भोटेकोशी बाढीको १५औँ दिन : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार ३२६ सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीको आज १५औँ दिन पुगेको छ। बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार कार्य अझै निरन्तर भइरहेको छ भने राहत तथा पुनःस्थापनाका कामलाई पनि तीव्रता दिइएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ५३३ जना रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका छन्। बाढीमा ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ। प्राधिकरणका अनुसार हालसम्म १ हजार ३५७ जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये ९८ वटा शवको सनाखत गरी आफन्तलाई बुझाइएको छ भने अन्य शवको पहिचान तथा व्यवस्थापनको प्रक्रिया जारी रहेको जनाइएको छ।

यद्यपि, बाढीमा अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन छन्। प्राधिकरणका अनुसार ५ हजार ३२६ जना अझै सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीनमध्ये सबैभन्दा धेरै रसुवाका २ हजार ८६० र नुवाकोटका १ हजार ९८१ जना रहेका छन्। सम्पर्कविहीनको सूचीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न सरकारी निकायका कर्मचारी तथा अन्य जिल्लाबाट प्रभावित क्षेत्रमा पुगेका नागरिकसमेत रहेका छन्। बाढीपछि कतिपय स्थानमा सडक, पुल तथा अन्य पूर्वाधारमा क्षति पुगेकाले खोज तथा उद्धारमा चुनौती कायम रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा सुरक्षा निकाय, सरकारी कर्मचारी तथा अन्य सम्बन्धित निकाय परिचालन गरी खोज तथा उद्धारसँगै राहत, अस्थायी आश्रय, पुनःस्थापना र पुनर्निर्माणका कामलाई तीव्रता दिइएको छ। सम्पर्कविहीनको खोजी तथा प्रभावित परिवारसम्म राहत पुर्‍याउने कामलाई प्राथमिकतामा राखेर अभियान जारी रहेको प्राधिकरणले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्