‘ऐतिहासिक कम्युनिष्ट आन्दोलन दार्चुलाका संस्थापक एक असल राष्ट्रबादी योद्धा ओझेलमा’

बिष्णुसिंह बोहरा

बीरबहादुर ठगुन्ना ज्यू को नाम कम्युनिस्ट आन्दोलन दार्चुलामा अग्रपङ्क्तिमा आउँछ। प्राय: बीरबहादुर ठगुन्ना ज्यु लाई नचिन्ने दार्चुलाबासी जनता कमै मात्रामा होलान। उनको जन्म वि.सं २०१० साल फाल्गुन 3 गते दार्चुला जिल्लाको मार्मा अन्तर्गत खार सुन्डमुन्डमा एक मध्यम वर्गीय क्षेत्री परिवारमा भएको थियो । उनले त्रिभुवन विश्व विद्यालय कृतिपुर बाट भुगोल विषयमा स्नातक सम्मको शिक्षा लिएका थिए। पढाईमा निकै अब्बल उनले निजामति सेवा तर्फ प्रा.वि.नि.को रूपमा डंडेलधुरा मा 2 बर्ष सेवा गरेका थिए । उनी सानै देखी कम्युनिस्ट बिचारधारा बाट प्रभावित भएपनि औपचारिक रूप मा वि.सं २०३० साल देखी बामपन्थी राजनीतिमा होमिएका थिए । राजनीतिक जीवनको दौरानमा वि.सं २०३५ साल साउन देखी अखिल नेपाल काठमाण्डौंसँग सम्पर्कमा, वि.सं २०३५ साल माघ देखी अनेरास्ववियु सँग सम्पर्क कृतिपुर, वि.सं २०३७ साल असोज देखी नेकपा मालेमा आबद्ध काठमाण्डौं, वि.सं २०४७/०३/१२ देखी नेकपा ईकाइ कमिटी सचिव बुङ्गल क्षेत्र (बझाङ), वि.सं. २०४७/१२/१५ देखी वि.सं. २०६४/०५/२५ सम्म बीचको एक अवधि बाहेक नेकपा एमाले जिल्ला कमिटी सचिव (दार्चुला), वि.सं. २०६५/१२/११ देखी हाल सम्म नेकपा केन्द्रीय अनुशासन आयोग सदस्य रहेर उनी राजनीतिक वृतमा क्रियाशील छन्।

उनी पार्टी को पाचौं देखी नवाैँ सम्म लगातार महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका थिए । विभिन्न राष्ट्रीय भेला, सम्मेलन, परिषद, गोष्ठीमा पनि उनी सहभागी भएका थिए । उनको जनक्रान्ति को पृष्ठभूमि हेर्दा वि.सं. २०३५-२०३७ साल सम्म बिद्यार्थि आन्दोलनमा सक्रिय सहभागी, विभिन्न राजनीतिक तथा सामाजिक आन्दोलनमा सहभागी, वि.सं. २०६२/६३ को संयुक्त जनआन्दोलनमा दार्चुला जिल्लाको संयोजक को रूपमा आफ्नो क्रान्तिकारी जीवन व्यतीत गरेका थिए। राजनीतिक सेवा को रूपमा उनले वि.सं २०४९ -२०५४ साल सम्म जि.वि.स.सदस्य दार्चुला, वि.सं २०५१ चैत्र देखी २०५२ असोज सम्म सुकुम्बासी समस्या समाधान आयोग अध्यक्ष दार्चुला, वि.सं. साल सम्म २०५४-२०५६ साल सम्म जि.वि.स.उपसभापति दार्चुला, वि.सं २०४८ सालको महानिर्वाचनमा दार्चुला बाट नेकपा एमालेको तर्फ बाट सांसद उमेदवार ३१०० मत प्राप्त, वि.सं २०५६ सालको निर्वाचनमा पनि दार्चुला बाट सोही पार्टीको तर्फ बाट उमेदवार १७००० मत प्राप्त, वि.सं २०६४ सालको संविधान सभा सदस्य समानुपातिक उमेदवार दार्चुला, समाज कल्याण परिषद केन्द्रीय कोषाध्यक्ष (हाल निलम्बित) यसरी उनले आफ्नो सिङ्गो जीबन लाई राजनिति मा समर्पित गरेका थिए।

विभिन्न आन्दोलनमा सहभागी भए पश्चात उनी पटक-पटक गिरफ्तारी मा पनि परेका थिए । वि.सं २०४१ साल साउन देखी वि.सं २०४२ चैत्र सम्म उनलाई पार्टीको प्रचार-प्रसार गरेबापत राजकाज मुद्दा लगाइएको थियो । उनले तारिख पछि त्यो मुद्दामा सफाई पाएका थिए । उनले जीवनको श्रृंखलामा विभिन्न पुरस्कार पनि प्राप्त गरेका थिए । उनले प्राप्त गरेका पुरस्कारमा राष्ट्रीय शिक्षा पुरस्कार (२०३९) राष्ट्रीय शिक्षा समिति नेपाल, दुई ग्रेड थप (२०४२) जिल्ला शिक्षा समिति बझाङ,सेती शिक्षा परियोजना बाट क्रमशः प्रथम, द्वितीय, तृतीय पुरस्कार प्राप्त गरेका थिए । उनले सेती शिक्षा परियोजना बाट फिलिपिन्स को 6 हप्ते शैक्षिक भ्रमण पनि गरेका थिए ।

उनको स्वास्थ्य स्थिति वि.सं 2051 साल देखी उच्च रक्तचाप, ग्याष्टिक र युरिक एसिड को नियमित उपचार गरिरहेका र हाल उनी क्यान्सर बाट पिडित छन् ।  कठोर पञ्चायती शासन व्यवस्थाको बेलामा पनि उनी बझाङ मा प्रधानाध्यापक रहेका बेलामा पार्टीको विकास र भविष्यका निम्ति प्रचुर मात्रामा बिद्यालय मै टेपको माध्यम द्वारा जननेता मदन भण्डारी ज्युका भाषण विद्यालयका शिक्षक लगायत विद्यार्थीहरू लाई घन्टौं सम्म सुनाइरहन्थ्ये। यति मात्रै होइन, उनी बुङ्गल क्षेत्रको गाऊं-गाऊं, बस्ति-बस्तिमा गएर पार्टी को प्रचार- प्रसार गर्दथे । उनको यस काम बाट बहुतै प्रभावित भएर त्यहां का जनता हरू कम्युनिस्ट प्रति लोभिन थाले । त्यो क्षेत्रमा बीरबहादुर ज्यु को यस कामले कम्युनिस्ट प्रति जनता को आर्कषण तिब्र गतिमा बढ्न थाल्यो । बीरबहादुर जी को यस हर्कत बाट पञ्चायती शासक लाई असह्य भएर उनी माथि राजकाज मुद्दा लगाइयो । त्यसमा पनि उनी सरकारी कर्मचारी भएकाले खुला रूपमा पार्टीको प्रचार-प्रसार गर्न पाइदैन्थ्यो। यस्तो बिषम परिस्थिति हुदा हुदै पनि उनले आफ्नो जागिर लाई नै धरापमा राखेर पार्टी को प्रचार -प्रसार मा हिडिरहे।

उनी राजकाज मुद्दा लाग्दै गर्दा पनि पार्टीको भविष्यका निम्ति प्रचार -प्रसार बाट कति पनि पछि हटेनन् । वि.सं २०४८ सालको महानिर्वाचन का लागी जागिर छोडेर पार्टी बाट चुनाव लड्न नेकपा एमालेले निर्देश गर्यो । उनले तत्काल जागिर छोड्न सक्ने स्थिति नरहेकाले पारिवारिक अवस्था धान्न मुस्किल पर्ने भएकाले अरू योद्धा लाई मिलाउन आग्रह गर्दा पनि पार्टीले मानेन । पार्टीका नेता बामदेव गौतम जी ले तपाईले जसरी पनि प्रधानाध्यापक बाट राजीनामा दिएर पार्टीका निम्ति चुनाव लड्नै पर्छ भन्दा पनि उनले अहिले राजीनामा दिन नसक्ने बरू पार्टी को भबिष्यका निम्ति रू:१५ सय लिपु तिर्ने घोषणा गर्दा पनि उनलाई पार्टीले प्राचार्य बाट राजीनामा दिन बाध्य गरायो । अन्ततः उनले प्राचार्य बाट राजीनामा दिए । वि.सं २०४८ सम्म दार्चुला जिल्ला मा कम्युनिस्ट हरू को त्यति धेरै प्रभाव थिएन । बीरबहादुर जी ले दार्चुला जिल्ला लाई कम्युनिस्टमय बनाउन जननेता मदन भण्डारीलाई दार्चुला लगेर पार्टी को प्रचार- प्रसार गर्न थाले । जननेता मदन भण्डारी जी को लोकप्रिय भाषण बाट दार्चुलाबासी जनता लोभिएर बिस्तार बिस्तारै कम्युनिस्ट प्रति आकर्षित हुन थाले । आफ्नो एउटा सरकारी जागिर त्याग गरेर पार्टी को भविष्य का निम्ति रात-दिन खटिदै गर्दा उनलाई पार्टी ले वि.सं २०४८ सालको महानिर्वाचनमा दार्चुला बाट उमेदवार बनायो । तर कम्युनिस्टहरू भर्खरै दार्चुला जिल्लामा पैदा हुन थालेकाले चुनाव जित्न सहज थिएन ।

४८ सालको चुनावमा 3100 मत ल्याएर पनि हार्न पुगे । यस पछि पनि उनी पार्टीको भविष्यका निम्ति रात-दिन काम गरिरहे। ५१ सालको मध्यावधि चुनावमा २८ सालमा बसाई सरी कञ्चनपुर गईसकेका स्वर्गीय प्रेम सिंह धामी ज्युले ४८ सालमा कञ्चनपुर बाट चुनाव हारेका हुनाले ५१ सालमा टिकट नपाउने पक्का भएपछि उनका लागी कांही पनि चुनाव लड्न सक्ने वातावरण थिएन । तर पनि बीरबहादुर जी ले पार्टीको भविष्यका निम्ति व्यक्तिगत स्वार्थ त्याग गरेर प्रेम सिंह धामी ज्यु लाई दार्चुला बाट चुनाव लड्ने वातावरण मिलाई दिए । ५१ सालको चुनावमा बीरबहादुर जी धामी जी संगै दार्चुला का कुना काप्चा सम्म चुनाव का लागी पार्टी को प्रचार -प्रसारमा हिडे। किनभने बीरबहादुर जी लाई जति नजिक बाट दार्चुलाबासी जनता धामी जी लाई चिन्दैन थिए । तत्पश्चात धामीजीले ५१ सालको चुनाव जित्न सफल भई मन्त्री पनि बने । अनि बीरबहादुर जी लाई पार्टी ले छोटो समय का निम्ति सुकुम्बासी समस्या समाधान आयोग दार्चुलाको अध्यक्ष बनाई दियो ।

६ महिनामै उनलाई त्यो आयोग को अध्यक्ष बाट हटाइयो। यस बिचमा पनि उनी पार्टी को काममा नै सक्रिय रहे। ५६ सालको निर्वाचनमा पार्टी बाट टिकट पाई चुनाव लडे । तर दुर्भाग्यवस १७ हजार मत प्राप्त गर्दा पनि चुनाव हार्न पुगे। ६४ सालको संविधान सभाको पहिलो निर्वाचनमा उनले आफु भन्दा निकै पछाडि का योद्धा गणेश ठगुन्ना जी लाई चुनाव लड्ने अवसर प्रदान गरे । तर गणेश जी पनि त्यो चुनाव हार्न पुगे । २०७० र ७४ सालको चुनावमा पनि उनी गणेश जी लाई नै समर्थन गरी चुनाव प्रचार- प्रसारमा रात-दिन खटिएर लागे। फलस्वरूप गणेशजी ले दुई वटै चुनाव जित्न सफल भई अहिले प्रतिनिधि सभा सांसद छन् । राष्ट्रीय मुद्दा कालापानी को बिषय मा कुरा गर्दा उनले सबैभन्दा पहिले जि.वि.स.प्रतिनिधि को हैसियत ले कालापानीको स्थलगत भ्रमण गरी जननेता मदन भण्डारी ज्यु लाई प्रतिवेदन बुझाएका थिए।

तर बिडम्बना पुर्व सहयात्री योद्धा अहिलेका माननीय गणेशजीले आफ्ना पुर्व योद्धा बीरबहादुरजीको नाम संसद मा कालापानी को बिषय उठान गर्दा पुर्व योद्धाको ऐतिहासिक योगदानको क्षण भुले । यति मात्रै होइन, उनै बीरबहादुर जीले साथ समर्थन गरी दुई वटै चुनाव जितेका गणेशजीले सामाजिक सञ्जालमा समेत बीरबहादुरजीको ऐतिहासिक योगदान को कदर गर्न भ्याएनन् । बरू पञ्चायत कालका ऐतवालको चर्चा गरे । माननीय गणेशजीले २०७० साल पछिका कुनै पनि दिनमा बीरबहादुर जीको योगदान को चर्चा सम्म गरेका छैनन् । ऐतिहासिक योगदानको चर्चा त कुरै छोडौं, आजभोलि माननीय गणेश जी बीरबहादुर जी को नाम मात्रै उच्चारण गर्न हिच्किचाउछन । पार्टीका निम्ति आफ्नो पुरै जीवन पार्टीको सङ्घर्स मै बिताएका र महत्वपुर्ण चिज पार्टीको भाग्य र भविष्यका निम्ति त्याग गरेका बीरबहादुर जी लाई पार्टीले समाज कल्याण परिषदको कोषाध्यक्ष बनाएर गुन तिर्ने कोशिस गरेपनि गुन तिर्न नपाउंदै उनलाई उनकै पार्टी सरकारले निलम्बन गर्यो।

बिना गल्ति निलम्बन गर्दा लामो समय जीबन भरी पार्टीका निम्ति काम गरेका बीरबहादुरजीको आत्मामा कति चोट पुगेको होला, हामी कल्पना सम्म गर्न सक्दैनौ । पार्टीका निम्ति सरकारी जागिर त्याग गरेका बीरबहादुरजी लाई पार्टीले अन्तिममा बिना गल्ति निलम्बन गर्दा उनको आत्मा मा कति चोट पुगेको होला ? पार्टी र मुलुकका निम्ति लामो समय सम्म सङ्घर्स गरेका बीरबहादुरजीलाई अहिले उनको पार्टीले राजनीतिक रूपमा बेसाहारा, सडकछाप बनाएको छ। पार्टी र उनका सहयोद्धा गणेशजीले बीरबहादुरजी लाई ओझेलमा पारेका छन । उनको ऐतिहासिक योगदानको कदर सम्म पार्टी र सहयोद्धाले गर्न सकेका छैनन् । पार्टी र सहयोद्धा ले भुलेपनि दार्चुलाबासी जनताले बीरबहादुरजी लाई युगौं युग सम्म सम्झिरहनेछन । उनी एक दार्चुलाका ऐतिहासिक कम्युनिस्ट आन्दोलनका जन्मदाता हुन् । तर बिडम्बना पुरै जीबन पार्टी का निम्ति व्यतीत गरेका बीरबहादुरजीलाई अहिले उनकै पार्टी र सहयोद्धा ले ओझेलमामा पारेका छन्।

लेखक : बिष्णु सिंह बोहरा,  रानीशिखर कांडापारी

शिक्षा:प्रमाणपत्र तह बाली विज्ञान

 

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्