आगामी फागुन १४ गते स्ववियु चुनाव हुने

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आउँदो फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गर्ने निर्णय गरेको छ ।

त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले फागुन १४ गते स्ववियु चुनाव गर्ने घोषणा गरेको विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले जानकारी दिनुभयो ।

परिषद्ले महाशाखा प्रमुख थापालाई त्रिवि अन्तर्गतका क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिइसकेको छ । ‘‘मलाई आज मात्र फागुन १४ मा निर्वाचन गर्न आवश्यक तयारीको लागि पत्र प्राप्त भएको छ’’, थापाले भन्नुभयो, ‘‘अब हामी स्ववियु निर्वाचनको तयारीमा जुट्छौँ ।’’उहाँले सोमबार त्रिविका ६२ आङ्गिक क्याम्पसलाई पत्र लेख्दै निर्वाचनको तयारी गर्न निर्देशन दिने बताउनुभयो ।

त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त करीब एक हजार ५१ क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ । गएको दश वर्षदेखि स्ववियु निर्वाचन हुन नसक्दा अधिकांश क्याम्पस स्ववियुविहीन छन् । महाशाखा प्रमुख थापाले सबै विद्यार्थीसँग छलफल गरेर निर्वाचनको तालिका सार्वजनिक गर्ने बताउनुभयो ।

प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता त्रिविका सबै क्याम्पसमा हुनसकेको छैन । विद्यार्थी सङ्गठनबीच उमेर हदबन्दी र निर्वाचन प्रणालीबीच सहमति हुन नसक्दा धेरै क्याम्पसमा निर्वाचन हुन नसकेको हो । विसं २०७३ मा करीब २५० क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । त्यतिबेला उपत्यकाभित्रका आरआर, शिक्षा, सानोठिमी, भक्तपुर बहुमुखी, पिपल्स, जनप्रशासन, पुल्चोक इञ्जिनीयरीङ, थापाथली इञ्जिनीयरिङ, महाराजगञ्ज शिक्षण अस्पताललगायतका क्याम्पसमा भने निर्वाचन भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्