काठमाडौं – आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी चलाउन ‘टाइम कार्ड’ लागू हुने भएको छ ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरीलगायतका सरोकारवाला निकायहरूबीच भएको छलफलले सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो । अब तोकेको समयमा मात्र चलाउन पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार सरकारी कार्यालयका कर्मचारीहरू बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर फर्कने समय तोकिएको छ ।
यस्तै बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरूका लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्कनु पर्नेछ । ‘एक तिहाइ मात्र कर्मचारी जाने भनिएको छ । त्यसैले दिउँसोको समयमा सामान्यतया आवत जावत नगरौं भनेर समय तोकिएको हो’ ढकालले भने । त्यस्तै, खाद्यान्न, तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभित्र ढुवानी गरिसक्नुपर्नेछ । निमाण सामग्री बोकेका ठूला सवारीलाई बेलुका ८ बजेपछि मात्र बिहान ६ बजेसम्म उपत्यकाभित्र प्रवेश गर्न पाउनेछन् ।
औषधि र खानेपानीको सवारी साधानको हकमा भने टाइम कार्ड लागू हुने छैन ।