काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहले तत्काल केद्रीय समितिको बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको छ ।
पार्टीमा देखिएको विवादका विषयमा बिहीबार बालुवाटारमा प्रधानमन्त्री केपी ओली अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच भएको छलफलमा सहमति नजुटेपछि ओली पक्षले बालुवाटार र प्रचण्ड पक्षले खुमलटारमा आफु निकटका नेताहरुसँग छलफल गरेका थिए ।
खुमलटार छलफलमा सहभागी एक स्थायी समिति सदस्यका अनुसार भोलि बस्ने स्थायी समितिले केन्द्रीय समिति बैठक बोलाउन र मिति तोक्न दवाव दिने खुमलटारमा भेलाले निश्कर्ष निकालेको छ ।
बालुवाटारबाट प्रचण्ड र नेपाल फर्किएपछि खुमलटारमा सचिवालय सदस्यहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल, जनार्दन शर्मा, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्टलगायतका नेताहरुबीच करिव ४ घण्टा छलफल भएको थियो ।