‘पात्र र प्रबृत्तिका आधारमा सत्याग्रहिलाइ उपेक्षा गरिनु हुदैन’

जयराम विडारी

परापूर्वकालको कथा प्रसंगबाट यो लेख तैयार पार्ने प्रयास गरेको छु । एक दिन सत्य र झुटको भेट भएछ ,अनेक प्रसंगका बातचीत हुंदै गर्दा झुटले सत्यलाई भनेछ आज बढो रमाइलो अनि घमाइलो दिन छ, सँगै खेलौँ !” हुन पनि त्यसदिन अद्भुत रमाइलोनै थियो । दुबैले धेरै बेर प्रकृतिमा डुल्दै खेल्दै रमाए । डुल्दा डुल्दै मध्य दिनमा उनीहरु एउटा इनारनेर पुगे । झुटले सत्यलाई फकाएछ “उखर्माउलो गर्मी छ; इनारमा पसौँ र मज्जाले नुहाऔँ ।” दुबैले सबै लुगा फुकाले र सर्वाङ्ग नग्न भएर इनारभित्र डुबुल्की मारे । केही बेर इनारमा नुहाएपछि झुट पोखरीबाट एक्कासि बाहिर निस्क्यो र सत्यका सबै लुगा लगाएर अनि आफ्नो लुगा पनि लिएर भाग्यो। झुटले आफ्ना लुगा लगाएर हिंडेको चाल पाएपछि सत्य आफ्नो लुगा भेट्टाउन इनारबाट बाहिर निस्केर झुटलाई खोज्न लागीपर्यो तर भेट्टाउन सकेन,बरु नाङ्गै हिंडिरहेको सत्यलाई देखेर दुनियाँले नाक खुम्चाए, दुत्कारे निन्दा चर्चा गरे र सत्यतर्फ हेर्दै नहेरी अर्कातिर मुन्टो बटारे ।

बिचरो सत्य लाज जोगाउन फेरि उही पोखरीमा फर्केर पानीभित्र लाज लुकाउनको निम्ति गायब भयो । अनि त्यसबेला देखि नै झुट सत्यको भेषमा संसारभर घुमेको घुम्यै छ । दुनियामा आजकल सर्वाधिक रुचीको बिषय पनि के हो भने समाज सापेक्ष झुट सर्वप्रिय छ नाँगो सत्य दुत्कारिएको छ । ठीक यहि प्रसंगसंग मेल खाने आजको अवस्थामा एक अशल समाजचिन्तक लाइ यो समाजले पागलको उपनामले बिभुशित गरिदिन्छ नेपाली साहित्याकाशका महाकवि तथा दार्शनिक राजनीतिज्ञ रुपचन्द्र बिष्ट यसका प्रतिनिधि पात्रका रुपमा परिचित छन् ।
यो देशको भाग्य र भविष्य मतिहिन अनि गतिहीन नेताहरुले शासन सत्ता संचालन गरेकाले जीवनप्रतिको जीजीबिषामा तुषारापात हुंदैछ । यो लेख कुनै अनशनकारी प्रतिको अनुराग र बिरागको आग्रह र पूर्वाग्रह अनि दुराग्रहको निमित्त तैयार पारिएको सामग्री होइन न त कुनै निकाय प्रतिको प्रतिशोध नै हो तर नेपालमा बुद्धि बेचेर बाच्ने कतिपय ब्यक्तिहरु अराजकताको कारखाना जस्तै भएका छन् भन्दा फरक पर्दैन ।

हाम्रा बिचार हरु पनि समय क्रम संगै बिषाक्त भएका छन् । अर्थात हाम्रा सामू देखिएका अत्यंत समयसानदर्भिक र जल्दोबल्दो बिषयबस्तु हरुलाइ हामी सवै मिलेर प्रसारित गर्नै पर्छ । ता कि कुम्भकर्णे निन्द्रामा मस्त रहेका सम्बन्धित सरोकारवाला सम्म ती आवाज पुग्नुपर्छ र तीनको निन्द्रा भंग हुनुपर्छ भन्ने हामी सवैको सामूहिक अभियान हुनुपर्ने हो,तर त्यस्तो देखिएको छैन । आजकल दलबिहिन मानिस बुद्धिजीवी नै हुदैनन् | जो दलबिहिन हुन्छ उस्को आवाज कसैले बुझ्दैनन्, सुन्दैनन् तारा बरालको सम्बन्धमा अहिले त्यस्तै देखिएको छ । हुनत डा. गोबिन्द केसी पनि कुनै दन बिशेषमा आवद्ध देखिदैनन् तर उनका जायज नाजायज माँग राज्यले छिटो सुन्छ उनको मागलाइ सम्बोधन गर्छ । त्यसको तुलनामा यो समाजले गंगामाया को आवाज सुन्नु आवश्यक ठान्दैन ,साथै पति गुमाइसकेकी तारा बराल आफ्ना २ सन्तानलाइ अलपत्र छाडेर यो राज्यका हितका खांतिर एमसिसि जस्तो राष्ट्रघाती सम्झौता गरिनु हुन्न ,नागरिकता बिधेयक खारेजी , देशले धान्न नसक्ने संघियता खारेजी लगायत सर्बोच्च अदालतको गतिरोध अन्त्य लगायतका प्रमुख मागसहिको लागि भनेर आफ्नो ज्यू ज्यानको पर्वाह नगरि ८०दिन देखि अनसनरत बिरांगना (हतियार लिएर लडाइंमा जानु मात्र बिरांगना होइन राज्यको हितार्थ अभियान संचालन गर्ने पनि बीर /बिरांगना हुन् ) तारा बरालका बारेमा न त मूलधारका कुनै मिडियाले यो बिषय उठान गर्ने कष्ट गर्यो न हिजो हामी यहां छौं भनेर कालो टिकाधारी अभियंता हरुले नै यो बिषयमा दवाव दिन आवश्यक सम्झेका छन् । त्यसैले पनि हाम्रा संबेदनशिलता मरेको देखेर मिडिया कर्मी हूँ भनेर हिड्ने कैयन म जस्ता मानिसहरुलाइ मानबीय सम्बेदनशिलता मरेको देखेर आत्मग्लानि हुनु पर्छ कि ? झै लागिरहेको छ ।

हामीकहाँ अनशन संख्याका आधारमा अनि अनशनकारीका आधारमा कृत्रिम भावुकतामा बहकिने नेपाली समाजको चरित्र पनि उदेक लाग्दो छ । डा. गोबिन्द केसीको अनशनमा प्रमुखताका साथ आवाज उठाउने मूलधारका मिडिया अनि संगसंगै भावुकतामा बहकिने नेपाली समाजलाइ गंगामाया र उनका स्स्वर्गिय पति नन्द प्रसाद अधिकारीको प्रसंगले किन भावुक बनाउंदैन ? गंगामायाले आफ्नो पुत्र गुमाए बापत अनशनकै क्रममा आफ्नो पति समेत गुमाउन पुगिन् के हिन्दु परंपरानुसार उनले आफ्ना पतिको सदगद सहित अन्तिम संस्कार समेत गर्न नपाउन्ने बिषयबस्तु र मागका आधारमा भन्दा पात्र र प्रबृत्तिका आधारमा सत्याग्रहिलाइ उपेक्षा गरिनु हुदैन । सत्याग्रहीलाई मृत्युशय्यामा राखेर वार्तालाई बेवास्ता गरिनु पनि हुदैन सरकारका लागि हरेक नागरिक बराबर र समान हुनु पर्दछ । सरकार नागरिक हरुको अभिभावक हो । अभिभावक लाई सन्तानले केहि अपेक्षा सहित माग गर्छन् तर अभिभावक अफ्नो सन्तानको मग पुरा नगरी छिमेकीको सन्तानको माग पुरा गरिदिन्छ भने त्यस्तो आवारा बाबु (सरकार)के काम ? भन्ने जनगुनासो सर्वत्र रहि आएको छंदैछ यसमा सरकारले ब्यक्ति बिशेष र दवाबका आधारमा बिषयबस्तुलाइ कम र बढि महत्व दिनु पनि हुंदैन भन्ने जनस्तरमा ब्यापक चर्चा चल्ने गरेको देखिन्छ ।
नागरिक स्तरमा एमसिसि रुचाइएको बिषय होइन जसरी महाकाली सन्धि रुचाइएको थिएन । नागरिक एमसिसी पास गरिनुहुन्न भनेर आमरण अनशन बसिरहेको छ सरकार आफ्नो नागरिकको आवाज लाइ बेवास्था गर्दै माथिको प्रसंग अनुसार (छिमेकी) अर्थात बिदेशीको हित हुनेगरि राष्ट्रीय स्वाभिमान गुम्ने गरि एमसिसी पास हुन नसके सरकार छाड्ने घुर्कि लगाइरहेछ भने आम नागरिकले सरकारलाइ संस्कारी वा आवारा कसरी बुझ्ने छन् ? यो गंभीर चांसों र चिन्ताको बिषय हो ।
गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको २०६१ साल जेठ २४ का दिनमा माओवादीले हत्या गरेका थिए । हत्या आरोपीहरु छविलाल पौडेल, जानुका पौडेल, पर्शुराम पौडेल र भीष्मराज पौडेल विरुद्ध चितवन जिल्ला अदालतमा २०७० साल चैत्र ३० देखि मुद्दा चलिरहेको छ । राजनीतिक संरक्षणका आधारमा मुद्दा फैसलामा ढिलाई गरिएको गंगामायाको आरोप रहि आएको पाइन्छ । आमरण अनशनकै क्रममा नन्द प्रसाद अधिकारीको मृत्यु भइ उनको शव शिक्षण असपतालमा पडिरहेको अवस्था छः मुख्य आरोपी हरुले कानूनी सजांय नपाउनजेल नन्द प्रसाद अधिकारी को सद्गत नगर्ने अडान गंगामायाको रहि आएको भएपनि उनले समेत मानवाधिकारी हरुको साथ र सहयोग नपाइरहेको अवस्था बिदितै छ । नागरिक समाज मानवाधिकार तथा कुनै अभियंता हरुले आजकल गंगामाया लाइ चिन्दैनन् उनको आवाज गुमनाम प्राय छ ।

डा. गोबिन्द केसीको अनशन शुरु भएको ५ दिनपछि लेखेर बोलेर नथाक्ने नेपाली मिडिया ,नागरिक समाज ,बिभिन्न राजनैतिक दलहरु तथा अभियंता हरु यतिबेला कुन दुलोमा बिलुप्त भए तीनका आवाज आज तारा बरालको अनशनका क्रममा धिमा मात्र होइन नसुनिने बिषय भइरहेको छ । यसलाइ अनशनका लागि पनि लैंगिक असमानताको ज्वलन्त होइन भनेर कसरी भन्न सकिन्छ ? यसमा मानवाधिकार आयोगको निरीहतालाइ कसरी बुझ्ने ? द्वन्दका समयमा समेत निर्भीक रुपमा कार्य सम्पादन गर्ने मानव अधिकार आयोग यतिबेला तारा बरालको अनशनका क्रममा किन आफ्नो निरीहता प्रकट गरिरहेछ यो गंभीर चासो र चिन्ताको बिषय भएको छ । रुश र युक्रेनको तनाव कम गर्नका लागि सडकमा निस्कन सक्ने कथित अधिकारबादी लाइ तारा बराल जस्ती एउटी नारी ८० औ दिनदेखी यो देशको हितका खांतिर आमरण अनशनमा बसिरहेको कुराले छुंदैन भने यीनका अधिकार कर्म के का लागि लक्षित छ भन्ने कुरा हामीले बेलैमा बुझ्नु जरुरी छ । तारा बरालको आमरण अनशन नाजायज छ भने सरकारले कानूनी कार्वाही गरोस् जायज भएमा माग पुरा गर्ने तर्फ पहल गरोस् नत्र सहज मृत्युबरणका लागि इन्जेक्सन लगाइ मारिदेओस भन्ने हृदयबिदारक संदेशले हाम्रो मथिंगल घुम्दैन भने हाम्रा मानबीयता मरिसकेको रहेछ भनेर बुझ्नु जरुरी छ ।

यो देशमा जनताको सरकार छ भनेर नागरिकले निर्धक्क रुपमा कसरी बुझ्ने ? जवकी एक नागरिक देशका लागि मृत्यु शैयामा छटपटाइरहेको छ सरकार नागरिक समाज मिडिया अनि अभियंता भनिनेहरु त्यसबाट बेखवर छन् भने नागरिक सरकारको उपस्थिति मान्न सकिने अवस्था रहंदैन । त्यसैले पनि समाज सापेक्ष झुट सर्वप्रिय छ नाँगो सत्य दुत्कारिएको छ । यो समाज को एक नागरिक तारा बरालको जीवन रक्षाको निमित्त सवै सरोकारवाला निकायले समयमै उनको मागलाइ यथासक्य सम्बोधन गर्ने पहल गरोस् र उनको जीवन रक्षा गरोस् भन्ने सुभेक्षा ब्यक्त गरौं ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्