काठमाडौं – सरकारले विहीबार घोषणा गरेको आर्थिक वर्ष ७७/७८ को बजेट पछि सुनको प्रतितोला मूल्यमा २३ सय ३२ रुपैयाँले भार थपिएको छ । कर वृद्धिपछि यसअघि निर्धारण हुँदै आएको मूल्यमा अब साढे २३ सय रुपैयाँ थपेर मात्रै नयाँ मूल्य तोक्न सकिने अवस्था भएको हो ।
यसअघि प्रति १० ग्राम सुनमा ६ हजार पाँच सय रुपैयाँले लाग्दै आएको भन्सार महशुल बजेटपछि दुई हजार रुपैयाँले बढाएर ८ हजार ५ सय रुपैयाँ पुर्याइएको छ । एक तोला सुनमा ११.६६४ ग्राम सुन हुन्छ ।
यस्तै चाँदीमा प्रतिकिलो ७५ हजार रुपैयाँ लाग्ने भन्सार महशुल १० हजारले बढाएर ८५ हजार रुपैयाँ पुर्याइएको छ । साबिकको भन्सार महशुलमा सुनको प्रतितोला भन्सार महशुल ३१ प्रतिशतले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्यले बताए । यस्तै चाँदीको भन्सार महुशुल पनि १३ प्रतिशतले बढेको शाक्यको भनाइ छ ।
‘लकडाउन र अन्तर्राष्ट्रिय बजामा बढेको मूल्यले शिथिल बनेको सुन चँँदी व्यवसायलाई सरकारले बजेट मार्फत आहात दिएको छ, अर्थमन्त्रालयसंग छलफल गछौँ,’ वरिष्ठ उपाध्यक्ष शाक्यले भने । एक तोला सुनमा झण्डै १० हजार रुपैयाँ भन्सार संसारमा कतै नभएको भन्दै उनले सरकारी कदमप्रति आपत्ति जनाए ।
दुई महिनादेखि बन्द रहेको सुन चाँदी व्यवसाय सरकारको कदमले थप धरासायी हुनसक्ने महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । भन्सार बढाउँदा व्यवसायीभन्दा उपभोक्ता बढी मार पर्ने विषय भएका बज्राचार्यको भनाइ छ ।