काठमाडौँ । प्रतिनिधि सभाको चालु अधिवेशन आज औपचारिक रूपमा सम्पन्न भएको छ । अधिवेशन समापनका अवसरमा बैठकलाई सम्बोधन गर्दै सभामुख डोलप्रसाद अर्यालले कानून निर्माणका क्रममा सांसदहरूले देखाएको सक्रियता, संसदीय मर्यादा तथा सत्तापक्ष र प्रतिपक्षबीच भएको सहकार्यको प्रशंसा गर्नुभयो ।
सभामुख अर्यालले लोकतान्त्रिक थलोका रूपमा संसद्को गरिमा कायम राख्न सबै पक्षको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले संसद् केवल बहुमतका आधारमा निर्णय गर्ने प्रक्रिया नभई जनमुखी बहस, संवाद र छलफल गर्ने थलो भएको उल्लेख गर्दै जनप्रतिनिधिहरूले सोहीअनुसार आफ्नो भूमिका निर्वाह गरेको बताउनुभयो ।
उहाँले संसद्को प्रभावकारिता कायम राख्न सत्ता र प्रतिपक्ष दुवै पक्षबीचको संवाद र सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो । सभामुख अर्यालले संसदीय अभ्यासलाई थप प्रभावकारी बनाउँदै जनताका विषयलाई प्राथमिकताका साथ उठाउनुपर्नेमा समेत जोड दिनुभयो ।
यसैबीच, सभामुख अर्यालले आफू नेतृत्वको प्रतिनिधिमण्डलले तान्जानियामा आयोजना हुने अन्तर–संसदीय सङ्घ (आईपीयू) को महासभामा नेपालको तर्फबाट सहभागिता जनाउने जानकारी दिनुभयो । महासभामा नेपालको प्रतिनिधिमण्डलले हिमाली देशहरूले भोगिरहेका चुनौती तथा जलवायु वित्तसँग सम्बन्धित विषयलाई प्राथमिकताका साथ उठाउने उहाँले बताउनुभयो ।




