काठमाडौँ – सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा भारतबाट फर्किने नागरिकमा कोरोना संक्रमण देखिन थालेको छ। पछिल्लो २४ घण्टामा थप चार जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिएका छन्।तीन जना त्रिनगर नाका र एक जना झुलाघाट नाकामा एन्टिजेन परीक्षण गर्दा संक्रमित पुष्टि भएका हुन्। संक्रमितहरू कञ्चनपुर, अछाम र बझाङ जिल्लाका पुरुषहरू रहेका छन्।
जोशीका अनुसार, “शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गर्दा चार जनामा कोभिड पोजेटिभ देखिएको हो। उनीहरूलाई हाल होम आइसोलेसनमा बस्न सुझाव दिइएको छ।” यसअघि पनि शुक्रबार पाँच, बिहीबार एक, र बुधबार तीन जनामा संक्रमण देखिएको थियो। यसले गर्दा सीमा नाकामा संक्रमणको दर फेरि बढ्न सक्ने सम्भावनाले स्वास्थ्य निकायहरू सतर्क भएका छन्।
संक्रमणको अवस्था मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले मातहतका कार्यालय, अस्पताल र प्रयोगशालालाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। संक्रमण फैलिन नदिनका लागि सीमा नाकामा परीक्षण सशक्त पार्न पनि जोड दिइएको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार, हालको अवस्थामा सतर्कता नअपनाए महामारी दोहोरिन सक्ने जोखिम रहेको छ।