्मा थेरापी विधि प्रयोग गरिएको थियो । मेसिनको सहायताले शरीरबाट सीधै प्लाज्मा निकाल्दा एक पिन्ट रगतबाट तीन जनालाई प्लाज्मा दिन मिल्छ । सामान्य रूपमा रक्तदान गरेर प्लाज्मा छुट्याउँदा भने दुई जनालाई मात्र प्लाज्मा दिन मिल्छ । विश्वमा हालै भएको अध्ययन अनुसार प्लाज्मा दिएकामध्ये ५७ प्रतिशत कोरोना सङ्क्रमित निको भएको पाइएको छ । नेपालमा विभिन्न २२ वटा अस्पतालमा प्लाज्मा थेरापीको परीक्षण भइरहेको छ । अध्ययनको थप निष्कर्ष भने केही दिनमा पूर्ण रूपमा आउने परिषद्ले जनाएको छ ।-गोरखापत्र अनलाइनबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्