काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइ, व्यवस्थापन र सेवा सुविधामा उल्लेखनीय सुधार गरिएको छ। विमानस्थल कार्यालयले यात्रुलाई स्वच्छ, व्यवस्थित र सहज वातावरण उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय तथा आन्तरिक दुवै टर्मिनललाई आकर्षक र यात्रुमैत्री बनाएको हो।
विमानस्थलको यात्रु प्रतीक्षालय, टिकट काउन्टर, सूचना केन्द्र, विशिष्ट कक्ष (भीआईपी लाउञ्ज), शौचालय, भन्सार कक्ष, मुद्रा सटही (मनी एक्सचेन्ज) सेवा क्षेत्र तथा आगमन–प्रस्थान मार्गको व्यापक सरसफाइ र व्यवस्थापन गरिएको छ। अहिले विमानस्थलको कुनै पनि प्रवेश वा बाहिरिने गेटबाट यात्रा गर्ने यात्रुले सफा, व्यवस्थित र आधुनिक वातावरणको अनुभव गर्न सक्ने अवस्था सिर्जना भएको विमानस्थल स्रोतले जनाएको छ।

यस्तै, आन्तरिक टर्मिनलको पनि स्वरूप परिवर्तन गरिएको छ। यात्रु प्रतीक्षालयलाई थप व्यवस्थित बनाइनुका साथै शौचालय, टिकट काउन्टर, सुरक्षा जाँच क्षेत्र, सूचना प्रणाली तथा अन्य सेवा केन्द्रहरूको सरसफाइ र व्यवस्थापनमा विशेष ध्यान दिइएको छ। यात्रुको सहज आवतजावत, आरामदायी प्रतीक्षा र छिटो सेवा प्रवाहलाई प्राथमिकता दिँदै आवश्यक पूर्वाधार सुधार गरिएको विमानस्थल कार्यालयले जनाएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्वच्छ, सुरक्षित र यात्रुमैत्री बनाउने अभियानलाई निरन्तरता दिइनेछ। यसबाट स्वदेशी तथा विदेशी यात्रुले गुणस्तरीय सेवा अनुभव गर्नुका साथै नेपालको प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वारको छवि अझ सकारात्मक बन्ने विश्वास लिइएको छ।




