काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको छ । आज बिहान बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको नेता गणेश पराजुली ले जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन आयोजना गर्ने निर्णय भएको बताएका छन् ।
यसअघि पार्टी सभापति रवि लामिछानेले असार ६, ७ र ८ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । आगामी महाधिवेशन तथा अन्य समसामयिक एजेण्डामाथि छलफल गर्न पार्टीको बनस्थलीस्थित कार्यालयमा केन्द्रीय समिति बैठक आयोजना गरिएको थियो ।
यसअघि रास्वपाले निर्वाचन सम्पन्न भएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो । त्यसअनुसार भदौभित्र महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने अवस्था रहेको थियो । रास्वपा २०७९ सालमा स्थापना भएको राजनीतिक दल हो ।





