मुकेशप्रसाद जाेशी, कञ्चनपुर
आन्तरिक पर्यटकलाई आकर्षित गर्दै आएको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ चुरे पर्वत श्रृंखलामा रहेको बतासे झर्ना नियाल्न आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गरेका छन् । कोभिड–१९ तथा कोरोना भाइरसको जोखिम बढ्नसक्ने भन्दै वडा कार्यालयले लकडाउन अवधिभर बतासे झर्ना आवतजावतमा रोक लगाएको थियो । बर्खायामको प्रचण्ड गर्मी छल्न तराईबाट उल्लेख्य संख्यामा बतासे पुग्ने गरेका छन् ।
पर्यटकहरु झर्नामा पुगेर त्यसको मनोरम दृश्य देखेर रोमाञ्चित मात्रै हुदैँनन् झर्नाको पानीमा नुहाउन र पौडीको मज्जा लिनसमेत पछि हट्दैनन् । चिसो, कञ्चनपानी र वाह्य कोहालह बाट टाढा रहेको यस क्षेत्रमा पुग्दा जो कोहिको मन लोभ्याउन सक्छ । गाडीको यात्रापछि एक घण्टाको पैदल यात्रापछि जब चुरेको डाँंडामा रहेको झर्नासम्म पुगिन्छ उखर्माउलो गर्मी र उकालो चढदाको पीडा सबै बिर्साउँछ ।
बनहरा नदीको शिरानमा रहेको बतासे झर्ना हालै पत्ता लागेको हो ।
सामाजिक सञ्जाल फेसबुकलगायत विभिन्न सञ्चार माध्यममा यसबारे जानकारी बाहिर आएपछि यहांँ जानेको भीड बढेको छ । धारापानीबाट करिब एक/डेढ घण्टा उकालो चढेपछि बतासे झर्ना पुगिन्छ ।
‘पहाडको माथिबाट झर्दै गरेको निश्चल पानी बगेको झर्नाको दृश्य देखेर मन्त्रमुग्ध नहुने कोही छैन । झर्नाको संरक्षण गरी पर्यटकलाई यस क्षेत्रमा पुग्नका लागि भौतिक पूर्वाधार बनाउनमा सबैले जुटनुपर्ने देखिन्छ । झण्डै दुई सय फिट माथिबाट खस्ने झरनाबाट चिसो हावा बहने भएकाले यसलाई बतासे झर्ना भन्ने गरिएको वडा अध्यक्ष बहादुर सिंह महराले बताए ।
दुईतर्फ कडा चट्टान भएको साघुँरो ठाउँबाट झर्ना झर्ने गरेको छ । झर्नाको दृश्य अलौकिक रहेको र झर्नासँगै एकान्तमा रम्नेहरुका लागि यो गतिलो गन्तव्य नै बन्न पुगेको छ ।
चारैतिर हरियाली जंगल अनि चराको चिरविर आवाज सुन्दै झर्ना भएको ठाउँमा हिँडदै गरेका बेला नजिकैबाट चितुवा, लगुना, बँदेल लगायतका जंगली जनावर उफ्रिँदै हिँडेको दृश्यले मनमा नयाँ उमंग थप्ने गरेको छ । वडा कार्यालयले धारापानी गाउँसम्म झर्ना पुग्नका लागि सडकको ट्रयाक खोलेको छ । पूर्वपश्चिम राजमार्गको झलारीदेखि धारापानी गाउँसम्म मोटरसाइकल लगायतका सवारीसाधनमा चढेर सहज रुपमा पुग्न सकिन्छ ।