काठमाडौं – एसीसी पुरुष प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा ओमानले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा केहीबेरमा सुरु हुने खेलमा नेपाल पहिले ब्याटिङ गर्दै प्रतिस्पर्धी योगफल बनाउने लक्ष्यमा हुनेछ ।
नेपाल समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेको हो । नेपालले समूह चरणका पहिलो तीन खेलमा लगातार जित निकालेको थियो भने अन्तिम खेलमा हङकङसँग १५ रनले पराजित भएको थियो । समान ६ अंक भए पनि राम्रो रनरेटका आधारमा नेपाल समूह विजेता बनेको हो ।
ओमान भने समूह ‘बी’ को उपविजेता बनेर सेमिफाइनलमा पुगेको हो । अब आजको खेलको विजेता टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ ।
नेपालले ओमानविरुद्ध पछिल्ला खेलमा मिश्रित नतिजा बेहोरेको छ । यसअघि अप्रिलमा भएको विश्वकप लिग–२ को खेलमा ओमानले नेपाललाई १०२ रनले पराजित गरेको थियो भने मेमा भएको अर्को खेलमा नेपालले ओमानलाई ८१ रनले हराएको थियो । आजै अर्को सेमिफाइनलमा यूएई र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । दुवै सेमिफाइनलका विजेताबीच प्रतियोगिताको फाइनल शनिबार मलेसियामै हुनेछ ।



