देशभर आंशिकदेखि बदली, कोशी र मधेसमा भारी वर्षा

काठमाडौँ –  हाल देशका पश्चिम तथा मध्य भू–भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम रहेको छ भने कोशी प्रदेशका अधिकांश क्षेत्रमा मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज (बुधवार) दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै देशको उच्चपहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का वर्षा र हिमपातसमेत हुन सक्नेछ।

आज राति पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू–भागहरूमा आंशिकदेखि साधारणतया बदली रहन सक्नेछ भने बाँकी भू–भागहरूमा मौसम सफा रहने जनाइएको छ।

रातिको समयमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी भागका एक–दुई स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी र मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको छ।

यससँगै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसम अस्थिर रहने भएकाले यात्रा तथा कृषिका क्षेत्रमा सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्