चारै तिरबाट सुन्दरताले भरिपूर्ण रहेको
लाखौं नगरवासीको सपना बोकेर बसेको बजार
खानेपानी, सडक र स्वास्थ्य क्षेत्रको मात्रै हैन
विद्युत, सञ्चार, शिक्षा र सुरक्षाको सहज सुविधा
अब त भन्न मनै लाग्यो,
आधुनिक युगका सुविधासम्पन्न शहरहरूलाई
पछाडि पन्छ्याउंदै हिनिरहेको शहर
यो हो मेरो गोकुलेश्वर।
तर खै कसरी भनुं मनको दुःख
कतै सडक पिचमा र बिच सडकमा पानि जम्छ भने
अलिकति ढुङ्गा माटो फालिदिए पुग्छ,
सडकबाटो छेकेर निर्माण सामग्री जम्मा गरेर
अर्को वर्ष घर निर्माण गरेपनि हुन्छ, फूटपाथलाई आफ्नै सम्झेर
फलफुल र तरकारी मात्रै हैन
भिन्न-भिन्न पसल थापे पनि हुन्छ,
धन कमाउने मान र सान बढाउने यातायात साधनहरू घर अगाडिको बिच बाटोमा
निजी ग्यारेज मानेर जती राखे पनि हुन्छ,
कसैलाई केही भन्दैन, कति सहनशील छ
कठै! यो मेरो शहर गोकुलेश्वर।
सालै पिच्छे सडकबाटो लाई छाता ओढाए झैं
भवनहरू तला तला गरेर आकासिदै छन्
माथिल्लो तलामा बसेर फोहोर सामान
सडकबाटो तिर फालिदिए पनि के भो र
ढलमा फोहोर राख्न ठाउं छैन भन्न पाएकै छन्
बजार भरी रहेका ढलहरू ले
ठेकेदार र इन्जीनियर को कला त बोकेकै छन्
कति उद्यमशील छन् शहरीयाहरू
अगाडी व्यापार पछाडि गौशाला बनाएका छन्
गाई बाख्रा पाल्नु त सामान्य भो
कसैले त च्वांचे र कुखुरा पालेका छन्
कतै नगरपालिकाले अनुगमन गर्यो भने
पाखुरा सुर्कन र घुक्रयाउन जानेका छन्
दैनिक खाद्यवस्तुको अभाव भएनी
खुला झोल र बन्दी बोतल गाऊं-गाऊंमा पठाएका छन्
छलकपट व्यापारीले सोझासाजा गाउंलेसंग मिठो बोल्छन
विभिन्न अर्थोपार्जन का सामग्री भित्र्याए संगै १ को २ दिने गरी
जे जति चाहिएनी सामान उधारो दिन्छन,
कति दयालु छन् मेरा गोकुलेश्वरबासी हरू
स्थानीय धर्म र संस्कृति भन्दा
छिमेकी देशको संस्कृति ले
बजार होस कि गाउं
घर होस कि कार्यालय
साना होस वा ठूला
सबै सबै मांझ,सम्मान पाएको छ,
अन्त भन्दा अलिक फरक छ कि
विकृति च्याप्प समातेर कृति राख्दै छ
रंगीन संसारको पछि दौडेर
दिउंसै ढुल्मुलाउंदै हिड्छ
ठुला-ठुला होटलका लजहरूमा
सडकबाटोका पेटीहरू,कतै छहारीहरूमा
उन्मात यौवन मस्त जवानीको
प्यास बुझाउंछ
धाक धम्की,डर-त्रास देखाई दुनियां खाने
गजबका चोरहरू
ति चोरहरू गाऊं-गाऊँ, ठाउँ-ठाउंभरी छन्
गल्ली गल्ली भरी छन्, शहर शहर भरी छन्
हल्ली रहेका छन्, छिद्र खोजिरहेका छन्
टाउको छिराएर सुटुक्क खाने दाउ खोजिरहेका छन्
गजबका चोरहरू, उता गए उता ठिक
यता आए यता ठिक्क, यता जिते यता जुलुस मा
उता जिते उता जुलुस मा
गजबका छन् ठुलो स्वर भएका आधुनिक भ्रष्ट चोरहरू
नेता भनाउंदा जनताको रगत चुसेर भ्रष्टाचार गर्छन
नहुने बिचाराहरू गाईबस्तु चराउंछन्
जो नेता भएनी के भो र पुरस्कार मै पाउंछु
रेडियो टिभी पत्रपत्रिका जताततै मै छाउंछु
आलोचना जे होस सिफारिस समिति म त सक्षम देख्छु
गुनगान को गाथा गाउन छोडि बिचारहरूको कथा किन लेख्छु?
मिठो भाषण छाटी विकाशे आश्वासन बाडी उ नेता भयो
त्यो कुर्सी के रहेछ त्यस्तो आफ्ना संम्झियो उसले अरू बिर्सियो
दुःखी बने जनता गर्थे के? चुनाव मा आएसी ‘देख्लास’ भने
चुनाव आयो,बिचरा नमिठो मानी आफ्नै पार्टी भनि छापहाने
नेताका भाषण र उनीहरूका पाल्तु कुकुर जीवित रहे
नेताहरू चुम्बनवाला कुर्सी मा टांस्सिइरहे
गरीबका नाममा यो शहर लाई बेचिदिए
र पनि गरीबका सपना सपनामै सीमित रहे
गरीब,दुःखी जनताहरू को लागी त यो शहर दिन बिताउनै ग्राहो भएको छ
असह्य,अपाङ्ग र बेसाहारा मानिसका लागी यो शहर दिन बिताउने थलो बनेको छ
शहर गल्ली-गल्ली र सडकपेटीमा
गरीब,असह्य,बेसाहारा मगन्ते मानिस भेटिन्छन्
तिनै गरीब,असह्य र मगन्ते लाई कसैले त छि-छी ,थु-थु गरेर हिडिरहेका छन्
यो शहर ले कसैलाई शिक्षा ले महान बनाएको छ
यो शहरले कसै-कसैलाई रक्सी र जुवातास ले घरबारविहीन बनाएको छ
दिन दहाडै कसैलाई यो शहर ले बलात्कृत बनाएको छ
आफ्नै दिदी-बहिनी माथि यो शहर ले कसै-कसैलाई गिद्धे नजर लगाउन दिएको छ
मननै नभएका कतिपय व्यापारी र ठेकेदार हरूलाई यो शहरले गरीबहरू लाई ठग्न दिएको छ
दैनिक पसिना बगाएको ज्यालामजदुरी नपाएर कसै-कसैलाई यो शहर ले मर्न बाध्य गरेको छ
शहर का मैं हूं भनाउदा ठुलाहरूले गरीबहरू लाई दिनहु हेप्दै र थिच्दै छन्
गरीबहरू भाग्य नै खोटो रहेछ भनेर रात-दिन आफ्नो झुपडिमा गास नपाएर रूदैछन्
कतिपय भ्रष्ट हरू लाई यो शहर ले मालामाल गरिदिएको छ
जनता को रगत -पसिना चुसी करोडौं का महल ठडाइदिएको छ
गरीब जनता जहाँ बाट पनि यो शहर मा हेपिएका,थिचिएका छन्
समाजको उचित न्याय नपाएर दबिएका,थिचिएका छन्
भ्रष्ट हरू ले त दैनिक मिठो मिठो खान पाएका छन्
सोझासाजा गरीब जनता लाई दिउंसै ठग्न र ढांट्न पाएका छन्
सङ्कटमा सुयो र मार्चिस नपाइने शहरमा रक्सीका बोतल र जुवा का गड्डी पाइदैछन्
खाद्यान को सट्टा गाउं-गाउं मा रक्सी का पेटी र जुवा का गड्डी पठाइदैछन्
कस्तो बिडम्बना,पौरख गरे जस्तो गौरवान्वित छ
कसैलाई केही भन्दैन,कति सहनशील यो मेरो शहर गोकुलेश्वर
कविता रचनाकार : निर्भिक बोहरा, रानीशिखर,कांडापारी दार्चुला