काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको महामन्त्री पदसहित सबै जिम्मेवारी र पार्टी सदस्यसमेत परित्याग गर्दै राप्रपाबाट अलग भएको घोषणा गरेका छन्। पाठकले आजैदेखि लागू हुने गरी राप्रपाबाट पूर्णरूपमा अलग हुने निर्णय गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका हुन्।
करिब चार वर्षअघि राप्रपालाई समयानुकूल पुनर्संरचना गर्दै सुशासनप्रति इमानदार र सबै उमेर, वर्ग, समुदाय तथा भूगोलका नागरिकले भरोसा गर्न सक्ने राजनीतिक दल बनाउने सहमतिसहित आफू एक समूहसँगै राप्रपामा आबद्ध भएको उनले बताएका छन्। सोही सहमति राप्रपासँगको आफ्नो एकताको आधार रहेको उनको भनाइ छ।
तर उक्त अवधिमा आफूले अपेक्षा गरेको दिशामा ठोस र परिणाममुखी काम हुन नसकेको पाठकले बताएका छन्। पार्टीको विचारधारा र व्यवहारबीच अझै पनि ठूलो विरोधाभास रहेको आरोप लगाउँदै उनले राप्रपाभित्र व्यावहारिक प्रतिबद्धता र पारदर्शिताको अभाव रहेको उल्लेख गरेका छन्। ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खाएसरह हो’ भन्ने कठोर नारालाई पार्टीले मूलमन्त्रका रूपमा प्रस्तुत गरे पनि त्यसअनुरूपको व्यवहारिक प्रतिबद्धता र पारदर्शिता पार्टीभित्र देखिन नसकेको उनको टिप्पणी छ।
पार्टीको केन्द्रीय नेतृत्वमा स्थापनाकालदेखिको आन्तरिक बेमेल तथा गुटगत स्वार्थ र तिक्ततापूर्ण संघर्ष झन् बढ्दै गएको पनि पाठकले बताएका छन्। यसका कारण नयाँ पुस्ताका इमानदार, शिक्षित र सचेत युवालाई पार्टीमा आकर्षित गर्न कठिन भइरहेको उनको निष्कर्ष छ। आफूसहित नयाँ जोडिएका नेताहरूले पनि पार्टीभित्रको अवस्थामा अपेक्षित परिवर्तन ल्याउन सक्ने सम्भावना नदेखेको उनले बताएका छन्। यद्यपि, यसमा आफ्ना कमजोरीहरू पनि हुन सक्ने पाठकले स्वीकार गरेका छन्।
राप्रपाका तल्लो तहमा रहेका नेता तथा कार्यकर्ताको निष्ठा र प्रतिबद्धता भने अतुलनीय तथा प्रेरणादायी रहेको भन्दै उनले उनीहरूप्रति सम्मान व्यक्त गरेका छन्। पार्टीमा रहँदा सहयोग, शुभेच्छा, सद्भाव तथा आलोचनात्मक सुझाव दिने सबै नेता, सदस्य र शुभचिन्तकप्रति उनले आभार व्यक्त गरेका छन्। पाठकले आगामी दिनमा आफ्नो एक दशकको सक्रिय राजनीतिक यात्रा र त्यसअघि सक्रिय सञ्चारकर्मबाट आर्जित अनुभव तथा विश्वासको पुँजीलाई राष्ट्र, राष्ट्रियता, सुशासन र नागरिक हितमा थप परिष्कृत रूपमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।



