बेला बखत श्रीमान–श्रीमतीबीच मनमुटाव हुनु, ठाकठुक पर्नु सामान्य हो । पारिवारिक जीवन चलाउने क्रममा कतिपय कुरामा उनीहरूको मन मिल्दैन । त्यही कारण झगडा हुन्छ । वास्तवमा दम्पतीबीच हुने यस्ता झगडाले उनीहरूलाई थप परिपक्क र व्यवहारिक पनि बनाउँदै लैजान्छ ।
यद्यपि यो स्थिति सधैं कायम रहे वा बारम्बार यस्तै अवस्था दोहोरिएमा त्यो सामान्य मान्न सकिँदैन । दम्पतीबीच हुने मनमुटाव एवं झगडा उनीहरूमा मात्र सीमित हुँदैन । त्यसले सबैभन्दा बढी उनीहरूका बालबच्चालाई पिरोल्छ, त्यसपछि आमाबुबालाई । परिवारका सदस्य, आफन्त, इष्टमित्रलाई समेत असर गर्छ । घर–व्यवहार चलाउने क्रममा सानोतिनो विवाद हुन्छ । तर, कतिपय दम्पतीको प्रवृत्ति नै झगडालु हुन्छ । उनीहरू स–सानो निहुँ निकालेर झगडा गर्न खोज्छन् । कुनै पनि कुरामा सम्झौता गर्दैनन्, संयम अपनाउँदैनन् । मुखमा जे आयो, त्यही बोल्छन् । आपसमा झगडा हुन्छ । आफ्नो झगडाले गर्दा परिवारमा कति अशान्ति छाएको छ भन्ने समेत हेक्का राख्दैनन् ।
त्यसबाहेक पनि कतिपय स–साना कुरा हुन्छन्, जसले दम्पतीबीच आशंका वा बेमेलको स्थिति बनाइरहन्छ । जस्तो कि एकले अर्काको कुरा सुन्दै नसुन्ने । कुनै पनि कुराको निर्णय गर्दा एकले अर्काको बेवास्ता गर्ने, आफू खुसी हिँडडुल गर्ने । आफ्नो कुनै पनि कुरा सुनाउँदै नसुनाउने ।
हुन त कतिपयको स्वभाव के हुन्छ भने खुलेर नबोल्ने । उनीहरू आफ्ना श्रीमान वा श्रीमतीसँग मात्र होइन, अरू कसैसँग पनि खुलेर कुरा गर्दैनन् । एकलौटी निर्णय लिने गर्छन् । तर जानीबुझी आफ्ना श्रीमती वा श्रीमानसँग खुल्न नचाहनु, केही कुरा लुकाउनु, कुनै पनि कुरा साझेदार नगर्नु भनेको एक हिसाबाले भावनात्मक अत्याचार हो । श्रीमान वा श्रीमती दुवैजना एकै प्रवृत्तिका हुँदैनन् । उनीहरूमध्ये एक जनाले पारिवारिक मर्यादा बुझेका हुन्छन् । उनीहरू दाम्पत्य कलहले पार्न सक्ने असरबारे सचेत हुन्छन् । सामाजिक प्रतिष्ठा कायम राख्ने सोच हुन्छ । त्यसैले उनीहरू पार्टनरको खराब बानीलाई पनि ढाकछोप गरेर बस्छन् । अरूको सामु त्यस्ता कुराहरू उनीहरू व्यक्त गर्दैनन् । त्यस्ता कुरा आफ्नै पार्टनरसँग पनि खुलेर विरोध गर्दैनन् । बरु सहन्छन्, चुपचाप बस्छन् । तर, अर्का पार्टनरले यसलाई नै कमजोरी ठान्छन् । यही कमजोरीमा टेकेर अरू अत्याचार गर्न थाल्छन् ।
आफ्ना जीवनसाथीसँग कुनै पनि कुरा साझेदार नगर्नु वा उनको हरेक कुरामा असहमत हुनु पनि भावनात्मक अत्याचार मानिन्छ । अत्याचार भन्नासाथ कुटपिट वा शारीरिक रुपमा कुनै हिसाबले यातना दिनुलाई मानिन्छ । तर भावनात्मक अत्याचार शारीरिक यातनाभन्दा बढी पीडादायी हुन्छ । त्यसैगरी कतिपय श्रीमान वा श्रीमतीको पार्टनरलाई होच्याउने बानी हुन्छ । कुनै पनि कुरामा आफू मात्र जान्ने छु भन्ने र पार्टनरको हरेक कुरामा टिप्पणी गर्ने प्रवृत्ति हुन्छ । कोही पनि मान्छे आफैँमा पूर्ण हुँदैनन् । हरेकको आफ्नै गुण हुन्छ र दोष पनि । पार्टनरलाई आफूजस्तै देख्न खोज्नु वा उनमा पूर्णता खोज्नु पनि एक किसिमको अत्याचार नै हो ।
दाम्पत्य जीवनमा भौतिक सुख–सुविधा मात्र पर्याप्त छैन । अक्सर श्रीमानमा कमाइ गरेर ल्याएको छु, खाना दिएको छु, लगाउन दिएको छु, किनमेल, घुमफिर, मनोरञ्जन सबै कुरा पूरा गरिदिएको छु् भन्ने सोच आउँछ । यसैगरी अक्सर श्रीमती भान्साको काम सम्हालेकी छु, बालबच्चा स्याहारसुसार गरेकी छु, लुगाफाटो धुने, घर सफा गर्ने सबै काम भ्याएकी छु भनेर सोच्छन् । दाम्पत्य जीवनमा यस किसिमको व्यावहारिक तालमेल चाहिन्छ । तर यो आफैँमा पर्याप्त छैन । दाम्पत्य सम्बन्धलाई अरू प्रगाढ बनाउनका लागि एकअर्काबीच भावनात्मक साथ र सहयोग पनि आवश्यक हुन्छ । श्रीमान् र श्रीमतीले एकअर्कासँग खुलेर कुराकानी गर्नु आवश्यक हुन्छ । घर–व्यवहारको कुरामा मात्र होइन, भावनात्मक कुरा पनि हो ।
धेरैजसो अवस्थामा श्रीमान वा श्रीमतीले एकअर्काको रुचि, चाहना, इच्छा, आकांंक्षाबारे त्यति खुलेर बहस गर्दैनन् । व्यक्त नगरे पनि आफ्नो कुरालाई पार्टनरले बुझेका छन् वा बुझ्नुपर्छ भन्ने धारणा राख्छन् । आफ्ना स–साना रुचिको कुरा मात्र होइन, घर–व्यवहारको कुरामा पनि उनीहरू यस्तै सोचाइ राख्छन् । सामान्य लागे पनि यही कुराले दम्पतीबीच मनमुटाव ल्याउँछ । त्यसैले दम्पतीबीच यस्ता कुरामा आपसी संवाद हुन जरुरी छ । उनीहरूले आफ्नो व्यक्तिगत रुचि, धारणादेखि पारिवारिक योजनासम्मका कुराहरू एकअर्कासँग साट्नु आवश्यक छ । यसरी भावनात्मक रुपमा एकढिक्का भएपछि मात्र व्यवहारिक तालमेल मिलाउन सहज हुन्छ । अनलाइनखबरबाट