नवलपुर – पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी अनिल पण्डितका अनुसार मृत्यु भएका ६ जनामध्ये पाँच जनाको पहिचान खुलेको छ भने एक जनाको पहिचान खुल्न बाँकी छ ।
पहिचान खुल्नेमा जाजरकोटको भेरी नगरपालिका-३ का ५० वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर नगरपालिका-३ का ३२ वर्षीय दिपेन्द्र केसी, बाजुराको स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरी, बाँकेको कोहलपुर नगरपालिका-१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगन्ज उपमहानगरपालिका-७ का २२ वर्षीय कृष कनौजिया रहेका छन् ।
पहिचान खुल्न बाँकी मृतक अन्दाजी ४० देखि ४२ वर्षका पुरुष रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शनिबार बिहान करिब ४ बजे विनयी त्रिवेणी गाउँपालिका-२ स्थित एस मोडमा नेपालगन्जबाट काठमाडौं आउँदै गरेको प्रदेश ३-०१-००६ ख १५५३ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो ।
चालकले बस नियन्त्रणमा लिन नसक्दा सडकबाट नालामा खसेर दुर्घटना भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । दुर्घटनामा घाइते भएका १२ जनालाई उद्धार गरी उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डन्डा र भरतपुर अस्पताल लगिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।




