काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको पदाधिकारी तथा केन्द्रीय समितिको आकार विस्तार गर्ने निर्णय गरेको छ। आज बसेको सचिवालय बैठकले पदाधिकारीको सङ्ख्या १३ बाट बढाएर १९ पुर्याउने तथा केन्द्रीय समितिको आकार १२९ बाट १५८ सदस्यीय बनाउने निर्णय गरेको हो।
बैठकले पार्टी विधानमा ‘वरिष्ठ नेता’ पदलाई औपचारिक रूपमा समावेश गरेको छ। यसअघि पार्टीले निर्वाचनअघि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग एकताको सम्भावनालाई ध्यानमा राख्दै सभापति रवि लामिछानेपछि दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेताको पद प्रस्ताव गरेको थियो। अब उक्त पदलाई विधानमै समेटिएको छ। नयाँ संरचनाअनुसार पार्टीमा एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति, दुई महामन्त्री, पाँच सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष रहनेछन्।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन यही असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुँदैछ। महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम नामावली तयार गर्ने काम अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ। पार्टीले महाधिवेशनका लागि करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ। सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै महामन्त्री कविन्द्र बुर्लाकोटी ले महाधिवेशनको खर्च प्रतिनिधिबाट संकलन गरिने दर्ता शुल्क तथा सदस्य र शुभेच्छुकबाट प्राप्त सहयोगमार्फत व्यवस्थापन गरिने बताउनुभयो।
उहाँका अनुसार पार्टीको लेबी नबुझाएका सदस्यहरूले महाधिवेशनमा सहभागी हुन पाउने छैनन्। साथै, महाधिवेशनमा नेतृत्व चयनका लागि इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) प्रयोग गरी मतदान गरिने तयारी गरिएको पनि उहाँले जानकारी दिनुभयो। रास्वपाले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँगै पार्टीको संगठनात्मक संरचनालाई थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।





