काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा निर्वाचित मिर्जा फखरुल इस्लाम आलमगीरलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।राष्ट्रपति पौडेलले शुभकामना सन्देशमार्फत नवनिर्वाचित राष्ट्रपति आलमगीरलाई नयाँ जिम्मेवारीका लागि सफलताको कामना गर्दै नेपाल र बङ्गलादेशबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउने नेपालको प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
सन्देशमा राष्ट्रपति पौडेलले नेपाल र बङ्गलादेशबीच सरकार-सरकारबीचको सम्बन्धसँगै जनस्तरमा समेत घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्नुभएको छ। दुई देशका नागरिकलाई आपसमा जोड्ने यही गहिरो जनस्तरीय सम्बन्धसहित विद्यमान बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजाने प्रतिबद्धता पनि उहाँले दोहोर्याउनुभएको छ।ढाकास्थित नेपाली राजदूतावासका अनुसार राष्ट्रपति पौडेलले नेपाल–बङ्गलादेशबीच आपसी सहयोग र मित्रतालाई थप उचाइमा पुर्याउने विश्वाससहित नवनिर्वाचित राष्ट्रपति आलमगीरको सफल कार्यकालको शुभकामना दिनुभएको छ।



