पाकिस्तानविरुद्ध हवाई आक्रमणका क्रममा भारतका तीन फाइटर जेट खसे, रहस्य बाक्लियो

काठमाडौं – भारतले पाकिस्तानविरुद्ध हवाई आक्रमण सुरु गरेको केही समयमै उसका तीनवटा लडाकु विमान दुर्घटनाग्रस्त भएका छन्। यी विमानहरू भारतकै भूमिमा खसेको र तिनका भग्नावशेष फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भारत सरकार र भारतीय सेनाले यो विषयमा औपचारिक रूपमा कुनै जानकारी सार्वजनिक गरेको छैन। तर, रोयटर्सलगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भारतीय सुरक्षा स्रोतलाई उद्धृत गर्दै तीनवटा लडाकु विमान दुर्घटनाग्रस्त भएको पुष्टि गरेका छन्। समाचारअनुसार, दुई विमानका भग्नावशेष भारत प्रशासित जम्मु-कश्मीरमा र एउटा विमानको भग्नावशेष पञ्जाब प्रान्तमा पूर्णरूपमा क्षतिग्रस्त अवस्थामा फेला परेको छ।

दुर्घटनाको कारण र समयबारे विस्तृत जानकारी सञ्चारमाध्यमले दिन सकेका छैनन्। दुर्घटनास्थलमा सञ्चारकर्मीको प्रवेशमा कडा प्रतिबन्ध लगाइएको छ। केही तस्बिर र भिडियोमा विमानको बाह्य इन्धन ट्यांक खसेको देखिएको छ, तर मुख्य दुर्घटनास्थललाई सुरक्षाकर्मीले पूर्ण नियन्त्रणमा लिएका छन्।

रोयटर्सले भारत सरकारका चार स्थानीय स्रोतलाई उद्धृत गर्दै यी विमानहरू पाकिस्तानी भूभागमा आक्रमण गर्न पठाइएका हुन सक्ने र सोही क्रममा दुर्घटना भएको आशंका व्यक्त गरेको छ। केही समाचारमा दुई पाइलट र एक को-पाइलट हराइरहेको तथा एक पाइलटलाई अस्पताल भर्ना गरिएको दाबी गरिए पनि यसको आधिकारिक पुष्टि भएको छैन।

दुर्घटनास्थल वरपर ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ। स्थानीय बासिन्दाहरू त्रासमा छन्। यो घटनाले भारत-पाकिस्तान तनावलाई थप जटिल बनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्