त्रिदेशीय टी–२०आई शृंखला : स्कटल्याण्डलाई २ विकेटले हराउँदै नेपालको पहिलो जित

काठमाडौं — स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले आफ्नो दोस्रो खेलमा घरेलु टोली स्कटल्याण्डलाई २ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको छ।

मंगलबार सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्ड १९.४ ओभरमा ९७ रनमा अलआउट भएको थियो। जवाफी इनिङमा नेपालले १९.५ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

नेपालका लागि कुशल भुर्तेलले ३० रन बनाएर सर्वाधिक योगदान गरे। दिपेन्द्रसिंह ऐरीले १४, बसिर अहमदले १३ र किरण ठगुन्नाले १० रन जोडे।

नेपालको इनिङ निकै संघर्षपूर्ण रह्यो। ३८ रनमै ३ विकेट गुमाएको नेपालले ८७ रनमै ७ विकेट गुमाइसकेको थियो। अन्तिम ओभरमा नेपाललाई जितका लागि २ रन आवश्यक थियो। करण केसी १ रन बनाएपछि सन्दीप लामिछानेले बाँकी १ रन पूरा गर्दै नेपाललाई जिताए।

यसअघि स्कटल्याण्डका लागि माइकल लिस्कले सर्वाधिक ४४ रन बनाए भने म्याथ्यु क्रसले १५ रन जोडे। नेपालका सन्दीप लामिछानेले ४ ओभरमा ११ रन दिँदै ४ विकेट लिए। करण केसी र दिपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए भने ललित राजवंशीले १ विकेट लिए।

यस जितसँगै नेपालले त्रिदेशीय शृंखलामा पहिलो जित हात पारेको हो। नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग सुपर ओभरमा पराजित भएको थियो। अब नेपालले बिहीबार नेदरल्याण्ड्ससँग पुनः प्रतिस्पर्धा गर्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्