काठमाडौँ – सङ्घीय संसद्अन्तर्गत आज (बुधबार) प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ। बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा समितिका प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ। सचिवालयका अनुसार अपराह्न १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
त्यसैगरी, मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने कार्यक्रम छ। बैठकमा ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ समेत पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। उता, अपराह्न १ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ।
राष्ट्रियसभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्का सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा समेत जानकारी गराउने कार्यसूची रहेको छ। यसैबीच, आज सङ्घीय संसद्अन्तर्गतका अर्थ समिति तथा उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक समेत बस्दै छन्। समितिका बैठकमा सम्बन्धित विषयमा छलफल तथा आवश्यक निर्णय हुने जनाइएको छ।



