काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्। कांग्रेसले महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना दिन विभिन्न राजनीतिक दलका नेतृत्वलाई निम्तो दिएको थियो। संशोधित कार्यतालिकाअनुसार महाधिवेशनको उद्घाटन असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुनेछ भने महाधिवेशनका अन्य कार्यक्रम असोज १९ देखि २२ गतेसम्म सञ्चालन हुनेछन्।
कांग्रेसका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत उद्घाटन समारोहमा सहभागी हुने निश्चित भएको छ।
त्यस्तै, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई तथा राष्ट्रिय जनमोर्चाका तर्फबाट कार्यवाहक महासचिव घनश्याम पौडेल पनि उद्घाटन समारोहमा सहभागी हुने तय भएको कांग्रेसले जनाएको छ। विभिन्न दलका शीर्ष नेताहरूलाई कांग्रेसले महाधिवेशनमा शुभकामना मन्तव्यका लागि निम्तो दिएको थियो।
कांग्रेसका अनुसार अन्तर्राष्ट्रिय अतिथिहरूको सहभागिता सुनिश्चित गर्ने क्रम पनि जारी छ। सोसलिस्ट इन्टरनेशनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा महाधिवेशनमा सहभागी हुन नेपाल आइसकेकी छन्। अन्य अन्तर्राष्ट्रिय अतिथिहरूको सहभागितासम्बन्धी विवरण पनि क्रमशः सार्वजनिक गरिने कांग्रेसले जनाएको छ।
कांग्रेसको १५औँ महाधिवेशन यसअघि असोज १६ गतेदेखि सुरु हुने तय भएको थियो। विभिन्न स्थानमा भएको भारी वर्षाका कारण क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया प्रभावित भएपछि महाधिवेशन दुई दिन सारेर असोज १८ गतेदेखि गर्ने निर्णय गरिएको हो।




