काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी पूरा भएको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेले शनिबार पत्रकार सम्मेलन गर्दै उद्घाटन समारोह, बन्दसत्र, महाधिवेशन प्रतिनिधिको व्यवस्थापन तथा निर्वाचन प्रक्रियासम्मका आवश्यक तयारी पूरा भएको जानकारी दिएका छन्। कांग्रेसको आधिकारिक वेबसाइटले पनि महाधिवेशनको उद्घाटन असोज १८ गते दिउँसो २ बजे काठमाडौँको खुलामञ्चमा हुने जनाएको छ।
‘नयाँ कांग्रेस, नयाँ संकल्प’ भन्ने नाराका साथ हुने महाधिवेशनको उद्घाटन आइतबार खुलामञ्चमा हुनेछ। प्राकृतिक विपद् तथा प्रतिकूल मौसमका कारण यसअघि असोज १६ गतेका लागि तय गरिएको महाधिवेशन दुई दिन पछि सारिएको हो। नयाँ कार्यतालिकाअनुसार असोज १९ र २० गते बन्दसत्र तथा २१ र २२ गते निर्वाचन प्रक्रिया सञ्चालन गर्ने तयारी गरिएको छ।
कांग्रेसका अनुसार महाधिवेशनमा स्वदेश तथा विदेशबाट ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। प्रतिनिधिको दर्ता प्रक्रिया केन्द्रीय कार्यालय सानेपामा सुरु भइसकेको छ। प्रतिनिधिको आवास व्यवस्थापनका लागि विभिन्न निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट संयोजक तोकिएको तथा आवाससम्बन्धी जानकारी ह्वाट्सएप, एसएमएस र एआई नम्बरमार्फत उपलब्ध गराउने व्यवस्था गरिएको कांग्रेसले जनाएको छ।
महाधिवेशनको उद्घाटनपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ। बन्दसत्रका लागि तीनवटा हल तयार पारिएको छ। बन्दसत्रमा सभापतिले राजनीतिक तथा नीतिगत दस्तावेज तथा उपसभापति, महामन्त्री र कोषाध्यक्षले क्रमशः सम्बन्धित प्रतिवेदन प्रस्तुत गर्ने तयारी रहेको छ। प्रतिनिधिलाई भूगोलका आधारमा समूहमा विभाजन गरी विभिन्न हलमा छलफल तथा सुझाव संकलन गर्ने व्यवस्था मिलाइएको छ।
महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। निर्वाचन प्रक्रियाअनुसार असोज २१ र २२ गते नेतृत्व चयनका लागि मतदानलगायत कार्यक्रम सञ्चालन हुनेछन्। महाधिवेशनको मूल कार्यतालिका प्राकृतिक विपद्का कारण परिवर्तन भए पनि निर्वाचन प्रक्रिया र अन्य व्यवस्थापनलाई नयाँ तालिकाअनुसार अघि बढाइएको छ।
महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि आवास तथा खानाको व्यवस्थासमेत गरिएको छ। कांग्रेसका अनुसार प्रतिनिधिका लागि भृकुटीमण्डपमा खानाको व्यवस्था गरिएको छ भने खुलामञ्चमा सरसफाइ कायम राख्न त्यहाँ खाना तथा खाजा खान निषेध गरिएको छ। आवासका लागि एयरपोर्ट, गौशाला, सुन्धारा, ठमेल, लाजिम्पाट, कलंकी र नयाँ बसपार्कलगायत क्षेत्रमा व्यवस्था गरिएको जनाइएको छ।
महाधिवेशनस्थल आसपासको सवारी चाप व्यवस्थापनका लागि विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ। त्यस्तै, सञ्चारमाध्यमलाई महाधिवेशनका गतिविधिबारे नियमित जानकारी दिन खुलामञ्चमै मिडिया सेन्टर स्थापना गरिएको छ। कांग्रेसले महाधिवेशन अवधिभर नियमित पत्रकार सम्मेलन तथा ब्रिफिङमार्फत कार्यक्रमका गतिविधिबारे जानकारी दिने व्यवस्था गरेको जनाएको छ।
कांग्रेसले यसपटक महाधिवेशनको प्रचारप्रसारमा समेत डिजिटल माध्यमलाई प्राथमिकता दिएको छ। प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति भइरहेका बेला अनावश्यक तामझाम नगर्ने र पर्चा, पोस्टरलगायत प्रचार सामग्रीको प्रयोग घटाउने नीति लिएको कांग्रेसले जनाएको छ। महाधिवेशनसम्बन्धी सूचना तथा सन्देश डिजिटल बोर्डलगायत प्रविधिमार्फत प्रवाह गर्ने तयारी गरिएको छ।
कांग्रेसले १५औँ महाधिवेशनलाई नयाँ नेतृत्व चयनसँगै पार्टीको आगामी नीति, संगठन र राजनीतिक दिशाबारे छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ। उद्घाटनपछि सुरु हुने बन्दसत्र, प्रतिवेदनमाथिको छलफल तथा निर्वाचन प्रक्रियाबाट पार्टीको आगामी केन्द्रीय नेतृत्व चयन हुनेछ।




